चिम्पु खोज्न नेपाल प्रहरीको के-नाइन युनिटसमेत परिचालन गरिएको थियो । चिम्पु भेटाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणासमेत आदित्यले गरेका थिए ।
काठमाडौँ — गत फागुन २६ गतेदेखि हराइरहेको ‘चिम्पु’ नामको कुकुरको अवशेष चोभारस्थित मञ्जुश्री पार्क नजिकै फेला परेको छ ।
कुकुरका मालिक ललितपुर इमाडोल निवासी रघु आदित्यका अनुसार बुधबार बेलुका करिब ४ बजेतिर सो क्षेत्रमा कुकुरका हड्डी, पुच्छर र खुट्टा छुट्टाछुट्टै अवस्थामा भेटिएको हो । घटनास्थितिको अवस्था हेर्दा चिम्पु चितुवाको आक्रमणमा परेको हुन सक्ने उनको अनुमान छ ।
चिम्पु हराएपछि आदित्यले सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्नुका साथै पशुसेवाकर्मी र स्वयंसेवकको सहयोगमा खोजी अभियान चलाएका थिए । चिम्पु खोज्न नेपाल प्रहरीको के-नाइन युनिटसमेत परिचालन गरिएको थियो । चिम्पु भेटाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणासमेत आदित्यले गरेका थिए ।
आदित्यले चिम्पुलाई २०७२ असोजमा इमाडोल सडकबाट उद्धार गरी घरमै पाल्दै आएका थिए । चिम्पुको दुःखद अन्त्य भएको उल्लेख गर्दै उनले भने ‘यस्तो अन्त्य नहोस् भन्ने चाहना थियो, तर भएरै छोड्यो ।’
