झापादेखि बालुवाटार : मोहनप्रसादका उतारचढावपूर्ण ९५ वर्ष

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसादले जीवनको उत्तरार्धमा अप्रत्याशित पीडा बेहोरे । छोरासँगै हेलिकोप्टर चढेर उनी सेनाको संरक्षणमा रहनुपर्‍यो ।

फाल्गुन २९, २०८२

पर्वत पोर्तेल

From Jhapa to Baluwatar: Mohan Prasad's 95 years of ups and downs

What you should know

झापा — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । लामो समयदेखि प्रोस्टेटसम्बन्धी समस्याबाट पीडित उनको स्वास्थ्य केही दिनयता थप जटिल बनेपछि भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पताल भर्ना गरिएको थियो । 

उनी १९८७ मंसिर २ गते तेह्रथुमको इवामा जन्मिएका हुन् । गाउँमा धनपति संग्रौलाले स्कुल खोलेका थिए । उनी भागेर पढ्न जान्थे । उनका दाजुहरु भने स्कुल गएको मन पराउँदैनथे । 

भागेर स्कुल गएको देखेपछि आमाले छोराले पढ्न रहर गर्‍यो भनेर स्कुल भर्ना गरिदिइन् । त्यसबापत शिक्षकलाई महिलामा एक पाथी चालम दिनुपर्थ्यो । हिउँदका तीन महिला स्कुल लाग्थ्यो । तीनै महिना मोहनप्रसादले पढे । स्कुलमा उनी शिक्षकलाई कविता सुनाइदिन्थे । बाल्यकालमा रचित धेरै कविता र 'सिलोक' उनलाई जीवनको उत्तरार्धमा पनि कण्ठ थियो । 

१४ वर्षको उमेमार २००१ सालमा उनले बिहे गरे । २००८ सालमा जेठो छोरा जन्मिए, खड्गप्रसाद (केपी) । सानै उमेरमा केपीले आमा गुमाएका थिए भने मोहनप्रसादले दरिलो साथ । बाल्यकालमै मातृ स्नेहबाट वञ्चित केपीले जीवनको उत्तरार्धमा बुबाको भरोसा पनि गुमाएका छन् । 

श्रीमतीको निधनपछि मोहनप्रसादले दोस्रो विवाह गरे पहाडमै । दोस्रो श्रीमतीबाट एक छोरा र तीन छोरी जन्मिए । आमाको निधनपछि केपीलाई हजुरआमा राममायाले पालनपोषण गरेकी थिइन् । 

२०२३ सालताका मोहनप्रसाद झापा बसाइँ झरे । त्यो बेला झापामा औलोको महामारी थियो । सुरुमा उनी शरणामतिमा बस्न थाले । खेती किसानी गर्दै थिए । २०३१ सालतिर बिरिङ खोलाको बाढीले घरखेत बगाएपछि मोहनप्रसादले कठिन परिस्थितिको सामना गर्नुपर्‍यो । त्यसबेला उनी छिमेकीकहाँ आश्रित हुनुपरेको थियो । त्यही समय छोरा केपी ‘झापा विद्रोह’मा सक्रिय थिए र पक्राउ परेको खबरले उनलाई दोहोरो पीडामा पारेको थियो । 

२०३२/०३३ सालतिर सरकारले बाढीपीडितलाई पृथ्वीनगर क्षेत्रमा पुनर्वास गरायो । बाढीपीडित मोहनप्रसाद जमिन पाउने आसमा पृथ्वीनगर पुगे । तर, तत्कालीन पञ्चायती सरकारले उनी केपीका बुबा भन्ने थाहा पाएपछि जमिनबाट वञ्चित गर्‍यो । अन्ततः लामो समय छिमेकीको घरमा आश्रित भए । पछि थोरै घरेडी किनेर सानो घर बनाए । त्यो पनि केपी गृहमन्त्री भएताका आगलागीमा जल्यो । 

झापाको ग्रामीण परिवेशमा लामो समय बिताएका उनको जीवन साधारण, मेहनती र अनुभवले भरिएको थियो । धेरै वर्ष उनले किसानको रुपमा झापामै बसेर पारिवारिक जिम्मेवारी सम्हाल्दै आए । २०७२ सालभन्दा अघि मोहनप्रसाद काठमाडौं खासै आउजाउ गर्दैनथे । 

तर, छोरा पहिलोपटक प्रधानमन्त्री बनेपछि झापाबाट काठमाडौं उक्लिए । त्यसअघि झापा पृथ्वीनगरको घरमा कान्छा छोरा जेपीसँग बस्थे । चारपटक प्रधानमन्त्री भएका ओलीसँग चारैपटक उनी बालुवाटारमा बसे । अरु बेला कहिले झापा बस्थे त कहिले बालकोट । 

गाउँ, आफन्त, नातागोता र छरछिमेकीको सम्झना भने उनलाई सधैं आइरहन्थ्यो ।  गाउँघरको सम्बन्धलाई उनले जीवनभर महत्व दिए । ७ वर्ष अघि ‘एभरेस्ट नेपाल’ नामक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा उनले काठमाडौंमा बस्न मन नलाग्ने बताएका थिए । ‘घरबाट तल ओर्लियो पुलिस कुदेर हाइहाल्ने, यसो कतै घुम्न निस्कूँ भन्यो पुलिस पछि लागिहाल्ने,’ उनले भनेका थिए,‘साह्रै नमज्जा लाग्थ्यो, काठमाडौं चै जान नपाए नि हुन्थ्यो जस्तो लाग्थ्यो ।’ 

स्वभावतः मोहनप्रसाद वाचाल, वाकपटु र ठट्यौली पाराका थिए । उनी चल्तीका उखान–टुक्का प्रयोग गर्दै चुट्किलो शैलीमा जवाफ दिने गर्थे । बाबुको यस्तो स्वभाव केपीमा पनि देखिन्छ ।

ज्योतिष विद्याप्रति पनि मोहनप्रसादको गहिरो विश्वास थियो । झारफुक र पुरेत्याइँ गर्न पनि भ्याउँथे । ‘अरु पुरेतलाई टपरैटपरा चाहिन्छ मलाई केही चाहिन्नँ,’ उनले त्यो अन्तर्वार्तामा हस्यौली गरेका थिए । ग्रह–नक्षत्रको अवस्था हेरेर कुण्डलीबारे सामान्य व्याख्या गरिदिने गर्थे । यिनले किराले खाएको दाँतको दुखाइ, पिनासको दुखाइ झारफुकबाटै निको पार्ने दावी गर्थे । तर, वृद्धावस्थासँगै उनले यी कामहरू क्रमशः छाड्दै गएका थिए । 

छोराले राजनीति सुरु गर्दा सुरुमा उनलाई त्यति मन परेन । पछि देशभर चिनिने नेता बनेपछि उनले छोराको राजनीतिक यात्रामा हस्तक्षेप नगर्ने निर्णय गरेका थिए । केपी सानामा अन्याय अत्याचार सहन सक्दैनथे । धनी र गरिबबीचको विभेद अन्त्य गरिनुपर्ने उनको मनसाय थियो । त्यही भएर उनी कम्युनिस्ट बनेको मोहनप्रसादले भनेका छन् । छोरा प्रधानमन्त्री बनेपछि भने देशमा गरिब र धनीबीचको खाडल घट्ने आशा उनको थियो ।

जीवनका धेरै उतारचढाव बेहोरेका मोहनप्रसादले जीवनको उत्तरार्धमा अप्रत्याशित पीडा सामना गर्नुपर्‍यो । भदौ २३ र २४ मा भएको ‘जेन-जी आन्दोलन’ का बेला उनी छोरासँगै बालुवाटारमा थिए । आन्दोलन हिंसात्मक बनेपछि भएको आगजनी र तोडफोडबीच भदौ २४ मा उनी छोरा केपीसँगै हेलिकोप्टर चढेर उनी सेनाको संरक्षणमा बसे । 

आन्दोलनयता भने मोहनप्रसाद गठ्ठाघरस्थित माइली छोरी कौशिला कोइरालाको घरमा बस्दै आएका थिए । माइला ज्वाइँ यामनाथ कोइरालाका अनुसार आन्दोलनको तीन दिनपछि नेपाली सेनाले ल्याइदिएको थियो । ‘त्यसयता बुबा हामीसँगै हुनुहुन्थ्यो,’ कोइरालाले भने । बालकोट र झापाको घर जलाइदिएपछि वृद्ध मोहनप्रसाद फेरि एकपटक सुकुम्बासीझैं बनेका थिए ।

सरल जीवन र अनुभवबाट निस्किएको जीवनदर्शन र स्पष्ट विचारका कारण मोहनप्रसादलाई आफन्त र कुलकुटुम्बले सधैं सम्झिइरहनेछन् । हँसिला, रसिला र मिजासिला उनी परिवार र आफन्तलाई  अनेक अनुभवले भरिएका सम्झना छाडेर सदाका लागि अस्ताएका छन् । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully