कहाँ–कहाँ खस्कियो पुराना दलको जनाधार ?

कांग्रेसले हरेक प्रदेशमा कम्तीमा एक सिट जिते पनि एमाले मधेश, बागमती र गण्डकीमा र नेकपाले कोशी, गण्डकी र सुदूरपश्चिममा एक सिट पनि जितेनन्

फाल्गुन २७, २०८२

कुलचन्द्र न्यौपाने, गंगा बीसी

Where has the support base of the old parties declined?

What you should know

काठमाडौँ — पुराना दल कांग्रेस, एमाले र नेकपाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा परम्परागत वर्चस्व रहेका निर्वाचन क्षेत्रहरू गुमाएका छन् । कांग्रेसले हरेक प्रदेशमा कम्तीमा एक सिट जिते पनि एमाले र नेकपाले तीन–तीन प्रदेशमा एक सिट पनि जितेनन् । 

५० लाखभन्दा बढी मतदाता र ३२ निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशलाई कुनै बेला कांग्रेसको मुख्य आधार इलाका मानिन्थ्यो । २०६२/०६३ को जनआन्दोलनपछि मधेशको जनमत तत्कालीन माओवादी, मधेशकेन्द्रित दलहरूलाई बाँडियो । यस पटक रास्वपाले मधेशबाट ३० सिट जित्दा मधेशकेन्द्रित दलहरू शून्य भए । कांग्रेस र नेकपाले एक–एक क्षेत्र जिते । एमालेले मधेश प्रदेशमा एउटै सिट जितेन । 

२०७९ को निर्वाचनमा एमाले ९ सिट जित्दै मधेशमा पहिलो दल बनेको थियो, ७ सिट जितेर कांग्रेस दोस्रो स्थानमा थियो । यस पटक कांग्रेसबाट फिरदोस आलम (रौतहट–२) मात्र विजयी भए । काठमाडौं–४ बाट लगातार तीन चुनाव जितेका कांग्रेस सभापति गगन थापाले यस पटक सर्लाही–४ मा उम्मेदवारी दिएका थिए । उनी रास्वपाका अमरेशकुमार सिंहबाट पराजित हुन पुगे । धनुषा–१ बाट मातृका यादव विजयी भएपछि नेकपा मधेशमा शून्य हुनबाट जोगियो । 

पुराना दलहरूले समानुपातिकमा पनि धेरै मत गुमाएका छन् । २०७९ को निर्वाचनमा मधेशमा प्रत्यक्षतर्फ एमाले पहिलो भए पनि समानुपातिक मतमा कांग्रेस पहिलो थियो, दोस्रो एमाले थियो । अहिले रास्वपा र अरू दलको समानुपातिक मतको अन्तर धेरै ठूलो छ । 

गणना अन्तिमतिर पुग्दा मधेश प्रदेशमा रास्वपाले १२ लाख ६० हजार ९ सय ५९ मत पाएको छ, दोस्रो भएको कांग्रेसको समानुपातिक मत २ लाख ८१ हजार ६ सय ९६ छ । एमालेको १ लाख ८३ हजार ५ सय ४४, मधेशकेन्द्रित दल जसपा नेपालको १ लाख २९ हजार ८ सय ८६, नेकपाको १ लाख ४ हजार २ सय ८६ र जनमतको ५० हजार २ सय ९ मत छ । 

२०६२/०६३ को जनआन्दोलनपछि मधेशकै मुद्दा उठाएर उदाएका मधेशकेन्द्रित दलले प्रत्यक्षमा कुनै प्रदेशबाट पनि एक सिट जितेनन् । समानुपातिकमा तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पनि कटाउन नसक्दा यस पटक प्रतिनिधिसभामा उनीहरूको उपस्थिति नै शून्य हुने भएको छ । समानुपातिकमा मधेशकेन्द्रित दलमध्ये सबैभन्दा बढी जसपा नेपालको छ । समानुपातिक मतगणना अन्तिमतिर पुग्दा जसपा नेपालले देशभरबाट १ लाख ७४ हजार मत मात्रै पाएको छ । तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले मात्रै कटाएका छन् । 

राजनीतिक विश्लेषक तुलानारायण साहका अनुसार काठमाडौंमा मेयर हुँदा बनाएको छवि, जेन–जी विद्रोहको प्रभाव र मधेशी मूलको व्यक्ति प्रधानमन्त्री हुने भन्ने विषयले यस पटक मधेशभर नै बालेन्द्र शाहका पक्षमा लहर छाएको बताउँछन् । ‘काठमाडौंको मेयरका रूपमा कति राम्रो गरे, कति गरेनन्, त्यो बेग्लै छ तर आम नागरिकमा उनले भ्रष्टाचार गर्दैनन्, डराउँदैनन् । दुर्गम ठाउँमा विद्यार्थीलाई छात्रवृत्ति दिएका छन् भन्ने परेको छ । त्यसमा जेन–जी विद्रोहको लिगेसीले पनि काम गर्‍यो,’ उनी भन्छन्, ‘मधेशी जनताले आफ्नै समुदायको व्यक्ति प्रधानमन्त्री हुँदै छन् भनेर पनि दिए । मधेशमा रास्वपाको भन्दा पनि बालेन्द्र शाहको लहर आएको हो । यसले अरू दललाई पाखा लगायो ।’ 

कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार पहिलोपल्ट मधेशी मूलको व्यक्ति प्रधानमन्त्री हुँदै छ भन्ने सन्देशले ठूलो प्रभाव पारेको बताउँछन् । उनी आफैं रास्वपाका मनीष झासँग धुनषा–३ बाट पराजित भएका छन् । 

‘कांग्रेस र एमालेले मधेशीलाई अगाडि बढाएनन् । रास्वपाले मधेशीलाई प्रधानमन्त्री बनाउन खोज्यो भन्ने सन्देशले मधेशको भूभाग र पूरै देशको ध्यान तान्यो,’ निधि भन्छन्, ‘बूढापाकाको मत हामीतिर आयो । तर, देश बाहिर भएका र कलेज पढ्ने युवाले टोलिफोन गरेर घरपरिवारमा घण्टीमा भोट हाल्न लगाए । यहाँ हुने युवाले अरू दललाई भोट दिएनन् ।’ 

प्राध्यापक विजयकान्त कर्ण लामो समयदेखिको शासकीय बेथितिले आम नागरिक निराश भइरहेका बेला बालेन्द्र शाह प्रवेश गरेपछि कांग्रेस, एमाले, नेकपा र मधेशकेन्द्रित दलहरू आधारभूमिमा कमजोर बन्न पुगेको बताउँछन् । ‘भ्रष्टाचार, अक्षमता, राज्यकोष दुरुपयोग, राज्यका निकाय र संस्थाहरूमा अति दलीयकरण र सत्ताको म्युजिकल चेयरले आम नागरिकमा निराशा बढाएको थियो । कांग्रेस, एमाले र तत्कालीन माओवादी मात्रै होइन, मधेश आन्दोलनपछि उदाएका मधेशकेन्द्रित दलहरू पनि सत्ताका गोटी भए,’ उनी भन्छन्, ‘मधेशको अधिकारका लागि बाहिर बसेर लड्ने म्यान्डेट मधेशकेन्द्रित दलहरूलाई थियो तर उनीहरूले सत्ताका लागि पार्टी विभाजनलगायतका कुकर्म गरे ।’

अधिकारका लागि लड्दा मधेशी नागरिकले विगतमा पनि सबैलाई पुरस्कृत गरेको कर्ण बताउँछन् । ‘बीपी कोइरालालाई गरेकै हुन् । कांग्रेसलाई धेरै चोटि गरे तर कांग्रेसले विश्वास टिकाउन सकेन । २०६४ सालमा माओवादीलाई सहयोग गरे, मधेश आन्दोलनपछि मधेशकेन्द्रित दललाई गरे । तर कसैले पनि त्यसको सन्देशलाई बुझ्न सकेनन् ।’ 

यस पटकको निर्वाचनमा मधेशका घरघरमा ‘मधेशको छोरा प्रधानमन्त्री बन्दै छ’ भन्ने लहर चलेको बताउँछन् । ‘बालेनलाई मधेशमा मात्रै होइन, जहाँ जाँदा पनि भव्य स्वागत भयो । मधेश, पहाड र हिमालबीचको खाडललाई कम गराउँछन् कि भनेर पनि उनलाई मत दिएको देखिन्छ,’ उनी भन्छन् । 

जेन–जी विद्रोहको स्वामित्व लिन नखोज्दा मधेशकेन्द्रित दलहरू मधेशमै शून्यमा झरेको प्राध्यापक कर्णको विश्लेषण छ । ‘जेन–जी विद्रोह काठमाडौंमा मात्रै भएको हो, हामीलाई केही भएको छैन भन्ने व्यवहार मधेशकेन्द्रित दलहरूले गरे, जुन मधेशी जनताले मन पराएनन्,’ उनले थपे । 

एमाले मधेश प्रदेशमा मात्रै होइन, बागमती र गण्डकी प्रदेशमा पनि यस पटक प्रतिनिधिविहीन छ । बागमतीमा ३३ र गण्डकीमा १८ निर्वाचन क्षेत्र छन् । २०७९ को निर्वाचनमा एमालेले बागमतीबाट १४ र गण्डकीबाट ८ सिट जितेको थियो । २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी र १२ क्षेत्र रहेको कर्णालीमा एमाले एक–एक क्षेत्रमा विजयी भएको छ । लुम्बिनीबाट प्रदेशअन्तर्गत बाँके–२ बाट मोहम्मद इस्तियाक राई र कर्णाली प्रदेशअन्तर्गत दार्चुलाबाट एमालेका गणेशसिंह ठकुन्नाले जितेका छन् । एमालेबाट कोशीमा चार र सुदूरपश्चिमबाट तीन जना निर्वाचित भएका छन् । कोशीमा क्षितिज थेबे (ताप्लेजुङ–१), सुहाङ नेम्वाङ (इलाम–२), राजेन्द्रकुमार राई (धनकुटा–१) र अर्जुनकुमार कार्की (संखुवासभा–१) ले चुनाव जितेका छन् । सुदूरपश्चिमबाट लक्ष्मीप्रसाद पोखरेल (दैलेख–२), ऐनबहादुर महर (बझाङ–१) र यज्ञबहादुर बोगटी (अछाम–२) विजयी भएका छन् । 

कांग्रेसबाट कर्णालीमा पाँच, कोशीमा चार, सुदूरपश्चिममा तीन, लुम्बिनी र गण्डकीमा दुई–दुई तथा मधेश र बागमतीमा एक–एक जना निर्वाचित भएका छन् । कांग्रेसले ०७९ को निर्वाचनमा कोशीमा ९, मधेशमा ७, बागमतीमा १३, गण्डकीमा १० (उपनिर्वाचनमा एक गुमाएको), लुम्बिनीमा ६, कर्णालीमा ४ र सुदूरपश्चिममा ८ सिट जितेको थियो । सुदूरपश्चिमको डडेलधुराबाट ०४८ देखि कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले चुनाव जित्दै आएका थिए । यस पटक देउवाले टिकट नपाएपछि डडेलधुरामा कांग्रेसबाट नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर उम्मेदवार थिए तर उनी पराजित भए । देउवा भोट माग्न सुदूरपश्चिम पुगेनन्, मत पनि हालेनन् ।

०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ तत्कालीन माओवादीले १८ र एकीकृत समाजवादीले १० सिट जितेका थिए । ती दुईलगायतको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले यस पटकको निर्वाचनमा आठ सिट मात्रै जितेको छ । यस पटक नेकपाबाट धनुषा–१ मा मातृकाप्रसाद यादव, सिन्धुपाल्चोक–१ मा युवराज दुलाल, रोल्पामा वर्षमान पुन, रुकुम पूर्वमा पुष्पकमल दाहाल, रुकुम पश्चिममा गोपाल शर्मा, सल्यानमा रमेशकुमार मल्ल, डोल्पामा धनबहादुर बुढा र कालिकोटमा महेन्द्रबहादुर शाही विजयी भए । 

नेकपाले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट एक सिट पनि जितेन । ०७९ मा कोशीबाट तत्कालीन माओवादी मोरङ–४ (अमनलाल मोदी), भोजपुर (सुदन किराती) र खोटाङ (रामकुमार राई) मा विजयी भएको थियो । तत्कालीन एकीकृत समाजवादीको सिट कोशीमा शून्य थियो । 

०७९ मा बागमतीबाट तत्कालीन माओवादीका पाँच र एकीकृत समाजवादीका एक जनाले चुनाव जितेका थिए । यस्तै गण्डकीबाट तत्कालीन माओवादीका दुई जना विजयी भएका थिए । कर्णालीबाट तत्कालीन माओवादीका चार र एकीकृत समाजवादीका दुई जना विजयी भएका थिए । लुम्बिनीमा तत्कालीन माओवादीका चार र एकीकृत समाजवादीको एक सिट थियो । यस्तै, सुदूरपश्चिममा तत्कालीन एकीकृत समाजवादीबाट एक जनाले चुनाव जितेका थिए । 

कांग्रेस, एमाले र नेकपाको समानुपातिक मत पनि उल्लेख्य घटेको छ । ०७९ मा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत (करिब २७ प्रतिशत) पाएको थियो । तर यस पटक कुल १ करोड ६ लाख २२ हजार ६ सय ७९ मत गन्दा एमालेले १४ लाख ८९ हजार ४ सय ३५ मत (१३ प्रतिशत) ल्याएको छ । कांग्रेसले १६ प्रतिशत हाराहारी अर्थात् १७ लाख २६ हजार ८ सय ६३ मत ल्याएको छ । अघिल्लो निर्वाचनमा उसको मत २७ लाख १५ हजार २ सय २५ (करिब २६ प्रतिशत थियो । नेकपाले यसपालि ७ प्रतिशत हाराहारी अर्थात् ७ लाख ८९ हजार ४ सय ३५ मत ल्याएको छ । ०७९ मा तत्कालीन माओवादीले ११ लाख ७५ हजार ६ सय ८४ मत (करिब ११ प्रतिशत) र एकीकृत समाजवादीले २ लाख ९८ हजार ३ सय ९१ मत (२.८३ प्रतिशत) पाएका थिए । यसपालि रास्वपाले समानुपातिक मत ५१ लाख कटाएको छ । 

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

गंगा

Link copied successfully