‘चिम्पु’ हराएपछि रित्तिएको छ रघुको घर

चिम्पुसँगको उनको सम्बन्ध निकै पुरानो र भावुक छ । २०७२ सालको भूकम्पपछि उनले चिम्पुलाई सडकबाट उद्धार गरेका थिए ।

चैत्र १, २०८२

प्रकृति दाहाल

Raghu's house is empty after 'Chimpu' goes missing

What you should know

काठमाडौं —  सामाजिक सञ्जालमा केही दिनदेखि एउटा सानो कुकुर (चिम्पु)को खोजीसम्बन्धी सूचना निकै भाइरल भइरहेको छ । सूचना साधारण देखिए पनि त्यसमा लुकेको कथा भने निकै गहिरो छ ।

‘भेट्टाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार’ भन्ने उक्त सूचना पढेपछि धेरैले चासो दिइरहेका छन् । सूचनामा चिम्पुको पूरा विवरण उल्लेख छ । नाम : चिम्पु । ‘सानी खैरी केटी कुकुर’ । उमेर ११-१२ वर्ष । उसको तौल, उचाइ, शरीरको बनावटदेखि लिएर साना–साना चिनारीसम्म सूचनामा राखिएको छ । जस्तै: उसको जुंगा सेतो छ, ढाडमा नरम गिर्खाजस्तो उठेको छ, निधारमा रातो टीका र घाँटीमा पोतेजस्तो रंगीचंगी माला । 

Raghu's house is empty after 'Chimpu' goes missingयो सूचना राख्ने व्यक्ति हुन् ललितपुर इमाडोलका रघु आदित्य । उनी अंग्रेजी भाषा अनुवाद गर्छन् । उनका लागि चिम्पु सामान्य कुकुर मात्रै होइन, ११ वर्षदेखि साथ दिँदै आएको साथी हो ।

२६ फागुनमा रघु आफ्नो जग्गाको हेरचाह गर्न काठमाडौंको चोभार पुगेका थिए । राति करिब साढे ९ बजेतिर चिम्पु चोभार गेट नजिकैबाट अचानक हराइन् । त्यसपछि रघु आदित्यको दिनचर्या नै बदलिएको छ । उनी अहिले पनि चिम्पु भेटिन्छ भन्ने आशामा खोजीमै छन् । उनले भने ‘आफूले पालेको साथी अचानक हराउॅदा कस्तो हुन्छ भनेर शब्दमा भन्न सकिँदैन, अहिले मेरो दिनचर्या नै उसलाई खोज्नमा बितेको छ । ’

चिम्पु हराएपछि खोजीका लागि उनले सम्भव भएका सबै उपाय अपनाएका छन् । प्रहरीले तालिम दिएका कुकुरबाट पनि खोजी गराए, वरपरका सीसीटीभी फुटेज पनि हेरे । चोभार क्षेत्रमा कहिलेकाहीँ चितुवा देखिने भएकाले चितुवाले लग्यो कि भन्ने शंकाले जंगलमा पनि खोजे । उनले भने ‘चितुवाले लगेको भए पनि कतै न कतै हड्डी वा छाला भेटिनुपर्ने हो तर केही पनि भेटिएन ।’

ललितपुर प्रहरी प्रमुख एसएसपी होवीन्द्र बोगटीले हराएको घरपालुवा कुकुर (चिम्पु) खोज्न प्रहरीले केनाइन शाखाबाट बिहीबार तालिमप्राप्त कुकुर परिचालन गरे पनि फेला नपरेको बताए । ‘कुकुर खोज्न घरधनी र पशु अधिकारकर्मी समेतले प्रहरीमा निवेदन दिएका थिए । निवेदनपछि तालिमप्राप्त कुकुरसहित प्रहरीहरू एक दिनभर चोभारको जंगल र सम्भावित इलाकामा खटिएका थिए । यसक्रममा हाम्रा कुकुर जंगलतर्फ गए पनि पहिचान हुन सकेन,’ बोगटीले भने, ‘नभेटिपछि उक्त घरपालुवा कुकुर चितुवाले लगेको हाम्रो आशंका छ ।’ उनले हराएको मानिस जत्तिकै प्राथमिकतामा राखेर उक्त कुकुरको खोजी गरेको बताए ।

चिम्पुको खोजीमा सामाजिक सञ्जालमा सूचना राखेपछि फोन कलहरू निकै आइरहेका छन् । उनी र उनकी बैनीले तारन्तार फोन उठाइरहेका छन् । धेरै मानिसले कुकुरको फोटो भनेर पठाइरहेका छन् । तर, तीमध्ये कुनै पनि चिम्पु हुदैनन् । राम्रा–नराम्रा सबै कुकुरका फोटो आइरहे पनि अहिलेसम्म चिम्पु नभेटिएको उनले बताए । 

मानिसहरूको ध्यान जाओस् भनेर उनले ५० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका हुन् । सुरुमा २५ हजार राख्ने सोचेका थिए । तर, ठूलो पुरस्कारले ध्यान तान्छ भन्ने लागेपछि रकम बढाएको उनले बताए । यो पुरस्कार बारे धेरैले आकर्षणका लागि राखेको भन्दै आलोचना गरिरहे पनि रघुले दिने वाचा सत्य भएको बताए ।

११ वर्षअघि चिम्पुलाई रघुले सडकबाट उद्दार गरेका थिए

चिम्पुसँगको उनको सम्बन्ध निकै पुरानो र भावुक छ । २०७२ सालको भूकम्पपछि उनले चिम्पुलाई सडकबाट उद्धार गरेका थिए ।

ठ्याक्कै समय बताउन नसकेका रघुले चिम्मुलाई भूकम्प गएको ३ महिनापश्चात ललितपुर इमाडोलस्थित शिवटोल गेटमा भेट्टाएका थिए । एक युवतीले उनलाई फोन गरेर एउटा कुकुर निकै बिजोक अवस्थामा छ भनेर खबर गरेकी थिइन् । उनी त्यहाॅ पुग्दा चिम्पु ठेलागाॅडामुनि डल्लो परेर कक्रक्क परेर बसेकी थिइ । 

रघु सडकमा अलपत्र परेका कुकुरहरू उद्दार गर्दै आइरहेका थिए । त्यसकारण पनि बेवारिसे अवस्थामा कुकुर कसैले देख्दा उनलाई खबर गर्थे । उनले भने ‘छेउमा जाँदा निकै डराइन् तर काखमा लिनेबित्तिकै निदाइन् । त्यो समय निकै मायालाग्दो थियो ।’ त्यतिबेला उनी चिम्पुलाई आफैसँग राख्ने पाल्ने सोचमा थिएनन् । कसैले राम्रोसॅग पालोस् भनेर फेसबुकमा पोस्ट राखे । धेरैले पाल्ने इच्छा व्यक्त पनि गरे । केहीले त लगेर गए पनि । तर, केही दिनमै फिर्ता ल्याइदिए । 

उनले केही विकल्प नभएपछि आफूले नै राखेको बताए । त्यसपछि चिम्पु उनको जीवनको अभिन्न हिस्सा बनिन् । अविवाहित आदित्यका लागि चिम्पु साथी जस्तै बनिन् ।

चिम्पुको अभाव झेलिरहेको आदित्य भन्छन्, ‘उ आएपछि मलाई कहिल्यै पनि साथीको कमी भएन । म जहाँ जान्थे उसलाई पनि त्यहीँ लिएर जान्थेँ । चिम्पुलाई राख्नका लागि उनले साइकलमै क्यारेज बनाएका थिए । त्यहीँ राखेर हिँड्ने गर्थे ।Raghu's house is empty after 'Chimpu' goes missing

उनीहरू चितवन, दोलखा कालिञ्चोक जस्ता स्थानहरूमा सँगै रमाएका थिए ।’ चिम्पु सुरुमै बिरामी पनि भइन् । ‘इ–क्यानिस’ रोग लागेको थियो । सामान्यतया कुकुरको शरीरमा डेढ लाखजति रक्तकोषिका हुनुपर्नेमा चिम्पुको शरीरमा जम्मा ७ हजार मात्रै बाँकी रहेको चिकित्सकले बताएका थिए । त्यो अवस्थामा पनि आदित्यले उपचारमा कुनै कसर बाँकी राखेनन् । 

वर्षौंको साथपछि चिम्पु परिवारकै एक सदस्य बनिसकेकी थिइन् । रघुको चिम्पुसँग गहिरो भावनात्मक सम्बन्ध जोडिएको छ । अहिले अचानक उनी हराएपछि घर नै सुनसान भएको रघुले बताए । उनले भावुक हुँदै भने, ‘घर रित्तो भएको  छ । सँगै खेल्ने, हिड्ने साथी म सँग छैन । निन्द्रामा पनि झसङ्ग ब्यूँझिन्छु, उ कतैबाट फर्केर आउँछे कि भन्ने आशा अझै छ ।’ रघु आशावादी छन् कतै न कतै कसैले चिम्पुलाई भेट्ला र एकदिन फेरि घर फर्केर आँउछिन्, सँगै रमाउने छिन् ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully