पश्चिम एसिया युद्धको असर: पर्यटनमा दोहोरो झड्का

पश्चिम एसियाली मुलुकका पर्यटक नेपाल आउन सक्ने स्थिति छैन, पश्चिम एसियाको हवाइमार्ग र ट्रान्जिट हुँदै नेपाल आउने अन्य मुलुकका पर्यटक पनि रोकिएका छन् । यो वर्ष कम्तीमा २० देखि ३० प्रतिशतसम्म पर्यटक घट्ने अनुमान गरिएको छ ।

चैत्र ११, २०८२

सुरज कुँवर, दीपक परियार

Impact of the West Asian War: A Double Blow to Tourism

What you should know

काठमाडौं, पोखरा — वसन्तकालीन पर्यटकीय चहलपहल बढ्ने समय ढोकामै आइपुगेको छ, तर यसपालि हिमाली पर्यटन क्षेत्रमा उत्साहभन्दा बढी चिन्ता छ । कारण हो– १६ फागुनमा इरानमाथि इजरायल र अमेरिकाले गरेको हमलापछि पश्चिम एसियामा जारी युद्ध र त्यसको असर । जसका कारण पर्यटकको आवागन ह्वात्तै घटेको मात्र छैन, भइसकेका बुकिङसमेत रद्द भइरहेका छन् ।

जारी युद्धका कारण पश्चिम एसियाली मुलुकका पर्यटक नेपाल आउन सक्ने स्थिति त छैन नै, पश्चिम एसियाको हवाइमार्ग र ट्रान्जिट हुँदै नेपाल आउने अन्य मुलुकका पर्यटक पनि रोकिएका छन् । यतिबेला पर्यटक घटेपछि हेलिकोप्टर सेवादेखि होटल, पदयात्रा, हिमाल आरोहणसम्मका व्यवसाय प्रभावित भएका छन् ।

गत वर्षको फागुन–चैत (मार्च) मा १ लाख २१ हजार ६ सय ८७ पर्यटक नेपाल आएका थिए । यस पटक यो संख्या कम्तीमा २० प्रतिशतले घट्न सक्ने पर्यटन व्यवसायीको अनुमान छ । अघिल्लो वर्षको मार्चमा नेपाल आएका पर्यटकमध्ये खाडी क्षेत्रबाट मात्र २ हजार ७ सय ३२ जना थिए ।

पर्यटक आउने प्रमुख १० मुलुकमा भारत, अमेरिका, चीन, बेलायत, बंगलादेश, अस्ट्रेलिया, श्रीलंका, थाइल्यान्ड, जर्मनी र जापान छन् । कुल पर्यटक आगमनमा खाडी क्षेत्रको योगदान १.८ प्रतिशत छ । गत वर्ष खाडीका कतार, ओमन, टर्की, यूएई, इजरायल, कुवेत, साउदी अरेबिया, बहराइनलगायतका मुलुकबाट २० हजार ५ सय ४ पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डका अनुसार, पश्चिम एसियाका इजरायल, टर्की, कुवेत, ओमन, कतार, साउदी अरब र यूएईबाट सन् २०२१ मा १७ हजार २९, सन् २०२२ मा १० हजार ८ सय २६, सन् २०२३ मा ११ हजार ३ सय ४३ र सन् २०२४ मा १६ हजार ६ सय ४८ पर्यटक नेपाल आएका थिए ।

‘यसपालिको स्प्रिङ सिजन अब हाम्रो हातमा छैन, फुत्क्यो,’ वार्षिक २ सय विदेशी नागरिकलाई हिमाल आरोहणमा व्यवस्थापन गर्दै आइरहेको सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङमा शेर्पाले कान्तिपुरसँग भने, ‘विगतमा फागुन अन्तिमदेखि मध्य चैतसम्मको यही समय विदेशी पर्यटकलाई हिमालसम्म पुर्‍याउने तयारीमा काठमाडौंमा रहेका व्यवसायी जुट्थे । तर, यो वर्ष खाडी क्षेत्रमा जारी युद्धका कारण पर्यटक आगमन नै अन्योलमा छ ।’

मिङमाका अनुसार यस सिजनमा कम्तीमा २० प्रतिशतसम्म पर्यटकमा गिरावट आउने संकेत देखिएको छ । उनको कम्पनीले गत वर्ष करिब २ सय ५० विदेशी पर्यटकलाई हिमाल आरोहण तथा पदयात्रामा सघाएको थियो । तर यस वर्ष कम्तीमा सय पर्यटक उनकै कम्पनीको बुकिङमा घट्दै छन् । ‘यो संख्या अझ बढ्ला, घट्नेवाला छैन,’ उनले भने, ‘विशेषगरी इरानबाट आउने पर्यटक र युरोप तथा अमेरिकामा रहेका इरानी मूलका पर्यटक प्रभावित भएका छन् । नयाँ भिसा प्रक्रियाले उनीहरूलाई अझ असहज बनाएको उनको भनाइ छ । त्यो भनेको संसारभर छरिएका इरानीलाई इरानमै पुगेर भिसा लगाउनुपर्ने नियम हो, जुन जटिल छ ।

वार्षिक करिब १ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गर्ने क्षमता राख्ने मिङमाको कम्पनीले यस पटक खाडी क्षेत्रबाट आउने पर्यटक लगभग शून्य हुने आकलन गरेको छ । कतार, यूएई, बहराइन, जोर्डन र ओमान जस्ता देशबाट आउने पर्यटक घट्ने निश्चित जस्तै देखिएको छ । यसको प्रभाव ट्रेकिङ कम्पनीमा मात्र सीमित छैन । होटल व्यवसायी, हेलिकोप्टर चार्टर सेवा प्रदायक र स्थानीय पर्यटनमा आश्रित समुदाय सबैमा परेको छ । अहिलेको सिजन गुम्ने खतरा बढ्दै जाँदा सबैको आशा अब आगामी हिउँदे सिजनतर्फ सरेको मिङमा बताउँछन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेका अनुसार खाडीको द्वन्द्वको प्रभाव पर्यटनमा प्रत्यक्ष देखिन थालेको छ । ‘गत वर्ष मार्चमा १ लाख विदेशी पर्यटक नेपाल आएका थिए,’ उनी भन्छन्, ‘तर यसपालि त्यो संख्या घट्ने निश्चित भएको छ ।’ ठमेल, जहाँ सामान्यतया मार्च महिना पर्यटकले भरिभराउ हुने गर्छ । अहिले असामान्य रूपमा सुनसान देखिएको छ । ‘विगतका वर्षमा यही समय ठमेल गुल्जार हुन्थ्यो,’ पाण्डे भन्छन्, ‘तर अहिले त्यस्तो दृश्य छैन ।’

उनका अनुसार इरान हुँदै खाडी क्षेत्रमा फैलिएको द्वन्द्वले पदयात्रा व्यवसायलाई प्रभावित गरिसकेको छ । यसको थप असर हिमाल आरोहण अनुमतिमा समेत देखिने उनी बताउँछन् । ‘अर्को सातादेखि पर्यटन विभागमा अनुमति लिन आउनेको संख्यामा पनि कमी देखिन्छ,’ उनले भने । पाण्डेको विश्लेषणमा, खाडीमा पनि विशेषगरी दोहा नेपाल आउने पर्यटकका लागि महत्त्वपूर्ण ट्रान्जिट केन्द्र थियो । त्यही बाटो हुँदै अमेरिका, क्यानडा र युरोपका पर्यटक नेपाल भित्रिन्थे । कतारबाट दैनिक चार उडान सञ्चालन हुन्थे । करिब १२ सय यात्रु नेपाल आउँथे । जसमध्ये ७० प्रतिशत पर्यटक हुने गर्थे यो सिजनमा ।

तर, अवस्था फेरिएको छ । कतारले झन्डै २० दिन उडान रोकेर गत सातादेखि दैनिक दुइटा उडान सुचारु गरेको छ । अझै कतारको आकाशमा उडान पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । यद्यपि नेपाल ओहोरदोहोर गराउने वैकल्पिक हवाई मार्ग पर्यटकले प्रयोग गर्दै आइरहेका छन् । भारतको दिल्ली, चीनका ग्वाङझाउ, कुन्मिङ, छेन्दु, हङकङ हुँदै पर्यटक र नेपालीहरू ओहोरदोहोर गरिरहेका छन् । यी रुटको हवाई भाडा तत्काल खरिद गर्दा ४० देखि ९० हजारसम्म महँगो पर्ने गरेको व्यवसायीले बताएका छन् ।

‘एकतर्फी १ हजार डलर पर्ने हवाई टिकट अहिले २५ सय डलर हाराहारी पुगेको छ,’ पाण्डे भन्छन्, ‘जब पर्यटकको बजेट नै हवाई भाडामा खर्च हुन्छ, उनीहरू किन नेपालमा पदयात्रा गर्न आउँछन् ? यति खर्चमा त उनीहरू अरू सस्ता गन्तव्य रोज्छन् ।’ उनका अनुसार यस सिजनमा पदयात्राको क्षेत्रमा २० देखि ३० प्रतिशतसम्म गिरावट आउने लगभग निश्चित देखिएको छ ।

विदेशी पर्यटक घटेसँगै नेपालका घरेलु वायुसेवा र हेलिकोप्टर कम्पनी पनि प्रत्यक्ष मारमा परेका छन् । वायुसेवा सञ्चालक संघ नेपाल (आवोन) का अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार यस पटक हेलिकोप्टर चार्टर उडानमा करिब ६० प्रतिशतसम्म गिरावट आउने अनुमान छ । ‘वसन्तकालीन सिजनमा हेलिकोप्टर दैनिक औसत ५ घण्टासम्म उड्थे,’ उनी भन्छन्, ‘तर अहिले यो दर घटेर करिब २ घण्टामा सीमित भएको छ ।’

कैलाश हेलिकोप्टर प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका पाण्डे बढ्दो लागत र घट्दो मागबीचको दोहोरो दबाबलाई मुख्य कारण मान्छन् । उनका अनुसार इन्धनको महँगो शुल्क, वैकल्पिक हवाई मार्गको जटिलता र चर्को टिकट दरले नेपाल आउने प्राकृतिक सौन्दर्यका पारखी पर्यटकलाई नै निरुत्साहित गरिरहेको छ । नेपालका यतिखेर होटलहरू खाली नै त छैनन्, तर भरिन पनि सकेका छैनन् । कोठा तयार छन्, शय्या सजिएका छन्, सेवा दिन आतुर जनशक्ति छन् । तर पाहुना छैनन् । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नेपालसँग पर्यटकलाई स्वागत गर्न आवश्यक सबै पूर्वाधार छ । ‘पर्यटकस्तरदेखि स्टार होटलसम्म गरेर १६ हजार रुम तथा करिब २५ हजार शय्या तयार छन्,’ उनी भन्छन्, ‘त्यसबाहेक संघमा आबद्ध नभएका होटलमा थप ८० हजार शय्या छन् ।’

औसतमा पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकले नेपालमा ३ रात ४ दिन होटलमा बिताउने गर्छन् । यही हिसाबले हेर्दा, नेपाली होटल उद्योगसँग वार्षिक करिब ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता छ । तर वास्तविकता फरक छ । नेपालमा वार्षिक पर्यटक संख्या अझै १२ लाख नाघ्न सकेको छैन । सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार पर्यटक आएका थिए । यो संख्या नै हालसम्मको सबैभन्दा धेरै हो ।

शाहका अनुसार अहिलेको चुनौती केवल युद्धको प्रभाव मात्र होइन, अवसर चिन्न नसक्नु पनि हो । नेपाल पर्यटन बोर्डले इरानलगायत खाडी क्षेत्रमा देखिएको अस्थिरतापछि वैकल्पिक बजारतर्फ ध्यान दिनुपर्ने बेला गुमाएको उनी बताउँछन् । ‘पर्यटन बोर्डको स्थापना दिवसमा सीईओले यो वर्षलाई पूर्वी एसिया वर्ष भनेर घोषणा गर्नुभयो,’ शाह सम्झिन्छन्, ‘तर, त्यसपछि के भयो ? खै पूर्वी एसियाका देशमा नेपालको प्रचार ? यस्तो अप्ठ्यारो अवस्थामा विकल्पका रूपमा रोज्नुपर्ने हो तर त्यस्तो देखिएन ।’

उनको भनाइमा विदेशस्थित नेपाली नियोग र दूतावासको भूमिका यतिबेला महत्त्वपूर्ण छ । नेपाल आउने योजना बनाइसकेका पर्यटकलाई सहज रूपमा पठाउन कूटनीतिक पहल आवश्यक भएको उनी बताउँछन् ।

अहिले होटल उद्योग ‘पर्ख र हेर’ को अवस्थामा छ । धेरै बुकिङ ‘होल्ड’ मा छन् । पूर्ण रूपमा रद्द पनि भइसकेका छैनन् । अन्तर्राष्ट्रिय अभ्यासअनुसार १४ दिनअघि बुकिङ रद्द गर्दा शुल्क लाग्दैन । त्यसपछि एक रातको शुल्क लिनुपर्छ । तर यस पटक परिस्थिति फरक छ । ‘यो व्यवसाय मात्र होइन, मानवीय विषय पनि हो,’ शाह भन्छन्, ‘खाडी क्षेत्रमा भएको घटनाले उत्पन्न अवस्थालाई हेरेर हामीले रद्दमा शुल्क नलिने निर्णय गरेका छौं, बुकिङहरू होल्डमै राखेका छौं, केही रद्द पनि भइरहेका छन्, तर अझै आशावादी छौं ।’

साना हिमालतर्फको चहलपहल घट्ने संकेत देखिए पनि विश्वकै सर्वोच्च शिखर भने अझै आकर्षणको केन्द्रमै रहने अपेक्षा व्यवसायीले गरेका छन् । पर्वतारोहण सञ्चालक संघका महासचिव तथा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य ऋषि भण्डारीका अनुसार ८ हजार मिटरभन्दा अग्ला हिमाल, विशेषतः सगरमाथा, ल्होत्से, मकालुतर्फको माग अपेक्षाकृत स्थिर रहन सक्ने व्यवसायीको अनुमान छ ।

‘साना ५–६ हजार मिटर उचाइका शिखरमा असर पर्न सक्छ,’ भण्डारी भन्छन्, ‘तर ८ हजार मिटरमाथिका हिमालमा जाने विदेशी आरोही धेरै घट्ने सम्भावना कमै देखिन्छ ।’ उनका अनुसार विश्वका विभिन्न भागबाट आउने अनुभवी आरोही आफ्नो लक्ष्यप्रति प्रतिबद्ध हुने भएकाले वैकल्पिक रुट खोजेर, महँगो टिकट भए पनि नेपाल आइपुग्ने सम्भावना छ । खाडी क्षेत्रमा देखिएको अवरोधले यात्रा जटिल बनाए पनि ती आरोहीका लागि गन्तव्य परिवर्तन विकल्प होइन । अब सबैको ध्यान अप्रिलको पहिलो सातातर्फ केन्द्रित छ, किनकि त्यतिबेला हिमाल आरोहणका लागि बुकिङ तीव्र हुनेछन् । ‘त्यही बेला थाहा हुन्छ,’ भण्डारी भन्छन्, ‘यस वर्षको वसन्तयाममा आरोहण कस्तो हुनेछ भनेर ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाले इरानमा भएको हमलापछि खाडीमा देखिएको तनावले नेपालमा पर्यटक आगमनमा असर परे पनि तत्काल यस विषयमा छलफल भइनसकेको बताए । ‘इरानको तनावले नेपालको पर्यटनमा असर पर्ने देखिन्छ,’ उनी भन्छन्, ‘यो अप्ठ्यारो परिस्थितिमा के गर्ने, कसरी अघि बढ्ने भन्नेबारे सरोकारवाला निकायसँग छलफल भइसकेको छैन ।’

०००

पोखरामा ५० प्रतिशत बुकिङ रद्द

फागुन दोस्रो साताबाट घोरेपानीको पाखैभरि रंगीचंगी गुराँस फुल्छन् । कास्कीको नयाँपुलबाट वीरेठाँटी, उल्लेरी, वनठाँटी, नांगेठाँटी हुँदै घोरेपानी पुगिन्छ । पर्यटक घोरेपानीमा बास बसेर भोलिपल्ट बिहानै सूर्योदय हेर्न पुन हिल पुग्छन् । अन्नपूर्ण र धौलागिरि हिमशृंखलालाई नजिकबाट नियाल्न, सूर्योदयको अवलोकन गर्न र गुराँसे पाखाहरूको आनन्द लिन घोरेपानी–पुन हिल ट्रेक चल्तीको गन्तव्य हो । घोरेपानीबाट टाडापानी, घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदयात्रा मार्ग विदेशी पर्यटकमाझ लोकप्रिय छ ।

तर यसपालि चैत दोस्रो साता लागिसक्दासम्म यो पदयात्रा मार्गमा अमेरिकी र युरोपेली पर्यटकको संख्या न्यून छ । पश्चिम एसियामा चर्किरहेको युद्धको असर पोखरा र अन्नपूर्ण क्षेत्रमा पनि परेको छ । उच्च आगमन हुने मौसममै अमेरिकी र युरोपेली पदयात्री पर्यटकको संख्या कम छ । पदयात्री पर्यटकको संख्या कम हुँदाको प्रत्यक्ष असर यहाँका होटल तथा रेस्टुरेन्टमा परेको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार मार्चमा आउने भनेका ५० प्रतिशत विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन् । दुबई र कतार ट्रान्जिट हुँदै आउने अमेरिकी र युरोपेली पर्यटकले बुकिङ रद्द गरेका हुन् । केही युरोपेली पर्यटक भने ट्रान्जिट परिवर्तन गरेर टर्कीको इस्तानबुल हुँदै आएका छन् ।

‘अहिले दोस्रो पिक सिजन हो, तर खाडी युद्धको असरले पर्यटनमा असर परेको छ,’ उनले भने, ‘विशेषगरी ठूला समूहले बुकिङ क्यान्सिल गरेका छन् । अप्रिलमा आउने योजना बनाएका पर्यटकले पनि अहिले होल्ड गरेको स्थिति छ ।’

पश्चिम एसियामा सहज अवस्था नआउँदासम्म नेपालको पर्यटनले फड्को मार्न गाह्रो हुने उनी बताउँछन् । ‘फेक रेस्क्यु काण्डले अन्तर्राष्ट्रिय पर्यटनमा नेपालको छवि धमिलिएको छ, जेन–जी आन्दोलनले अघिल्लो सिजनमा असर पुर्‍यायो, अहिले खाडी युद्धले,’ उनी भन्छन्, ‘पर्यटनमा दीर्घकालीन असर पर्न थालेछ । पर्यटक ल्याउन सम्बन्धित निकायले योजना बनाउनुपर्छ ।’

अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न अमेरिका, अस्ट्रेलिया, युरोपका जर्मनी, फ्रान्स, अस्ट्रिया, नेदरल्यान्डलगायत मुलुकका पर्यटक धेरै आउँछन् । अहिले भने खाडी युद्धका कारण पोखरामा अमेरिकी र युरोपेलीभन्दा भारतीय, कोरियाली र जापानी पर्यटक देखिएका छन् ।

युरोपेली पर्यटकको रोजाइमा परेको पोखरा लेकसाइडको वरपीपल रिसोर्टमा यतिबेलाको ‘अक्युपेन्सी’ ८५ प्रतिशत पुग्थ्यो । तर खाडी युद्धलाई देखाउँदै पर्यटकले बुकिङ रद्द गर्दा यो रिसोर्टको ‘अक्युपेन्सी’ ५० प्रतिशतमा झरेको छ । १२–१५ जनाको ठूलो समूहमा आउने पर्यटकले मार्च महिनाको बुकिङ रद्द गरिरहेको रिसोर्टका सञ्चालक जितु गुरुङ बताउँछन् । अप्रिलका लागि भने पर्यटक ‘पर्ख र हेर’ को अवस्थामा रहेकाले बुकिङ रद्द नभइसकेको उनले सुनाए । ‘भारतसम्म आइपुगेका युरोपेली पर्यटक पनि युद्धको अनिश्चितताले नेपाल नआई त्यताबाटै आफ्नो मुलुक फर्किएको अवस्था छ,’ उनी भन्छन्, ‘अप्रिलसम्म यस्तै अवस्था रहने हो भने पोखराको पर्यटन व्यवसाय नाजुक अवस्थाबाट गुज्रिनुपर्छ ।’

नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछाने पश्चिम एसियामा भइरहेको युद्धले नेपालको पर्यटनलाई असर पुर्‍याइरहेको समयमा पूर्वी एसियाका मुलुकमा पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउँछन् । ‘थाइल्यान्ड, मलेसिया, सिंगापुर, कोरिया, जापानतिर बढी केन्द्रित गरेर नेपालले प्रवर्द्धनात्मक कार्यक्रम गर्नुपर्छ, पर्यटन बोर्डले गरिरहेको पनि छ,’ उनले भने, ‘भारतीय पर्यटकलाई पनि पदयात्रा मार्गमा पुर्‍याउने वातावरण बनाउन जरुरी छ ।’ एकै उडानबाट नेपाल आउन सक्ने मुलुकहरू तथा भियतनाम, कम्बोडिया, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत मुलुकमा पनि नेपालले प्रवर्द्धन कार्यक्रम केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully