गृहमन्त्री नियुक्त भएपछिका एक सातामा उनले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहेका छन् । तर आम नागरिकका अलावा उनका समर्थक, प्रशासन र सुरक्षा मामिला विज्ञहरूले भने उनको केही काममा सकरात्मक देखिन्छन् त केही काममा प्रश्न सोझ्याएका छन् ।
What you should know
काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको सरकारमा शक्तिशाली मानिने गृह मन्त्रालयको नेतृत्वमा सुधन गुरुङको नाम प्रस्तावका रूपमा सार्वजनिक हुँदा धरैले आश्चर्य माने । नमानून् पनि किन, कहिले सांसद्हरूलाई तलबै नदिऊँ है भन्दै उनले दिएका अभिव्यक्ति त कहिले पत्रकार सम्मेलनमा ‘हाम्रो एजेन्डा के रे...’ भन्दै सोधेको पृष्ठभूमि । सार्वजनिक भएका यस्तै यस्तै स-साना दृश्यका कारण सुधनलाई गृहमन्त्रीका रूपमा अघि सारिएकोमा धेरैले आश्चर्य व्यक्त गरेका थिए ।
तर, गृहमन्त्री नियुक्त भएपछिका एक सातामा उनले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहेका छन् । भलै उनका केही काममा प्रश्नसमेत नउठेका होइनन् । सामान्य नागरिकका अलावा उनका समर्थक, प्रशासन र सुरक्षा मामिला विज्ञहरूले समेत उनको कदममध्ये केही काममा सकरात्मक देखिन्छन् त केही काममा उनीहरूले प्रश्न सोझ्याएका छन् ।
‘पहिलेको सरकारका पालामा अड्किएका अनुसन्धानका फाइलहरू धमाधम खुलिरहेका छन्, त्यो एकदमै सकारात्मक छ,’ नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘तर, गृहमन्त्री आफैंले पक्राउ पुर्जी सार्वजनिक गर्ने, स्टाटस लेखेर सार्वजनिक गर्ने जस्ता काम गर्दा प्रहरीमाथि राजनीतिक नेतृत्व हाबी भएको हो कि जस्तो देखिन्छ ।’ यो प्रवृत्तिले भोलि अनुसन्धानको निष्पक्षतामाथि समेत प्रश्न उठाउन सक्ने उनी बताउँछन् ।
गृहमन्त्री बनेकै दिन बेलुकी गुरुङले प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्कीलाई तुरुन्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिए । संयमता अपनाउनुपर्ने सुरक्षा ब्रिफिङपछि उनले सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई समेत बोलाएर छलफल थाले । जबकि अर्याल स्वयंलाई भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी कसुरमा कारबाही सिफारिस गरेको थियो ।
यद्यपि, मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीका हकमा छुट्टै छानबिन समिति गठन गरेर त्यसको सिफारिसको आधारमा अघि बढ्ने निर्णय गरेको थियो । सुरक्षा संयन्त्रले कानुनी प्रक्रिया र दुई पुराना दलका नेतालाई पक्राउ गर्दा उत्पन्न हुन सक्ने प्रतिक्रिया सम्झाउँदै विस्तारै अघि बढ्नुपर्ने राय राख्यो । मन्त्री गुरुङ भने आफ्नो अडानमा कायम रहँदै प्रहरी प्रधान कार्यालय, नक्साल नै पुगे ।
सुरक्षा अधिकृतहरूका अनुसार, तुरुन्त पक्राउ नगरे ‘आफू हेडक्वार्टरमै बस्ने’ बताएपछि छलफलका लागि कानुन मन्त्रालयका सचिवलाई समेत राति नै हेडक्वार्टरमा बोलाउनु परेको थियो । गृहमन्त्रीको अडानपछि प्रहरीले अर्को दिन बिहानै ओली र लेखकलाई पक्राउ गर्यो । त्यसयता बालेन सरकारका मन्त्रीहरूमध्ये सुधन सबैभन्दा धेरै व्यस्त देखिन्छन् ।
व्यस्तता यतिसम्म कि उनी गृहमन्त्री नियुक्त भएको भोलिपल्ट आफैं आफ्ना लागि मन्त्री क्वार्टर छान्न पुल्चोक पुगे । मर्मत सम्भार गरी सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका लागि छुट्याइएको भवनमा आइतबारबाट गृहमन्त्री गुरुङ बस्न थाले । यहाँ रहेका योसहित दुई भवन सरकारले २०७९ फागुन १९ गते सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिस्ट्रारलाई बस्न हस्तान्तरण गरेको थियो ।
तर यसबारे न्यायाधीश, सर्वोच्च अदालत प्रशासन तथा रजिस्ट्रारलाई भने कुनै जानकारी दिइएको छैन । ‘सरकारले न्यायाधीश बसिरहेको स्थानमा अन्य व्यक्तिलाई राख्नेबारे कुनै औपचारिक जानकारी दिएको छैन,’ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले कान्तिपुरलाई भने ।
पूर्वन्यायाधीश बलराम केसीले पनि न्यायाधीश र मन्त्रीलाई एउटै परिसरमा राख्ने गलत अभ्यास सुरू भएको बताए । ‘संविधानले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कार्यपालिकाको कामको न्यायिक परीक्षण गर्ने अधिकार न्यायपालिकालाई दिएको छ । यस्तो अवस्थामा मन्त्री र न्यायाधीश भेट हुनु हुँदैन । त्यसकारण मन्त्री र न्यायाधीश एउटै कम्पाउन्डभित्र बस्ने व्यवस्था अनुचित छ,’ उनले भने ।
चैत १४ शनिबार सार्वजनिक बिदा थियो । सहरी विकास मन्त्रालयका कर्मचारी त्यहाँ थिएनन् । तर पुल्चोकस्थित न्यायाधीश क्वार्टरमा गृहमन्त्री गुरुङ आफैं पुगे । पुल्चोकस्थित एक न्यायाधीशका सहयोगीका अनुसार ‘श्रीमानहरू खै त?’ भन्दै न्यायाधीशहरू बसोबास गरेको भवनमा छिरेका थिए । ‘यहाँ न्यायाधीश बसिरहनु भएको छ भनेपछि खाली कुन छ भन्ने सोधे,’ ती सहयोगीले कान्तिपुरसित भने, ‘खाली रहेका भवनहरूको निरीक्षण गरे पनि एक घर रोजे र सरसफाइ गर्न निर्देशन दिए । आइतबार त सरिहाले ।’
गृहमन्त्री बनेपछिको एक साता
शुक्रबार, १३ चैत
बालेन्द्रका साथी सुनिल लम्साल र सभापति रवि लामिछानेका विश्वासपात्रसमेत रहेका उपसभापति डीपी अर्यालले दाबी गरिरहेका बेला एकाएक गुरुङले गृह मन्त्रालयमा बाजी मारे । ‘आफूलाई एक्सन ओरिएन्टेड’ मन्त्रालय चाहिएको बताउँदै आए पनि लम्साल र अर्यालको अडानको पृष्ठभूमिमा उनलाई देशको सुरक्षाको बागडोर सम्हाल्ने जिम्मा आउला भन्ने अपेक्षा थिएन ।
तर, विगतमा ओली र लेखकलाई पक्राउ गर्नुपर्छ भन्दै दौडधूप गरेका उनलाई बालेन्द्रले छाने, गुरुङले पनि आफूले जिम्मेवारी पाए विगतमा गरेका वाचाअनुसार काम गर्ने प्रतिबद्धता जनाए । त्यसपछि शपथ लिएका गुरुङले गृह मन्त्रालयमा पुगेर प्रतिवेदनको सिफारिस तुरुन्तै कार्यान्वयन गर्ने घोषणा गरे ।
‘क्याबिनेटबाट त्यहीअनुसार निर्णय भइसकेपछि प्रधानमन्त्रीको निर्देशनअनुसार कार्यान्वयन गर्नुपर्ने हुन्छ, यसमा कसैलाई छुट छैन,’ उनले भने, ‘सहिद परिवार, जसले आफ्नो बच्चा गुमाउनु भएको छ, उहाँहरूले कति मन्त्रालय धाउने?’ मन्त्रीले यो घोषणा गरिसक्दासमेत मन्त्रालयका कर्मचारी र प्रहरी नेतृत्वले चाहिँ उनले यति चाँडै एक्सनमा जान दबाब देलान् भन्ने सोचेका थिएनन् ।
तर, मन्त्रालयमा हरेक कामका लागि ‘वान डोर प्रणाली’को पहिलो निर्णय गरेलगत्तै उनले ओली–लेखक पक्राउका लागि छलफल थाले । मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मैले अहिलेसम्म त्यति जिद्दी मन्त्री देखेको थिइनँ ।’
शनिबार, १४ चैत
ओली–लेखक पक्राउ नपरुन्जेलसम्म गृहमन्त्री गुरुङ प्रहरी हेडक्वार्टर, नक्सालमै बसे । प्रहरी अधिकारीहरूलाई आफूसँगै राखेर दुई जनालाई पक्राउ गर्दा आइपर्न सक्ने चुनौतीबारे तयारी गर्न निर्देशन दिए । राति नै प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बलको मुख्यालयले आफ्ना कर्मचारीलाई बिहान ६ बजेदेखि नै बर्दीसहित तयारी अवस्थामा बस्न निर्देशन दियो ।
काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, बिहान ६:१० बजे गुण्डुस्थित निवासमा ओलीले पक्राउ पूर्जी बुझे । त्यसअघि एमाले कार्यकर्तासँग केहीबेर घम्साघम्सी भयो, पूर्वगृहमन्त्री रमेश लेखकचाहिँ सहजै प्रहरी कार्यालयमा आउन तयार भए । ओली–लेखक पक्राउ परेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ‘आयो गोर्खाली’ भन्दै सन्देश राखे ।
ओली–लेखक प्रहरी कार्यालय पुगेपछि गृहमन्त्री गुरुङ आफैं गाडी हाँकेर जावलाखेलस्थित ललितपुर प्रहरी परिसर पुगे । ललितपुरका एसएसपी होविन्द्र बोगटीले उनलाई प्रहरीको काम, कारबाहीबारे जानकारी गराए । गुरुङले भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकैलाई कडा कारबाही गरिने बताउँदै शून्य सहनशीलताको नीति लिन निर्देशन दिए ।
जावलाखेलपछि उनी प्रहरी वृत्त, सातदोबाटोमा समेत पुगे । अपराह्न यही प्रहरी कार्यालयले एमाले कर्णालीका नेता कर्णबहादुर मल्ललाई पक्राउ गर्यो । जबरजस्ती करणीको कसुरमा एक महिलाले दिएको उजुरीका आधारमा सातदोबाटो प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
आइतबार, १५ चैत
गृहमन्त्री बन्नुअघि भीआईपी शैलीमा गाडीको लावालस्कर लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै आएका गुरुङ दिउँसो एकाएक सिंहदरबारभित्र रहेको क्यान्टिनमा पुगे, खाजा खाए र त्यहीँ केही नागरिकसँग कुराकानी गरे, सेल्फी खिचाए ।
सोमबार, १६ चैत
प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षणपछि निर्देशन, सम्बोधन गर्ने कार्यक्रम थियो । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको रासनदेखि तल्लो दर्जाका कर्मचारीलाई टिकाउनै गाह्रो भइरहेको सुनाए । ‘प्रहरीको यो युनिफर्म निलोभन्दा पनि कालो भन्छु । त्यो कालो बर्दीचाहिँ धान गोदामको पालेले लगाउने भन्दा राम्रो होस् भन्ने कुरा हो,’ उनले यति भनिसक्दा गृहमन्त्री गुरुङ आसनबाट जुरुक्क उठे अनि अरूलाई पनि उठ्न आग्रह गर्दै ताली बजाए ।
आईजीपीपछि बोलेका गुरुङले प्रहरीका स–साना समस्याको मिहीन विश्लेषण गर्दै सबैको मन जित्ने प्रयास गरे । ‘२०१ रुपैयाँमा एक प्लेट मःमः आउँदैन, त्यति पैसामा प्रहरीको न्युट्रिसन कसरी पूरा हुन्छ ?,’ उनले भने । उनले आफ्ना दुःख गृहमन्त्रीसँग निर्धक्क साथ राख्न सकिने भए पनि सरुवा गरिदिनुपर्यो भन्दै नआउन निर्देशन दिए ।
‘...सर बढुवा गरिदिनुपर्यो भनेर नआउनुस्, यो बन्द है । सर नाकामा राखिदिनुपर्यो । सरुवा गरिदिनुपर्यो भनेर नआउनु होला, विशेष गरी नाकामा चाहिँ,’ उनले भने, ‘किनभने, त्यो भयो भने त्यहाँ सरुवा हुँदैन, अरुतिर चाहिँ पक्कै हुन्छ ।’
उनले सरुवा, बढुवालाई प्रणालीमा लैजाने तयारीसमेत गरिएको बताए । ‘अरू प्रहरीका हरेक समस्यालाई आफ्नै समस्या जसरी कुद्नेवाला छु । धेरै अफ्ठ्यारो मान्न जरुरत छैन,’ उनले भने।
मंगलबार, १७ चैत
अध्यक्ष पक्राउको विरोधमा प्रदर्शन गरिरहेका एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका एक ज्येष्ठ नागरिकलाई भेट्न गृहमन्त्री गुरुङ उनकै निवासमा पुगे । ओली पक्राउको विरोधमा कार्यकर्ताले नारा लगाइरहेका नजिकैबाट हिँडिरहेका उनलाई केही बोलेका थिए । त्यसबेला उनी दुर्व्यवहारमा परेका थिए ।
त्यो भिडियो भाइरल भएपछि दुर्व्यवहारमा संलग्न रामशरण शर्मा बजगाईं पक्राउ परे । गृहमन्त्री गुरुङले भने पीडितलाई भेटेर आफू निकै दुःखी भएको र त्यो राति निदाउनसमेत नसकेको बताए । दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकले आफ्नो घरमै आएर पीडामा साथ दिएको भन्दै धन्यवाद दिए ।
बुधबार, १८ चैत
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतबारे अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरमा गुरुङ निरीक्षणका लागि पुगे । भद्रकालीस्थित प्रहरी कार्यालय पुगेका गृहमन्त्री गुरुङले स्वतन्त्र, पारदर्शी हिसाबले काम गर्न निर्देशन दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा बताउँछन् ।
त्यसक्रममा प्रहरीले जेन–जी आन्दोलनका क्रममा प्रहरीतर्फ भएको क्षतिबारे समेत जानकारी गराएको थियो । सुशीला कार्कीको नेतृत्वमा सरकार भएका बेला गुरुङले यही प्रहरी कार्यालयमा पुगेर ओली, लेखकलगायतलाई पक्राउ गर्न दबाब दिएका थिए । एकपटक पीडित परिवारका सदस्यहरू जाहेरी दिन जाँदा उनी पनि सँगै गएका थिए ।
जाहेरी अघि नबढेपछि उनी पछि हट्न बाध्य भएका थिए । परिस्थिति कस्तोसम्म बनेको थियो भने गृहमन्त्री गुरुङले अनावश्यक दबाब दिएको भन्दै प्रहरीले सरकारलाई समेत जानकारी गराएको थियो । त्यसपछि उनलाई त्यसरी प्रहरी कार्यालयमा नजान भन्दै सम्झाइएको थियो ।
बिहीबार, १९ चैत
संसद्को पहिलो बैठक बस्नुअघि उनी पशुपतिनाथको दर्शन गर्न गौशाला पुगे । गृहमन्त्री नै आउने भएपछि प्रहरीले केहीअघिबाटै सुरक्षाकर्मीको परिचालन बाक्लिएको थियो । तर, गृहमन्त्री गुरुङको अस्तव्यस्त सवारीलाई खुलाउन आफैं गाडीबाट ओर्लिएर अगाडि बढे। सर्वसाधारणका गाडीलाई पहिले निस्किन दिए ।
संसद् बैठक पुगेर उनले मतदाता नामावली, प्रतिनिधिसभा सदस्य निर्वाचन र नेपाल विशेष सेवा ऐन संशोधन गर्ने अध्यादेश पेस गरे । बेलुकी गुरुङ गृहमन्त्रालयको सोफामै सिरक ओढेर सुते।
शुक्रबार, २० चैत
बिहानै गृहमन्त्री गुरुङ जेन-जी आन्दोलनका घाइतेलाई भेट्न काठमाडौं मेडिकल कलेज, सिनामंगल पुगे । उनी अस्पताल पुग्दा कांग्रेस नेतासमेत रहेका सञ्चालक सुनिल शर्मा पनि साथमै थिए । चिकित्सकसँग उनले बिरामीको अवस्थाबारे जानकारी लिए । ‘२५ गते बिहान उनलाई भेटाइएको थियो, ट्रमा अस्पतालमा पछि यहाँ ल्याइएको थियो,’ चिकित्सकले उनको पृष्ठभूमि सुनाए ।
गृहमन्त्रीमा पदभार ग्रहणगरेपछि व्यस्त एक सातापछि सुधनले शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा आफू सोफामा सुतिरहेको तस्बिर पोस्ट गरे । सही तस्वीरसँगै उनले लेखे, 'निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।'
पछिल्ला केही दिन 'गुड मर्निङ' भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यस्त गृहमन्त्रीले पछिल्लो स्टाटसको कसलाई लक्षित गर्दै लेखेका हुन् त उनले खुलाएका छैनन्, तर उनले स्टाटससँगै पोस्ट गरेको तस्बिरले भने उनी आफू कति व्यस्त छु भनेर देखाउन खोजेको आशय भने पक्कै बुझिन्छ ।
