संकेत चिह्न र संरक्षणमा स्थानीय समुदायलाई जोड्न सके पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विज्ञको सुझाव
पाल्पा — पाल्पाको १ हजार १ सय १० मिटर उचाइमा पाटे बाघ क्यामरा ट्रयापिङमा परेको छ । तिनाउ र माथागढी गाउँपालिकाका विभिन्न स्थानमा जडान गरेको क्यामेरा ट्रयापिङमा पाटे बाघ देखिएको हो ।
त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हरिप्रसाद शर्माको विज्ञ समूहले जडान गरेका क्यामेरामा ५ स्थानमा पाटे बाघ ट्रयापिङमा देखिएको हो ।
शर्माका अनुसार फेब्रुअरी १६ को बिहान ६:०८ बजे र फेब्रुअरी १५ राति ११:५० बजे माथागढीमा बाघ देखिएका हुन् । शर्माले ३ ठाउँमा ३ वटा बाघ देखिएको बताए । उनले भने,'हामीले सबै क्यामेराको डेटा अध्ययन गरिसकेका छैनौँ । जम्मा ४४ वटा क्यामेरा राखिएको हो । अहिले ३ वटा क्यामेरामा बाघ डिटेक्ट गरिएको छ ।'
‘तराईमा मात्र होइन, मध्य पहाडी भेगमा पनि पाटे बाघ क्यामेरा ट्रयापिङमा कैद भएको छ,’ शर्माले भने, ‘बाघको उपस्थिति तराई क्षेत्रभन्दा माथि मध्यम पहाडी क्षेत्रमा समेत फैलिरहेको संकेत हो ।’ यसअघि पाल्पाकै तिनाउ गाउँपालिका-२, दोभानको हरियाली गाउँमा पनि पाटे बाघ क्यामेरा ट्रयापिङमा भेटिएको थियो ।
विज्ञ शर्माका अनुसार यसअघि डडेलधुरा र इलाम जिल्लामा पनि १ हजार मिटरमाथि पाटे बाघको अभिलेख गरिएको छ । उनका अनुसार रुपन्देही, अर्घाखाँची, कपिलवस्तुमा पनि क्यामेरा जडान गरिएको छ । तराईसँग जोडिएको अर्घाखाँचीमा पनि पाटे बाघ क्यामेरा ट्रयापिङमा परेको उनले बताए । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाल्पाका ४४ स्थानमा क्यामेरा जडान गरिएको हो । अर्घाखाँचीका ५० स्थानमासमेत क्यामेरा जडान गरिएको उनले बताए ।
क्यामेरा २१ दिनसम्म राखिएको हो । पाल्पाका तराईसम्म जोडिएका पालिकाका सामुदायिक वनको जंगल क्षेत्रमा क्यामेरा जडान गरिएको शर्माले बताए । आठ जना जनशक्ति परिचालन गरिएको क्यामेरा अहिले निकालिसकिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, डिभिजन वन कार्यालय, सब-डिभिजन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा क्यामेरा जडान गरेको उनले बताए । ‘मध्य पहाडका विभिन्न भू-भागमा बाघको सम्भावित विस्तार देखाउँछ,’ उनले भने, ‘वन्यजन्तु संरक्षणका लागि यस्ता तथ्यहरू अत्यन्त महत्त्वपूर्ण छन् भन्ने हो ।’
सबै क्यामेरा हेर्न बाँकी रहेकाले अन्य स्थानमा पनि देखिन सक्ने शर्माले बताए । तराईसंग जोडिएका सीमा क्षेत्रमा यसअघि पनि बाघको मुभमेन्ट पहिले देखिनै फाट्टफुट्ट रुपमा देखिदै आएको माथागगढी गाउँपालिकाका पूर्वअध्यक्ष तथा रहवासका बासिन्दा सन्तोष थापाले बताए । ‘कहिलेकाही पाटे बाघ देखिएको भन्ने सुनिन्थ्यो,’ उनले भने, ‘विस्तृत अध्ययन नहुँदा बाघको अवस्थाबारे जानकारी थिएन । अहिलेको अध्ययनले यस क्षेत्रमा पाटे बाघ रहेको पुष्टि गरेको छ ।’
स्थानीय तहले पाटे बाघको संरक्षण गर्न ठाउँठाउँमा संकेत चिह्न राख्ने, सचेतनामुलक होर्डिङ बोर्ड राख्ने कार्य गर्नुपर्ने उनको सुझाव छ । तराईसँग जोडिएका जंगलक्षेत्र घना रहेको र त्यस क्षेत्रमा बाघको बाटो पर्ने भन्ने सुनिएको भए पनि यसले क्षति भने नपुर्याएको उनले बताए । पाटे बाघको अभिलेख भएता पनि त्यसको कारण हालसम्म कुनै हानि नोक्सानीको जानकारी भने छैन । गतवर्ष निस्दी गाउँपालिकाको ज्यामिरे क्षेत्रमा पनि पाटे बाघ देखिएको सब–डिभिजन कार्यालय निस्दीका प्रमुख नन्दप्रसाद अधिकारीले बताए ।
माथागढी–६, गोठादीका अमर रानाका अनुसार चितुवाले गरेका केहि क्षेत्रमा क्षति गरेको छ । पछिल्ला वर्षहरुमा नेपालमा बाघको संख्या वृद्धि भएसँगै स्थायी बसोबासका लागि नयाँ बासस्थान खोज्न थालेको विज्ञहरुले बताएका छन् । एउटा क्षेत्रमा एउटामात्रै बाघ बस्ने र संख्या बढ्दा अर्को वयस्क बाघ आफ्नो बासस्थानको खोजीमा हिँड्ने गरेकाले पनि मध्य पहाडी क्षेत्रका घना जंगलमा पाटे बाघ देखिएको डिभिजन वन कार्यालय पाल्पाका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले बताए । त्यसैले पनि बाघको आहोरदोहोर भएको मान्न सकिन्छ ।
पछिल्लो समयमा जंगली वन्यजन्तुको सम्भावित आक्रमणबाट जोगिन/जोगाउन स्थानीय समुदायले आ-आफ्नै स्थानबाट विभिन्न प्रयास गर्दै आएको उनले बताए । ‘नमुनाका रूपमा गरिएको क्यामेरा ट्रयापमा देखिएको छ,’ उनले भने, ‘बाघका लागि ५० स्वायर मिटर क्षेत्र चाहिन्छ भन्ने छ । त्यसैले घना जंगल क्षेत्रमा देखिएको छ ।’ जलवायु परिवर्तनको कारण पनि यसरी बाघको हिँडडुल क्षेत्र विस्तार भएको हुनसक्ने उनले बताए । संख्या बढ्दै जाँदा पनि बासस्थान परिवर्तन हुन सक्ने उनले बताए ।
