७५१ दिनदेखि छोराको शव कुरिरहेकी सोमशिला

२८ फागुन २०८० मा आगलागीमा परेर ज्यान गुमाएका महोत्तरीका  सुनील साहको सनाखत प्रक्रिया पूरा नहुँदा शव साउदी अरबमै।

चैत्र १९, २०८२

होम कार्की, सन्तोष सिंह

Somshila has been waiting for her son's body for 751 days

What you should know

काठमाडौं र महोत्तरी — पक्की घरहरूका बीचमा बाँसले घेरिएको घर छ । ३.५ धुरमा बनेको त्यही घरको आँगनमा ५० वर्षीया सोमशिला देवी साह टोलाएर बसिरहेकी छन् । घरमा को आउँछन्–जान्छन्, उनलाई खासै पर्वाह छैन ।  ५२ वर्षीय श्रीमान् वीरेन्द्र साह भन्छन्, ‘सोमशिला कसैसँग बोल्न मन गर्दिनन् । उनको मन नहाँसेको दुई वर्ष नाघिसक्यो । खानामा कुनै रुचि छैन । रातभरि सुत्न सक्तिन । शरीर गलेर कमजोर हुँदै गएको छ । डाक्टरलाई जँचाउँदा कुनै रोग देखिँदैन ।’ 

रामगोपालपुर–७ ससौला, महोत्तरीकी सोमशिला पहिले यस्ती थिइनन् । जब साउदी अरबमा रहेको छोरा बितेको खबर आयो, त्यसले उनमा ठूलो चोट पर्‍यो । बितिसकेको अवस्थामै भए पनि छोराको अनुहार एक पटक हेरेर मन बुझाउने मौका पनि उनले पाइनन् । सोमशिलाको हाउभाउ बदलिँदै गयो ।

‘छोराको शव नआउँदा हामी पनि चिन्तामै छौं,’ वीरेन्द्रले सुनाए ।  बाँसले घेरिएको घर भत्काएर पक्की घर बनाउने सपना बोकेर २१ वर्षीय सुनील ७ अप्रिल २०२२ मा ‘फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि’ मार्फत साउदी उडेका थिए । साउदीको राजधानी रियादबाट दक्षिणपूर्वस्थित अल–खार्ज औद्योगिक क्षेत्रस्थित बुन्यान इन्डस्ट्रियल कम्पनी लिमिटेडमा उनी श्रम गर्थे । एक हजार रियाल तलब पाउँथे । कम्पनीसँग गरिएको करार अवधि समाप्त हुनु ठीक एक महिना अगाडि ११ मार्च २०२४ (२८ फागुन २०८०) मा काम गरिरहेका बेला सुनील आगलागीमा परे र ज्यान गयो । 

Somshila has been waiting for her son's body for 751 days

सुनीलले गाउँमै कक्षा १२ सम्म अध्ययन गरेका थिए । परिवारले सयकडा तीन रुपैयाँ ब्याज दिने गरी २ लाख ऋण लिएर उनलाई साउदी पठाएको थियो । उता पुगेपछि सुनीलले महिनाको ३०/४० हजार रुपैयाँ घर पठाइरहेका पनि थिए ।घटना भएको दुई वर्ष बितिसक्दा पनि सुनीलको शव आइपुगेको छैन । शव कहिले आइपुग्छ भन्ने अनुमान लगाउन सक्ने अवस्था पनि छैन । ‘मैले माग्ने छोराको सास हो । तर यो हुन सक्दैन । शव आए अन्तिम संस्कार गर्न पाइन्थ्यो,’ सोमशिलाले भनिन् ।  वीरेन्द्र र सोमशिलाका पाँच सन्तानमध्ये सुनील जेठो छोरा थिए । जेठी छोरीको विवाह भइसकेको छ । दुई छोरी र कान्छा छोरा पढिरहेका छन् ।

सुनीलले गाउँमै कक्षा १२ सम्म अध्ययन गरेका थिए । परिवारले सयकडा तीन रुपैयाँ ब्याज दिने गरी २ लाख ऋण लिएर उनलाई साउदी पठाएको थियो । उता पुगेपछि सुनीलले महिनाको ३०/४० हजार रुपैयाँ घर पठाइरहेका पनि थिए ।  सुनीलको मृत्यु भएको खबर अचानक आएदेखि सोमशिलाले आँसु नबगाएको दिन छैन ।

सुनीलले ‘भिडियो कल’ मा कुरा गर्न भनेर साउदीबाट पठाइदिएको मोबाइल फोन उनको साथमा छ । मोबाइलमा छोराको फोन आउँछ कि जस्तो उनलाई लागिरहन्छ । तर त्यसमा साउदीको राजधानी रियादस्थित नेपाली दूतावासबाट बेला–बेला भिडियो कल आउँछ अनि छोराको शव पठाउने कुरा कहाँ पुग्यो भनेर खबर सुनाइन्छ ।  सुनील बितेपछि वीरेन्द्रले मजदुरी गरेर परिवार पालिरहेका छन् ।

‘सुनील आगलागीमा नपरेको भए मैले मजदुरी गर्नु पर्दैनथ्यो,’ उनी भन्छन्, ‘विदेशबाट छोराले कमाएर पठाएको पैसाले घर खर्च चल्थ्यो ।’ सुनीलको मृत्यु हुनु दुई दिन अगाडि वीरेन्द्रसँग अन्तिम संवाद भएको थियो । ‘काम अप्ठ्यारो छ भनिराख्थ्यो । होली आसपास घर फर्किने कुरा गर्थ्यो । ऊ आउने खबरले हामी खुसी भएका थियौं । तर दुई दिन नबित्दै अर्कै खबर पो आयो,’ वीरेन्द्रले सुनाए । सुनीलको मृत्यु भएको खबर सँगै काम गर्ने शुभनारायण मण्डलले परिवारलाई दिएका थिए ।

सुनीलको शव ल्याउन वीरेन्द्रले कैयौं पटक काठमाडौं धाइसकेका छन् । शोकमा डुबेको यो परिवारलाई काठमाडौं आउजाउ गर्दा ऋणको भार बढिरहेको छ । ‘काठमाडौंमा कति पटक गएँ–गएँ, कुनै गन्ती छैन,’ वीरेन्द्र भन्छन्, ‘एक पटक जाँदा १०/१२ हजार रुपैयाँ कर्जा थपिन्छ । हामी गरिब छौं । जेथाजमिन छैन ।’ 

Somshila has been waiting for her son's body for 751 days

शव चिनिएन, डीएनएको रिपोर्ट मागियो  बुन्यान कम्पनीमा आगलागी हुँदा सुनीलसहित तीन जनाको जलेर मृत्यु भएको थियो । कुनै शवको पहिचान भएन । ५ अप्रिल २०२४ मा बुन्यान कम्पनीले नेपाली दूतावासलाई पठाएको पत्रअनुसार उद्योगमा कसरी आगलागी भयो भन्ने तथ्य खुलेको छैन । साउदीबाट नेपालमा शव पठाउन तीन वटा कागजात चाहिन्छ– प्रहरी रिपोर्ट, मृत्यु प्रमाणपत्र र मेडिकल रिपोर्ट ।

मृत्यु भएका तीन जनामध्ये अरू बंगलादेशी र चिनियाँ थिए । सनाखत हुन नसकेका कारण डीएनए परीक्षण नगरी शव पठाउने निर्णय नै भएन । डीएनएबाट शव पहिचान नभएसम्म प्रहरी रिपोर्ट बन्दैन । अहिलेसम्म डीएनए पहिचान प्रक्रियामै समय गुज्रिरहेको छ । 

साउदीले आफ्नो टोली नेपाल पठाउनुभन्दा नेपालबाटै डीएनएको नमुना पठाउने विकल्पमा जोड दिएको थियो । पत्र प्राप्त हुनासाथ नेपाली दूतावासले त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई सुनीलको शव सजिलै सनाखत हुने अवस्था नभएको भन्दै पत्र पठाएको थियो ।जबसम्म साउदीले डीएनएको नमुना चाहिन्छ भनेर आधिकारिक पत्र पठाउँदैन, तबसम्म परिवारबाट नमुना लिने कुरै भएन । सुनीलको मृत्यु भएको आधिकारिक पत्र पाउन नै रियादस्थित नेपाली दूतावासलाई आठ महिना लाग्यो । त्यस अगाडि दूतावासले कम्पनी र प्रहरी निकायसँग हप्ता र महिनाको फरकमा पटक–पटक ‘अपडेट’ लिइरहेको थियो । कम्पनीले प्रहरीबाट कुनै रिपोर्ट नआएको जानकारी दिन्थ्यो । 

२५ नोभेम्बर २०२४ (१० मंसिर २०८१) मा साउदीको विदेश मन्त्रालयले नेपाली दूतावासलाई ‘अति जरुरी’ भन्दै पत्र पठायो । ‘साउदीभित्र मृतक सुनीलको कोही पनि नजिकको पारिवारिक सदस्य भेटिएन । आगलागी घटनापछि फेला परेको शवको अवशेषको पारिवारिक पहिचान निर्धारण गर्न डीएनए परीक्षणका लागि नमुना लिन आवश्यक छ । आपराधिक प्रमाण विभागबाट टोली नेपाल पठाई उनका आफन्तबाट डीएनएको नमुना संकलन गर्नुपर्ने विषय जनाइएको छ,’ पत्रमा भनिएको थियो, ‘मन्त्रालयलाई सम्बन्धित निकायबाट प्राप्त जानकारीअनुसार नेपालका सम्बन्धित निकायमार्फत सुनीलका अभिभावक वा सन्तानको जेनेटिक प्रोफाइल रियादस्थित नेपाली दूतावासमार्फत पठाए पनि हुने जानकारी प्राप्त भएको छ ।’

साउदीले आफ्नो टोली नेपाल पठाउनुभन्दा नेपालबाटै डीएनएको नमुना पठाउने विकल्पमा जोड दिएको थियो । पत्र प्राप्त हुनासाथ नेपाली दूतावासले त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई सुनीलको शव सजिलै सनाखत हुने अवस्था नभएको भन्दै पत्र पठाएको थियो ।

‘सुनीलको शव नेपाल फिर्ता गर्नका लागि एकाघर परिवारको सदस्यसँग डीएनए परीक्षण गर्नुपर्ने भएको छ,’ पत्रमा भनिएको थियो । कन्सुलर विभागले वडाध्यक्ष शम्भु साहमार्फत वीरेन्द्रलाई काठमाडौं बोलायो । कन्सुलरले डीएनए परीक्षणका लागि प्रहरी मुख्यालयलाई लेखेको पत्र बोकेर उनी नक्साल पुगे । त्यहाँबाट प्रहरी मुख्यालयले महाराजगन्जस्थित प्रहरी विभागलाई अर्को पत्र लेख्यो । त्यो पत्र बोकेर वीरेन्द्र महाराजगन्ज पुगे ।

त्यहाँबाट फेरि टिचिङ अस्पताललाई पत्र लेखिदिए । त्यसपछि बल्ल उनले टिचिङमा गएर रगतको नमुना दिए अनि घर फर्किए । ‘मलाई धेरै गाह्रो भयो । कहिले कता जानुपर्ने ? कहिले कता,’ वीरेन्द्रले सुनाए, ‘ठाउँ नचिन्ने । गाउँमा बसेको मान्छेलाई सहरका ठूल्ठूला कार्यालय खोज्दा धेरै हैरानी पाएँ ।’ टिचिङले परीक्षण गरेको डीएनएको रिपोर्ट प्रहरी मुख्यालय हुँदै कन्सुलर विभाग पठाइदियो ।

बुबासँग ५० प्रतिशत मिल्यो, फेरि आमाको नमुना संकलन  डीएनए परीक्षणको रिपोर्ट साउदीस्थित नेपाली दूतावासले १ फेब्रुअरी २०२५ मा पायो । त्यो डीएनए रिपोर्ट बोकेर दूतावासले सिधै करिब ९० किलोमिटर टाढा रहेको अल–खार्जस्थित दिलाम प्रहरी चौकीमा पेस गर्न सक्ने अवस्था बनेन । दूतावासले रियादमै रहेको विदेश मन्त्रालयलाई बुझायो । त्यो पत्र त्यहाँबाट आन्तरिक मन्त्रालय, प्रहरी मुख्यालय, आपराधिक प्रमाण विभाग हुँदै दिलाम प्रहरी चौकीमा पुग्नुपर्थ्यो ।

‘डीएनए रिपोर्ट पुग्यो कि पुगेन भनेर हामीले दिलाम प्रहरीमा बुझ्न थाल्यौं । दिलामले जहिले पनि आइपुगेको छैन भनेर जवाफ दिन्थ्यो,’ श्रम काउन्सिलर कविराज उप्रेती भन्छन्, ‘फेरि शून्य (विदेश मन्त्रालय) बाट फलो गर्न थाल्यौं ।’ विदेश मन्त्रालयमा डीएनए रिपोर्ट बुझाएको ११ महिनापछि (२८ डिसेम्बर २०२५) दिलाम प्रहरी चौकीले नेपाली दूतावासलाई भन्यो, ‘सुनीलको बुबासँग डीएनए म्याच गर्दा ५० प्रतिशत मात्रै मिल्यो । अब आमाको डीएनए रिपोर्ट चाहिन्छ ।’

सामान्यतया डीएनएको नमुना आमाबाट लिने गरिन्छ । तर कन्सुलर विभाग वा टिचिङ अस्पतालमा यो प्राविधिक विषयमा ध्यान पुगेन । फेरि आमाको डीएनए रिपोर्ट ल्याउन समय लाग्ने र निकै लम्बेतान प्रक्रिया भएकाले दूतावासले गत ३ फेब्रुअरीमा पत्र लेख्दै साउदीको विदेश मन्त्रालयलाई भन्यो, ‘यस्तो गर्न सकिँदैन । यसैबाट पत्ता लगाएर शव पठाइदिन अनुरोध गरिन्छ ।’

क्षतिपूर्ति कहिले आउँछ ?  साउदीको श्रम कानुनअनुसार रोजगारदाताले श्रमिकलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा बिमा (गोसी) मा आबद्ध गराउनुपर्छ । यसरी आबद्ध भएका श्रमिकको प्रत्येक महिनाको तलबबाट दुई प्रतिशतले हुने रकम सामाजिक सुरक्षा बिमाबापत कट्टा गरिएको हुन्छ ।प्रहरी रिपोर्ट नबनेसम्म शव पठाउन सकिँदैन, पीडित परिवारलाई साउदीको सामाजिक सुरक्षा बिमा (गोसी) र नेपालको वैदेशिक रोजगार बोर्ड, बिमाबाट पनि क्षतिपूर्ति रकम पनि पाइँदैन । निकै लामो समय भएकाले शवलाई साउदीमै अत्येष्टि गर्ने सोचमा परिवार पनि पुगेको थियो । 

गत १७ फेब्रुअरीमा दूतावासले पीडित परिवार र वडाध्यक्ष शम्भु साहसँग शव ल्याउने कि नल्याउने भन्ने विषयमा भर्चुअल बैठक गर्‍यो । त्यसमा पीडित परिवारले शव नै चाहिने बताए । लगत्तै सोमशिला डीएनए परीक्षणका लागि नमुना दिन काठमाडौं आइन् । ‘सोमशिलाको नमुना दिएर फर्केको एक महिना भयो,’ वीरेन्द्र भन्छन्, ‘अब त मिल्छ होला ।’

पछिल्लो परीक्षणको रिपोर्ट दूतावास पुगेको छैन । दूतावासले रिपोर्ट पाएपछि फेरि प्रक्रिया शून्यबाटै सुरु हुन्छ । अर्थात् दूतावास–विदेश मन्त्रालय–आन्तरिक मन्त्रालय–प्रहरी मुख्यालय–फरेन्सिक विभाग हुँदै दिलाम प्रहरी स्टेसन पुग्नुपर्छ । यो रिपोर्ट दिलाम प्रहरी स्टेसनसम्म पुग्न कति समय लाग्छ ? पहिलेजस्तै एक वर्ष वा त्योभन्दा कम ? यसको जवाफ कसैसँग छैन । ‘छोरा पनि गुमायौं । शव आउने पनि अत्तोपत्तो छैन,’ आँखाभरि आँसु पारेर सोमशिलाले भनिन्, ‘राहत पाए पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो होला ।’ 

क्षतिपूर्ति कहिले आउँछ ?  साउदीको श्रम कानुनअनुसार रोजगारदाताले श्रमिकलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा बिमा (गोसी) मा आबद्ध गराउनुपर्छ । यसरी आबद्ध भएका श्रमिकको प्रत्येक महिनाको तलबबाट दुई प्रतिशतले हुने रकम सामाजिक सुरक्षा बिमाबापत कट्टा गरिएको हुन्छ ।

मृत्यु भएका श्रमिकको परिवारका हकवालाले गोसीमार्फत ८४ महिना बराबरको तलब वा बढीमा ३ लाख ३० हजार साउदी रियाल प्राप्त गर्ने व्यवस्था छ । त्यस्तो रकम मृतकको हकवाला एक जना मात्र भए ५० प्रतिशत मात्र, दुई जना भए ७५ प्रतिशत मात्र र तीन जना वा सोभन्दा बढी भए सय प्रतिशत रकम दामासाहीले उनीहरूको बैंक खातामा सोझै भुक्तानी गर्नुपर्छ । हकवालामा भने मृतकको पत्नी वा पति, छोरा, अविवाहित छोरी, बुबाआमा, हजुरबुबा–हजुरआमा, दाजुभाइ, अविवाहित दिदीबहिनी, नाति तथा अविवाहित नातिनी पर्छन् ।

Somshila has been waiting for her son's body for 751 days

यस्तो क्षतिपूर्ति कार्यस्थलमै ज्यान गुमाएका श्रमिकका परिवारलाई मात्रै दिइन्छ । तर गोसीसमक्ष मृतक श्रमिकका तर्फबाट पेस गर्नुपर्ने पूरा कागजात नहुँदा दुई दशकदेखि मृत्यु भएका पीडित परिवारले क्षतिपूर्ति पाएका छैनन् । सुनील साहको दर्ता गोसीमा भएको देखिए र आवश्यक सबै कागजात पूरा भए मात्रै गोसीमा क्षतिपूर्ति दाबी गर्न सकिने स्थिति हुन्छ । गोसीबाहेक क्षतिपूर्तिका लागि ‘ब्लडमनी’ रकम दिने व्यवस्था पनि छ ।

गोसीबापत रकम हकवालाका तर्फबाट पूरा कागजात पेस गरेपछि पाइन्छ । ब्लडमनीका लागि भने दूतावासले अदालतमा मुद्दा लड्नुपर्छ । झन्झटिलो र लामो प्रक्रियाका कारण साउदीमा मृत्यु भएका कामदारका परिवारले क्षतिपूर्तिका लागि वर्षौं संघर्ष गर्नुपर्ने अवस्था छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार साउदी अरबमा पछिल्ला तीन वर्षमा १ हजार १९ जनाको शव नेपाल आइपुगेको छ ।

शव पठाउन लाग्ने सबै खर्च रोजगारदाताले नै बेहोर्ने गरेको छ । ‘जुन शव अलपत्र हुन्छ, खर्चको अभावमा नेपाल ल्याउन सकिएको छैन, त्यसमा मात्रै बोर्डले खर्च बेहोर्ने गर्छ,’ उप्रेतीले भने । कुवेतबाट ९ शव ल्याइयो खाडी युद्धका कारण कुवेतमा रोकिएका ९ शव बुधबार ल्याइएका छन् । नेपाली श्रमिकका शव कुवेत एयरवेजको चार्टर विमानमा ल्याइएका हुन् । 

वैदेशिक रोजगार बोर्डका अनुसार सिरहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोकका सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङका वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराम्जा बुढा, सिन्धुलीकी मञ्जु मोक्तान पाख्रिन र कास्कीका रमेश नेपालीको शव ल्याइएको छ । उनीहरूको शवलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलदेखि घरसम्म लैजाने प्रबन्ध गरिएको बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेतीले जानकारी दिए । अमेरिका–इजरायलले गत १६ फागुनमा इरानमा आक्रमण गरेपछि इरानले अमेरिकी सैन्य क्याम्प रहेका कुवेत, बहराइन, साउदी अरब, कतार र ओमानमा शृंखलाबद्ध आक्रमण गरेको थियो । त्यही कारण कुवेतको विमानस्थल सञ्चालनमा थिएन ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully