स्थायी शिक्षक नहुँदाको मारमा विद्यार्थी, बर्सेनि कोर्स पूरा नहुँदै एसईई

कर्णालीका सामुदायिक विद्यालयमा स्थायी शिक्षकको अभाव, नियमित पठनपाठनमा समस्याले विद्यार्थीहरू ट्युसन र बाहिरी स्रोतमा भर परेर एसईईमा सहभागी हुन बाध्य छन्।

चैत्र १३, २०८२

तुलाराम पाण्डे, कृष्णप्रसाद गौतम

Students suffer from lack of permanent teachers, SEE without completing the course every year

What you should know

सुर्खेत र कालीकोट — कालीकोटको शुभकालिका–१ छातिस्थित जनता माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा जमुना रोक्काले यस वर्ष अधिकांश विषयको कोर्स पूरा नभएरै एसईई परीक्षा दिँदैछिन्। ‘अंग्रेजीको ७, विज्ञानको १३, गणितको १० युनिटसम्म मात्र पढाइ भएको थियो, जाडो बिदा भयो,’ उनले भनिन्, ‘त्यसयता धेरै साथीहरू ट्युसन पढ्न सुर्खेत र सदरमुकाम मान्म गएपछि विद्यालयमा पढाइ नै नियमित भएन, स्कुलले कोचिङ पढायो, त्यसले पनि सबै कोर्स सकिएन।’

विद्यालयमा कक्षा ९ र १० मा स्थायी शिक्षकको संख्या शून्य भएपछि माध्यमिक तहमा पालिका र संघीय अनुदानबाट अंग्रेजी र गणितका दुई शिक्षक राखिएको छ। प्राथमिक तहका शिक्षक दिपेन्द्र अधिकारीले विज्ञान विषय पढाउँदै आएका छन्। ‘असार–साउनमा वर्षे बिदा भयो, लगत्तै जेनजी आन्दोलनले २ हप्ता पढाइ रोकियो,’ उनले भने, ‘असोजमा दसैं–तिहार र पुस–माघमा जाडो बिदाले पनि असर पार्‍यो।’

मंगलबार शुभकालिका गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज आचार्यसहितको टोलीले विद्यालयको अनुगमन गरेको थियो। अनुगमनका क्रममा कक्षा १० मा अध्ययनरत २८ जना विद्यार्थीमध्ये १६ जना मात्र विद्यालयमा उपस्थित भएको शाखा प्रमुख आचार्यले बताए। उनका अनुसार अरू विद्यार्थी ट्युसन पढ्न मान्म र सुर्खेत गएका थिए। उनले पालिकाका ७ माध्यमिक विद्यालयमध्ये ५ विद्यालयमा कक्षा ९ र १० मा दरबन्दी शून्य रहेको बताए। जसका कारण अधिकांश प्राथमिक तहका शिक्षकले कक्षा एसईई दिने विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ।

कालीकोटकै तिलागुफा–२ सादास्थित दुर्गा माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत नविना बोहरासहित १३ जना विद्यार्थी ट्युसन पढ्न सुर्खेत आएको झण्डै ५ महिना बित्यो। विद्यालयबाट यो वर्ष २८ जनाले एसईई परीक्षा दिँदैछन्। ‘दसैं–तिहार बिदासम्म विद्यालय गयौं, कोर्स सकिने अवस्था देखिएन, त्यसैले ट्युसन पढ्न कात्तिकदेखि यता आएका हौँ,’ उनले भनिन्, ‘१/२ दिनमा गाउँ फर्किएर एसईई दिन्छौं।’

उनका अनुसार कात्तिकसम्म गणितको ज्यामितिको इकाइ नै सुरु भएको थिएन भने अंग्रेजीको व्याकरण तथा विज्ञानको रसायन विज्ञानका पाठ सुरु भएका थिएनन्। उनले प्रतिमहिना ३ हजार रुपैयाँका दरले तीन विषयको ट्युसन लिएको र खान–बस्नमा मासिक १० हजार रुपैयाँसम्म खर्च भएको जानकारी दिइन्।

विद्यालयकी सामाजिक विषयकी शिक्षिका दुर्गा शाहीले सामाजिक, नेपाली, स्वास्थ्य–शारीरिकजस्ता विषयको कोर्स पनि आधा पूरा नहुँदै विद्यार्थी बाहिर गएपछि पठनपाठनमा समस्या भएको बताइन्। ‘ट्युसन पढ्न बाहिर जाने त यहाँका लागि फेसनजस्तै भइसक्यो,’ उनले भनिन्, ‘अत्यधिक चिसो हुने भएकाले हिउँदमा जाडो बिदा दिन्छौँ, तर विद्यार्थी त्यसअघि नै ट्युसन पढ्न बाहिर गइहाल्छन्, उनीहरू नभए कसरी पढाउने?’ विद्यालयमा प्राथमिक र निम्न माध्यमिक तहका ७ जना स्थायी शिक्षक कार्यरत छन् भने २ जनालाई पालिकाले खर्च व्यहोर्ने गरी राखिएको छ।

दुर्गमका सामुदायिक विद्यालयमा कोर्स पूरा नहुँदा त्यसको मार अभिभावकले पनि भोगिरहेको तिलागुफा–२ का अभिभावक मानबहादुर शाहीले बताए। उनका छोरा प्रकाशले पनि यो वर्ष एसईई दिँदैछन्। ‘सुर्खेत पठाउँदा कोठाभाडा र खानाखर्चसहित महिनामा कम्तीमा २० हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘कर्जा गरेरै भए पनि बालबालिकालाई एसईईको तयारीका लागि बाहिर पठाउनुपर्ने बाध्यता भयो।’

कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयले २०८० सालमा १ सय १० विद्यालयमा गरेको अध्ययनअनुसार शैक्षिक सत्रको अन्त्यसम्ममा मुस्किलले ६० प्रतिशत कोर्स पूरा हुने गरेको निष्कर्ष निकालेको थियो। शिक्षक तथा भौतिक पूर्वाधार अभाव, समयमै पाठ्यपुस्तक नपुग्नु, विद्यार्थी र शिक्षक नियमित कक्षामा उपस्थित नहुनुलगायत कारण कर्णालीको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको निमित्त शिक्षा निर्देशक दीपा हमालले बताइन्।

कर्णालीबाट गत वर्ष एसईईमा ३५ हजार ६१ परीक्षार्थी सहभागी भएकोमा २० हजार ३ सय ८४ जना उत्तीर्ण भए। प्रदेशभरि ७ सय ३० सामुदायिक तथा जीजी विद्यालयबाट परीक्षार्थी सहभागी भएकोमा ४६ विद्यालयबाट एक जना विद्यार्थी पनि उत्तीर्ण हुन नसकेको निर्देशनालयको तथ्यांक छ। गत वर्ष ३.६१ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४ सय २ जना मात्र थियो।

कर्णालीमा बर्सेनि एसईई नतिजा घट्दो त्रममा छ। गत वर्ष कर्णालीबाट ५८.१३ प्रतिशत उत्तीर्ण भएकोमा २०८० सालको एसईईमा ६४ र त्यसअघि ६४.८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका मात्रै ६ सय ५४ शिक्षकको अभावले एसईई नतिजामा वर्षेनि असर परिरहेको सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखा प्रमुख बलवीर सुनारले बताए।

उनका अनुसार ३ हजार ३४ सामुदायिक विद्यालयमध्ये माध्यमिक तहमा ३ हजार १ सय ९ शिक्षकको दरबन्दी कायम गरिएको छ। तर माध्यमिक तहमा १ हजार ७ सय ४९ शिक्षक अपुग छन्। अहिलेसम्म स्थायी, अस्थायी र राहतमा १ हजार ३ सय ६० शिक्षक मात्र कार्यरत छन्।

दुर्गमका विद्यालयहरूमा धेरैपटक विज्ञापन गर्दा पनि आवेदन नपर्ने समस्या छ। गत भदौदेखि हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरगाउँस्थित सरस्वती माध्यमिक विद्यालयले चैत लागिसक्दा पनि विज्ञान र गणित विषयको शिक्षक पाएको छैन।

भदौ ५ गते पहिलोपटक एक साताको सूचना प्रकाशित गरेको विद्यालयले चैत ३ गते नवौंपटक फेरि दरखास्त आहृवान गरेको विद्यालयका प्रधानाध्यापक जयबहादुर बमले बताए। ‘विज्ञान र गणित विषयमा मावि तहको शिक्षक पाउनै सकिएन,’ उनले भने, ‘शिक्षक नै नपाएपछि एसईई दिने विद्यार्थीले परीक्षाको तयारी आफैँ गरेका छन्।’

त्यस्तै, गत कात्तिक ३० गते गणित शिक्षकका लागि १९औँ पटक विज्ञापन गर्दा मात्र कालीकोटको नरहरिनाथ–७ स्थित रुपादेवी माध्यमिक विद्यालयले शिक्षक पायो। विद्यालयमा अहिले मीनबहादुर बुढा संघीय मावि अनुदानमा कार्यरत छन्। ‘शैक्षिक सत्रको आधाभन्दा बढी समय त शिक्षक खोज्दै गयो,’ विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले भने, ‘मंसिरदेखि पढाउँदा कोर्स पूरा गर्नै मुस्किल भयो, विद्यार्थी ट्युसनका भरमा एसईई दिन बाध्य भए।’

२०३५ सालमा स्थापना भएको विद्यालयमा ३ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् भने ३ प्रावि स्थायी दरबन्दीको भरमा विद्यालय चलेको छ। पठनपाठनमा समस्या भएपछि विद्यालयमा गाउँपालिका अनुदान र निजी स्रोतमा १३ शिक्षक राखिएको छ। विद्यालयबाट यो वर्ष ३५ विद्यार्थीले एसईई दिँदैछन्।

हुम्ला, डोल्पा, मुगु र कालीकोटमा अत्यधिक हिमपात हुने भएपछि माथिल्लो बस्तीका स्थानीयहरू बर्सेनि कात्तिक पहिलो सातादेखि फागुन अन्तिमसम्म बेँसीतिर बसाइ सर्छन्। झण्डै ५ महिना अभिभावकसँगै विद्यार्थीहरू बाहिर जाने भएकाले पनि पढाइ रोकिन्छ। मुगुको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले दुर्गम ठाउँका विद्यालयमा शिक्षक नै आउन नमान्ने र आए पनि नियमित विद्यालयमा उपस्थित नहुँदा सिकाइस्तर कमजोर बन्दै गएको बताए।

‘शिक्षक नभए विद्यार्थीले कसरी सिक्छन्, कसरी कोर्स पूरा हुन्छ?’ उनले भने, ‘हाम्रा लागि वैशाखदेखिको शैक्षिक सत्र नै अव्यवहारिक छ।’ उनका अनुसार कोरोना महामारीअघि कात्तिकदेखि माघसम्म भारी हिमपात र अत्यधिक जाडो हुने भएपछि मुगुमा फागुनदेखि कात्तिकसम्म शैक्षिक सत्र सञ्चालन गर्ने गरिएको थियो।
यार्सागुम्बाको सिजन, विभिन्न चाडबाड, जिल्ला बाहिरका शिक्षक बढी समय बिदा बस्दा नियमित विद्यालयमा नआउनुलगायत कारण पनि कोर्स सकिन मुस्किल हुने गरेको उनको भनाइ छ। ‘यार्साको सिजनमा त २ महिनासम्म अभिभावकसँगै विद्यार्थीहरू पाटन जान्छन्, खेतीपातीका काम र विभिन्न चाडपर्वले पनि विद्यार्थीलाई १/२ हप्ता विद्यालय जान डिस्टर्ब हुन्छ,’ उनले भने, ‘शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति सबैको लापरवाहीले हाम्रो पढाइ खस्किँदै गइरहेको छ।’

कर्णालीमा यो वर्ष ३८ हजार ३ सय ७९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। प्रदेशभरिका १ सय ६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २ सय ५५ र ग्रेड वृद्धितर्फ ६ हजार १ सय २४ विद्यार्थी एसईईमा सहभागी हुने शिक्षा विकास निर्देशनालयका परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले बताए। उनका अनुसार सबैभन्दा बढी सुर्खेतबाट ९ हजार ७ सय ७० र सबैभन्दा कम डोल्पाबाट ६ सय ७४ विद्यार्थी एसईईमा सहभागी हुन थालेका हुन्। जसका लागि सुर्खेतमा सबैभन्दा बढी ३४ र सबैभन्दा कम डोल्पामा चार परीक्षा केन्द्र कायम गरिएको छ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully