खाडीमा तातेको युद्धले नेपालको चुलो चिसिँदै

नेपालले इन्डियन आयल कर्पोरेसनबाट खरिद गरेर पेट्रोलियम पदार्थ ल्याउँछ, भारतले ९० प्रतिशत कच्चा तेल र ६० प्रतिशत एलपी ग्यास विभिन्न मुलुकबाट आयात गर्छ, आयात हुने एलपी ग्यासमध्ये ९० प्रतिशत हर्मुज जलघाँटी हुँदै आउँछ। 

चैत्र ४, २०८२

सीमा तामाङ, अन्वेषण अधिकारी

The war in the Gulf is cooling Nepal's hearth

काठमाडौँ — करिब ३ हजार किलोमिटर टाढा खाडीमा भइरहेको युद्धको प्रत्यक्ष प्रभाव नेपालको जनजीवनमा पर्न थालेको छ । एकातिर रोजगारीमा गएका श्रमिकको सुरक्षा सरोकार बढ्दै छ भने रोजगारीका लागि उड्न तयार भएका श्रमिकको यात्रा अवरुद्ध भएको छ । यही बेला ग्यासको अभावले उपभोक्तालाई सास्ती थपिएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट सोझै खरिद गरेर ल्याउँछ । ग्यास भने निजी कम्पनीहरूले निगमबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) लिएर आईओसीका प्रशोधन केन्द्रबाट ल्याउँछन् । भारत आफैं इन्धन उत्पादक मुलुक होइन । उसले पनि अन्तैबाट खपत गरेर ल्याउँछ । भारतमा प्रशोधन गरिएपछि कच्चा तेल र ग्यास नेपाल भित्र्याइन्छ ।

स्ट्रेट अफ हर्मुज 
इरान र ओमानको बीचमा पर्ने जलघााटी हो, जो १६७ किलोमिटर लामो र ३९ किलोमिटरसम्म फराकिलो छ । तर, ३/३ किलोमिटरको रुटमा मात्र पानीजहाज ओहोरदोहोर गर्छन् । मूलतः साउदी अरब, कतार, कुवेत, यूएईको तेल ढुवानी हुन्छ । यसरी विश्व तेल बजारको करिब २२ प्रतिशत तेल यही मार्गबाट निर्यात हुन्छ ।
भारत चीन र अमेरिकापछि विश्वकै तेस्रो ठूलो कच्चा तेलको खपतकर्ता हो । पछिल्लो सरकारी आँकडाअनुसार भारतमा दिनमा झन्डै ५५ लाख ब्यारेल कच्चा तेल खपत हुन्छ । त्यहाँ नायरा इनर्जी, रिलायन्स इन्डस्ट्रिज, इन्डियन आयल कर्पोरेसन (आईओसी), भारत पेट्रोलियम कर्पोरेसन (बीपीसीएल), हिन्दुस्तान पेट्रोलियम कर्पोरेसनजस्ता सरकारी तथा निजी स्वामित्वका ठूला इन्धन कम्पनी छन् । ती कम्पनीले विभिन्न सहरमा २३ वटा प्रशोधन गृह सञ्चालन गरेका छन् । भारतले फेब्रुअरीमा ४० देशबाट तेल किनेको थियो । 

रुसबाट करिब २२, साउदी अरबबाट २०, इराकबाट १९, यूएईबाट १०, ब्राजिलबाट ६, अमेरिकाबाट ४, नाइजेरियाबाट ४ र कुवेतबाट ३ प्रतिशत हाराहारी तेल भारत आयात भएको थियो । यसले ५० प्रतिशतभन्दा धेरै कच्चा तेल पश्चिम एसियाबाट आएको देखाउँछ । पछिल्ला ६ महिनामा करिब ४५ प्रतिशतसम्म कच्चा तेल पश्चिम एसियाबाट भारत आएको थियो । खाना पकाउने एलपी ग्यासमा भने भारत कतारसँग अत्यधिक निर्भर छ । उसले कतारबाट ३०–३५ प्रतिशत हाराहारी ग्यास खरिद गर्छ ।

यूएईबाट झन्डै २५, साउदी अरबबाट १५ र कुवेतबाट १० प्रतिशत एलपी ग्यास भारत ल्याइन्छ । २८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेसँगै विश्वव्यापी रूपमा इन्धन बजारमा अवरोध उत्पन्न भएको छ । विशेष गरी, इरानले पर्सिन खाडी क्षेत्रको हर्मॅज जलघाँटी बन्द गरेसँगै मध्यपूर्वका देशबाट इन्धन बोकेका ट्यांकर बाहिरिन पाएका छैनन् । यसले दक्षिण एसियाका श्रीलंका, पाकिस्तान, बंगलादेशजस्ता देश नराम्ररी प्रभावित भएका छन् । भारतमा भने तुलनात्मक रूपमा असर कम छ ।

किनकि, सन् २०२२ मा रुस–युक्रेन युद्ध सुरु भएयता रुससँग भारतले सहुलियतमा तेल लिन थालेको थियो । रुसी तेलमा भारतको निर्भरता सन् २०२५ मा उच्च थियो । क्यानडेली तेल विश्लेषक कम्पनी केप्लरका अनुसार जुलाई २०२५ मा भारतमा झन्डै ४० प्रतिशत कच्चा तेल रुसबाट आएको थियो । दोस्रो स्थानमा इराक, तेस्रोमा साउदी अरब, चौथोमा यूएई र पाँचौंमा कुवेत थिए । अमेरिका, दक्षिण कोरिया, नाइजेरिया, एंगोला र मेक्सिकोबाट पनि थोरै कच्चा तेल भारत ल्याइएको थियो ।

ढुवानीमा अवरोध
अमेरिका र इजरायलको हमलापछि इरानले स्ट्रेट अफ हर्मुजलाई आफ्नो रणनीतिक प्रतिरक्षामा प्रयोग गरेको छ । युद्ध सुरु भएयता डेढ दर्जन जहाज इरानको निसानामा परे । र एकै दिन तीनवटासम्म जहाजमा हमला भएको छ । दिनमा सय बढी जहाज ओहोरदोहोर गर्ने यो रुट अहिले ठप्पजस्तै छ ।
अमेरिकामा दोस्रो पटक राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले ‘अमेरिकी हितविपरीत काम गर्ने’ मुलुकहरूमाथि आर्थिक प्रतिबन्ध लगाउन सुरु गरे । भारतलाई रुसी तेलमाथिको निर्भरता घटाउन वा चर्को भन्सार कर रोज्न चेतावनी दिइयो । अमेरिकामा आउने भारतीय सामग्रीमाथि ५० प्रतिशत भन्सार शुल्क बढाउने चेतावनी ट्रम्पले दिए । त्यसपछि भारतले रुसी तेलमाथि निर्भरता घटाउँदै लग्यो । २ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भयो, जसमा भारतीय सामग्रीमाथि अमेरिकी बजारमा लगाइएको भन्सार घटाउने र यसबापत भारतले रुसी तेल खरिद बन्द गर्ने सहमति भयो ।

भारतमा अमेरिकी तेलको बजार बढ्ने अपेक्षा ट्रम्पले गरेका थिए । विशेषगरी भेनेजुएलाको तेल भारतमा बिक्री हुने उनको अनुमान थियो । गत जनवरीमा भेनेजुएलामा आक्रमण गरेर तत्कालीन राष्ट्रपति निकोलास मदुरोलाई कब्जा गरेपछि ट्रम्पले त्यहाँका तेलखानीमा लगानी गर्न अमेरिकी कम्पनीलाई आग्रह गरेका थिए । भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकासँग मिलेर निकै राम्रो काम गरिरहेका ट्रम्पको दाबी छ । भारतमा गत नोभेम्बरमा करिब ३६ प्रतिशत रहेको रुसी तेलको आयात फेब्रुअरीमा २२ प्रतिशत हाराहारीमा झर्‍यो । भारतीय बजारमा साउदी अरब, इराक र यूएईबाट आयात हुने तेलको मात्रा भने उल्लेख्य बढ्यो । 

अमेरिका, कुवेत, इजिप्ट, नाइजेरिया, लिबिया, एंगोलालगायत देशबाट आउने तेलको हिस्सा पनि थोरैले बढ्यो । अमेरिका–इजरायल र इरानबीच युद्धका कारण पश्चिम एसियाको हर्मॅज जलघाँटी बन्द हुँदा कच्चा तेलको आपूर्ति प्रभावित भएको छ । युद्ध सुरु भएयता २० वटाभन्दा धेरै भारतीय इन्धन ट्यांकर हर्मॅज नजिकका बन्दरगाहमा अलपत्र छन् । भारतका लागि मात्र होइन, विश्वबजारको कुल हिस्साको झन्डै २० प्रतिशत तेल हर्मॅज हुँदै निस्कन्छ । चीनमा हुने कुल खपतको ३७.७ प्रतिशत तेल हर्मॅज हुँदै आउँछ । दक्षिण कोरिया, जापान, अमेरिका र युरोपेली मुलुकमा हर्मॅज हुँदै तेल पुग्ने गर्छ । हर्मुज जलघाँटीमा तेल आपूर्ति अवरुद्ध हुँदा भारतको निर्भरता रुसमाथि बढेको छ ।

५ मार्चमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई रुसबाट तेल किन्न छुट दिइने बताएका थिए । तर यो छुट एक महिनाका लागि मात्रै हुने भनिएको छ । रुसले ‘लोड’ गरिसकेर समुद्रमा पठाएका तेलका ट्यांकरका हकमा मात्रै यो छुट लागू हुनेछ । ‘यो संकट आउनुअघि भारतमा झन्डै ४५ प्रतिशत कच्चा तेल हर्मॅजको जलघाँटी हुँदै आउने गरेको थियो । प्रधानमन्त्री मोदीको उत्कृष्ट कूटनीतिक पहुँचका कारण भारतले हर्मॅजबाट आउनुपर्ने परिमाणसरहकै कच्चा तेल सुरक्षित गरिसकेको छ,’ पेट्रोलियम मन्त्री हर्दिप पुरीले बिहीबार संसद्मा भनेका थिए ।

यसअघि सरकारी नीतिका कारण सहुलियतको तेल नकिनेका भारतीय कम्पनीहरूले ट्रम्पको घोषणासँगै प्रिमियम मूल्य तिरेर रुसबाट कच्चा तेल मगाइरहेका छन् । त्यसैले ठूलो परिमाणमा रुसबाट तेल भारत आउँदै छ । भारतमा तत्काल कच्चा तेलको संकट नभए पनि मूल्यवृद्धि भएको छ । भारतमा झन्डै ९० प्रतिशत तेल विदेशबाट आयात हुन्छ । भारत सरकारसँग भएको रणनीतिक तेल भण्डारले १० दिन र निजी कम्पनीको भण्डारले ६५ दिन गरेर कुल ७५ दिनसम्म थेग्न सक्छ । अर्थात्, कहींकतैबाट तेल नआएको अवस्थामा ७५ दिनसम्म भारतमै भएको भण्डारणले पुग्छ । भारत सरकारले ११ मार्चमा विज्ञफ्ति जारी गर्दै त्रुड तेलको आपूर्ति सुरक्षित नै रहेको जनाएको छ ।

‘भारतको दैनिक खपत ५५ लाख ब्यारेल छ । भारतले अहिले ४० देशबाट तेल आयात गर्दै आएको छ । ७० प्रतिशतभन्दा धेरै तेल हर्मॅजको जलघाँटी बाहिरबाट आउँदै छ । जबकि पहिले ५५ प्रतिशत तेल हर्मॅज हुँदै आउँथ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘भारतका तेल प्रशोधन गृहहरूले उच्च क्षमतामा काम गरिरहेका छन् । केही प्रशोधन गृहले शतप्रतिशत क्षमता उपयोग गरिरहेका छन् ।’ तेल निर्यातकर्ता राष्ट्र (ओपेक) सदस्यमध्ये साउदी अरब, इराक, यूएई र कुवेतले ठूलो हिस्सा तेल हर्मॅज जलघाँटी हुँदै पठाउँछन् ।

विशेषगरी एसियाली भूभागमा यही बाटो हुँदै तेल आउँछ । पश्चिम एसियामा अत्यधिक निर्भर रहेका दक्षिण एसियाका अन्य देशमा भने तेलको संकट चरम छ । ८० प्रतिशत कच्चा तेल पश्चिम एसियाबाट आयात गर्ने श्रीलंकाले इन्धन जोगाउन बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारी कामकाज रोकिएपछि पेट्रोल तथा डिजेलको खपत घट्ने सरकारको अनुमान छ । पाकिस्तानले विद्यालय बन्द गरेको छ । ठूलो संख्याका सरकारी कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरिएको छ ।

विश्वविद्यालय अनलाइनबाट सञ्चालन गरिँदै छ । पाकिस्तानमा झन्डै ७० प्रतिशत तेल पश्चिम एसियाबाट आउँछ । बंगलादेशले पनि विद्यालय बन्द गरेको छ । त्यहाँ झन्डै ९० प्रतिशत तेल पश्चिम एसिया हुँदै आउँछ । थाइल्यान्डमा एयर कन्डिसनरको प्रयोग घटाउन सरकारले आधा बाहुला भएका सर्ट लगाउन जनतालाई आग्रह गरेको छ । म्यान्मारमा निजी सवारी जोर–बिजारका आधारमा चलाउने निर्णय भइसकेको छ । भारतको ‘लिक्विडिफाइड’ प्राकृतिक ग्यास (एलएनजी) खपत प्रतिदिन १८८ एमएमएससीएम (मिलियन मेट्रिक स्टान्डर्ड क्युबिक मिटर) छ । त्यसमध्ये ९७.५ एमएमएससीएम देशभित्रै उत्पादन हुन्छ । पछिल्लो समय ग्यास आपूर्ति प्रभावित भएपछि वैकल्पिक आपूतिकर्ता र रुटहरू प्रयोग गरिएको भारत सरकारले जनाएको छ । नयाँ स्रोतबाट ग्यास कम्पनीले ‘एलएनजी’ कार्गो सुरक्षित गरिरहेको भारत सरकारको भनाइ छ ।

अहिले भारतमा सबैभन्दा ठूलो समस्या एलपी ग्यासमा छ । कुल खपतको ६० प्रतिशत ग्यास भारतमा विदेशी बजारबाट आयात हुन्छ । त्यसमा पनि ९० प्रतिशतजति हर्मॅजको घाँटी हुँदै आउने हो । कतारबाट ३०–३५, यूएईबाट झन्डै २५, साउदी अरबबाट १५ र कुवेतबाट १० प्रतिशत एलपी ग्यास भारत ल्याइन्छ । भारतले अमेरिका लगायत मुलुकबाट पनि ग्यास आयात गर्छ । पश्चिम एसियाली स्रोतमा बढी निर्भरताका कारण अहिले भारतमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । होटल–रेस्टुरेन्टले सेवा बन्द गरेको सूचना निकालिरहेका छन् ।

भारतबाट कसरी नेपाल आइपुग्छ इन्धन ? नेपालमा पेट्रोलियम पदार्थ आयातको एकाधिकार नेपाल आयल निगमसँग छ । नेपालमा भारतका उत्तर प्रदेशको मथुरा, बिहारको बरौनी, पश्चिम बंगालका हल्दिया र दुर्गापुर तथा उडिसाको पारादीपस्थित प्रशोधन केन्द्रहरूबाट निजी क्षेत्रका कम्पनीहरूले ग्यास सिधै ल्याउन र बिक्रीवितरण गर्न पाउने व्यवस्था गरिएको छ । निजी कम्पनीहरूले निगममा पैसा बुझाएपछि ‘पीडीओ’ (प्रोडक्ट डेलिभरी अर्डर) पाउँछन् । त्यसपछि उनीहरूले इन्डियन आयल कर्पोरेसन (आईओसी)का प्रशोधन केन्द्रबाट ग्यास ल्याउँछन् । डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धन भने निगमले मात्रै आयात गर्दै आएको छ ।

नेपालमा आयात
नेपालले दैनिक २५ लाख लिटर पेट्रोल, करिब ५० लाख लिटर डिजेल र ४५ हजार टन खाना पकाउने ग्यास आयात गर्छ । नेपाललाई आवश्यक शतप्रतिशत पेट्रोलियम भारतबाट आयात गर्छ भने भारतले आफूलाई आवश्यक पर्नेमध्ये ८५ प्रतिशत पेट्रोलियम विदेशबाट आयात गर्छ । भारतले ५० प्रतिशत पेट्रोलियम खाडीबाट ल्याउँछ, ढुवानी गर्ने रुट मूलतः स्ट्रेट अफ हर्मुज नै हो ।
२०७६ देखि मोतिहारी–अमलेखगन्ज पाइपलाइनबाट डिजेल आयात हुँदै आएको छ । २०८१ बाट पेट्रोल र मट्टीतेलसमेत पाइपलाइनबाट आयात भइरहेको छ । कुल खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ पाइपलाइनबाट आउने गरेको निगमले जनाएको छ । अमलेखगन्ज डिपोमा २५ हजार ५ सय किलोलिटर डिजेल र १७ हजार ५ सय किलोलिटर पेट्रोलसहित ४३ हजार किलोलिटर इन्धन भण्डारण गर्न सकिन्छ । स्थानीय बिक्रीका अतिरिक्त अमलेखगन्जबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर र जनकपुर डिपोमा इन्धन पठाइन्छ । 

डिपोबाट पेट्रोल पम्पहरूले इन्धन लिने गरेका छन् । मुलुकमा दैनिक २ हजारदेखि २५ सय किलोलिटर पेट्रोल, ४५ सयदेखि ५ हजार किलोलिटर डिजेल र ६ सय किलोलिटर हवाई इन्धन खपत हुन्छ । नेपालमा पेट्रोलियम पदार्थ कारोबारका लागि सन् १९७४ मा सम्झौता भएको छ, जुन पाँच–पाँच वर्षमा नवीकरण गरिन्छ । सम्झौताले नेपाललाई आवश्यक पर्ने सम्पूर्ण पेट्रोलियम पदार्थ आपूर्तिको स्रोत मुलुक भारत र उसका तर्फबाट नेपालमा आपूर्ति गर्ने अधिकार भारतीय सरकारी स्वामित्वको आईओसीलाई प्रदान गरेको छ । नेपालमा आयात गर्ने अधिकार नेपाल आयल निगमलाई छ । 

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार आईओसीले नेपाललाई पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य हरेक १५–१५ दिनमा र एलपी ग्यास र हवाई इन्धनको मूल्य ३०–३० दिनमा पठाउने गर्छ । त्यहीअनुसार निगमले मूल्य तय गर्दै आएको छ । विश्वभर इन्धन संकट र मूल्यवृद्धि भइरहेका बेला निगमले आइतबार पेट्रोलमा प्रतिलिटर १५ र डिजेल तथा मट्टीतेलमा १०–१० रुपैयाँ बढाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ ।

आईओसीले पठाएको नयाँ दर कायम नगरी केही रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने गरी बिक्री मूल्य तोकिएको हो । यसले गर्दा १५ दिनमा ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नासाथ ढुवानी लागतसमेत बढ्छ । इन्धनमा महँगीले उत्पादन लागतसमेत वृद्धि हुँदा सर्वसाधारणको भान्सामा असर पर्ने गरेको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिका कारण आगामी दिनमा तरकारी तथा स्वदेशी खाद्यान्नसमेत महँगिने जानकारहरू बताउँछन् ।

पश्चिम एसियाको युद्ध तत्काल नरोकिए उपभोक्ता मूल्य कम्तीमा ९ प्रतिशतसम्म बढ्न सक्ने अर्थविद् केशव आचार्यले अनुमान गरेका छन् । सोमबार कान्तिपुरसँगको कुराकानीमा उनको भनाइ थियो, ‘विश्व बजारमा रासायनिक मल पनि कुल उत्पादनको एकतिहाइ खाडीमा उत्पादन हुन्छ । त्यसैले रासायनिक मलको मूल्य पनि अकासिन्छ । यसले नेपाली भान्सादेखि उत्पादनसम्म महँगीको असर पर्छ ।’ 

अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार तेलको मूल्य प्रतिब्यारेल १० डलर बढ्दा विश्व अर्थतन्त्र ०.१५ प्रतिशतले घट्छ र महँगी ०.४ चार प्रतिशत विन्दुले बढ्छ । तेलको मूल्य प्रतिब्यारेल एक सय डलर माथि गयो भने विश्वभर नै महँगी १.२ प्रतिशत विन्दुले बढ्छ भने अर्थतन्त्र ०.४ प्रतिशतले घट्छ । 

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

अन्वेषण

Link copied successfully