जेन–जी विद्रोह हुँदाका सत्ता साझेदार दलका शीर्ष नेताहरू चुनावमा पराजित, पार्टी नेता–कार्यकर्ताले नै नेतृत्वमाथि प्रश्न उठाउन थाले
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन परिणामले परम्परागत राजनीतिक दलहरूको शक्ति खुम्च्याइदिएको छ ।
वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपा बहुमतनजिक पुग्दा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिलेसम्मकै कमजोर परिणाम हात पारेका छन् । निर्वाचन परिणामलाई लिएर पुराना दुई दल कांग्रेस र एमालेमा आन्तरिक शक्ति संघर्ष सुरु हुने संकेत देखिन थालेको छ ।
जेन–जी विद्रोह हुँदाका सत्ता साझेदार दल कांग्रेस र एमालेका शीर्ष नेताहरू चुनावमा पराजित भएका छन् । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका छन् ।
महासचिव शंकर पोखरेलसहितका अन्य अधिकांश पदाधिकारीले चुनाव जित्न सकेनन् । कांग्रेसका पनि सभापति गगन थापा, महामन्त्रीद्वय गुरुराज घिमिरे, प्रदीप पौडेलसहितका शीर्ष नेताहरू पराजित भएका छन् ।
एमालेमा नेता–कार्यकर्ताले निर्वाचन परिणामको जिम्मेवार अध्यक्ष ओली रहेको भन्दै प्रश्न गर्न थालेका छन् । ओली आफैंले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।
उनले निर्वाचनको हार र जितलाई भन्दा पनि २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनलाई लिएर सरोकार राखिरहेको निकटस्थ नेताहरू बताउँछन् ।
२३ भदौको जेन–जी आन्दोलनमा २२ जनाको हत्या भएको विषयलाई लिएर आयोगले आफूलाई दोषी ठहर गर्न सक्ने ओलीको संशय छ । आयोगले जिम्मेवार ठहर गरे आफू पक्राउ पर्न सक्ने भय पनि उनमा छ ।
‘रास्वपाले चुनावमा भेलसरी विजय हासिल गर्यो, एमाले सानो आकारमा खुम्चियो । यसको फाइदा उठाएर एमालेलाई घेराबन्दी गर्न सक्ने चिन्ता अध्यक्ष ओलीमा छ,’ उनको सचिवालयका एक सदस्यले भने ।
कांग्रेस सभापति थापा इतिहासकै सबैभन्दा गम्भीर मोडमा छन् । विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्व बदले पनि निर्वाचन परिणाम अनुकूल नआएपछि उनीमाथि पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूले प्रश्न गर्न थालेका छन् । सभापति थापा आफैं सर्लाही–४ मा पराजयउन्मुख छन् ।
२०६४ मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका र त्यसयता काठमाडौं–४ बाट लगातार तीन चुनाव जितेका थापा देशलाई जोड्ने र राष्ट्रिय नेता बन्ने लक्ष्य बोकेर सर्लाही पुगेका थिए ।
आधाभन्दा बढी मतगणना भइसक्दा थापा रास्वपाका अमरेशकुमार सिंहसँग ७ हजारभन्दा बढी मतले पछाडि छन् । निर्वाचन परिणामलाई लिएर सभापति थापाको कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन ।
विशेष महाधिवेशनपछि नीति र नेतृत्व बदलेको सन्देश बोकेर कांग्रेस निर्वाचनमा होमिएको थियो । तर त्यसले मतदातालाई प्रभाव पार्न सकेन । अन्तिम नतिजा आइनसक्दै पूर्वसभापति देउवा पक्षका कतिपय नेताले सामाजिक सञ्जालमार्फत विशेष महाधिवेशनको औचित्य र वैधतासमेत समाप्त भएको प्रतिक्रिया दिइरहेका छन् ।
देउवा पक्षको असहमतिबीच भएको विशेष महाधिवेशनको वैधताका विषय सर्वोच्च अदालतमा विचाराधीन छ । २७–३० पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च गएको हो ।
विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको र पार्टी निर्वाचनबाट खुम्चेकामा नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन सक्ने अड्कल पनि भइरहेको छ ।
थापाले आफ्नो र समानुपातिक मतको परिणाम आकलन गरिसकेपछि मात्रै यसबारे पार्टीका नेताहरूसँग छलफल गर्ने मनस्थिति बनाएको उनीनिकट एक केन्द्रीय सदस्यले बताए ।
उपसभापति शर्माले नेतृत्वका विषयमा अहिल्यै कुनै छलफल नभएको बताए । सोमबारसम्मको नतिजा हेरेर केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र निर्वाचनमा भएका कमीकमजोरीबारे समीक्षा गरिने उनको भनाइ छ ।
केन्द्रीय सदस्य सुवास पोखरेलले पार्टीको नेतृत्वको हैसियतले सभापतिले नैतिक जिम्मेवारी लिनु जायज हुने भए पनि राजीनामाको सवाल आउन नसक्ने बताए ।
‘पार्टीका साथीहरूसँग छलफल नगरी राजीनामा दिने हुन सक्दैन, अहिलेको नेतृत्वभन्दा अरू कसैले कांग्रेसलाई हाँक्न सक्ने देखिँदैन । राजीनामा दिनु भनेको जिम्मेवारीबाट भाग्नु हो,’ उनले भने, ‘राजीनामा दिने हो भने हिजोदेखि यो परिस्थिति भित्र्याउन मुख्य जिम्मेवारीमा रहेका सबैले दिनुपर्ने हुन्छ ।’
अब परिस्थिति विश्लेषण गरेर र कांग्रेसलाई सम्हालेर अघि बढाउने दिशामा नेतृत्वले सोच्नुपर्ने पोखरेलको भनाइ छ । ‘कमजोरी सच्याएर अझै जिम्मेवार बनेर अघि बढ्ने हो । मुलुकको राजनीति कस्तो बाटोमा जाने हो भन्नेबारेमा अन्योल भइरहेको बेला मुलुकलाई सही ‘ट्र्याक’मा डोर्याउने भरोसायोग्य नेता जिम्मेवारीबाट भाग्न हुँदैन,’ उनले थपे ।
नेता एनपी साउद विशेष महाधिवेशनको वैधता र औचित्यबारे अहिले बोल्ने बेला नभएको बताउँछन् । निर्वाचन प्रक्रिया नै सम्पन्न नभइसकेका अवस्थामा विशेष महाधिवेशनको औचित्य र वैधतामाथि म केही बोल्न चाहन्नँ, परिणाम आइसकिएपछि छलफल गर्छौं,’ उनले भने, ‘आमूल सुधारका लागि एकल नभएर सामूहिक नेतृत्व र एकता आवश्यक छ ।’
विवादबीच कांग्रेस निर्वाचनमा होमिँदा यस पटक इतिहासमै नभएको धक्का बेहोर्नुपरेको बताए । उनी स्वयम् कञ्चनपुर–२ मा रास्वपाका नेता दीपकराज बोहरासँग पराजित भएका छन् ।
कांग्रेसको पक्षमा नतिजा नआउनुमा साउदले मुख्य तीन कारण औंल्याए । ‘पहिलो, जेन–जी आन्दोलनपूर्वको गठबन्धन अस्वाभाविक थियो । गठबन्धन सरकारको डेलिभरीबाट जनता सन्तुष्ट थिएनन् ।
दोस्रो, जेन–जी आन्दोलनपछिको गम्भीर परिस्थितिलाई महसुस गरी पार्टीले तत्कालै नीतिगत निर्णय गरेर अगाडि बढ्नुपर्ने थियो । त्यो हुन सकेन,’ उनले भने, ‘तेस्रो, विशेष महाधिवेशनसम्बन्धी गम्भीर विवाद उत्पन्न भयो, जसमा एउटा पक्षले मात्रै निर्णय गर्यो, सहभागिता जनायो ।
अर्को पक्ष निर्वाचन आयोग र सर्वोच्च अदालतमा गयो । समीक्षा गरेर नेतृत्व र कार्यक्रमबारे एकमत हुनुपर्थ्यो । विभाजनको मनोदशामा निर्वाचनमा जाँदा हामीले यो परिणाम भोगेका हौं ।’
जेन–जी विद्रोहपछि पुराना दलहरूमा नेतृत्व हस्तान्तरणको माग उठेको थियो । त्यही आवाज सम्बोधन गर्न भन्दै तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कार्यसमिति नै भंग गरेका थिए ।
त्यसपछि विभिन्न दल र समूहसँग एकता गरेर नेकपा बनाइएको थियो । तर त्यसमा दाहाल आफैं संयोजक बने, सहसंयोजकमा पनि तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नै आए ।
एमालेले पार्टी महाधिवेशन त गर्यो तर नेतृत्वमा ओली नै अनुमोदित भए । नेतृत्व हस्तान्तरणको मागलाई बेवास्ता गरिएपछि कांग्रेसमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको असहमतिबीच विशेष महाधिवेशन गरियो ।
तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका थिए । थापालाई सभापति र शर्मालाई उपसभापति निर्वाचित गरेको विशेष महाधिवेशनले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ नारा तय गर्यो ।
कांग्र्रेसका एक पदाधिकारीको अनुमानमा विशेष महाधिवेशन पनि नगरेको भए कांग्रेसको स्थिति एमाले र नेकपाको भन्दा पनि तल झर्थ्यो । ‘हामीले विशेष महाधिवेशन गरेर नयाँ सन्देश पनि दिन नसकेको भए हाम्रो हालत धेरै कमजोर हुने थियो,’ उनले भने, ‘कम्तीमा एमालेभन्दा अगाडि नै छौं ।’
शनिबार राति सार्वजनिक मतपरिणामअनुसार कांग्रेस प्रत्यक्षतर्फ १२ क्षेत्रमा विजयी भएको छ, ७ क्षेत्रमा अग्रता छ । समानुपातिकतर्फ कांग्रेसले १६ प्रतिशत हाराहारी मत पाइरहेको छ ।
कांग्रेसका दुई महामन्त्री गुरुराज घिमिरे र प्रदीप पौडेल निर्वाचनमा पराजित भएका छन् । कांग्र्रेसका सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र प्रकाश रसाइली ‘स्नेही’, शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधिलगायतका नेताहरूले समेत चुनाव जित्न सकेनन् ।
कांग्रेस, एमाले र माओवादीभित्रकै कतिपय नेताहरू यस्तो परिणाम आउनुका पछाडि भ्रष्टाचारको व्यापकता, सुशासनको अभाव, नेतृत्वको दोहोरिने प्रवृत्ति र दलभित्रको गुटबन्दीलाई कारणका रूपमा औंल्याउँछन् । खास गरी एमालेमा नेतृत्वकै कारण पार्टी खुम्चिएको दोस्रो तहका नेताहरूको बुझाइ छ ।
कांग्रेस उपसभापति शर्माका अनुसार स्थानीय तहको निर्वाचनले काठमाडौं महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई विजय गराउनु नै ठूला दलका लागि रूपान्तरणको सन्देश थियो ।
‘तर नेतृत्वमा रहनेहरूले पार्टीको रूपान्तरण गर्न र सरकारमा प्रभावकारी काम देखाउन सकेनन्,’ उनले भने, ‘त्यसबाट बढेको निराशाको जगमा स्थापना भएको रास्वपाले ०७९ कै निर्वाचनमा उल्लेख्य सिट जित्यो । त्यसपछि पनि सरकार र पार्टी सञ्चालनमा परिवर्तन नहुँदा जेन–जी विद्रोहदेखि निर्वाचनसम्ममा नागरिकले ठूलो निराशा पोखे ।’
उपसभापति शर्मा यो निर्वाचन अनपेक्षित नभएको बताउँछन् । ‘अघिल्लो निर्वाचनमा कांग्रेस संसद्मा ठूलो दल त भयो तर सरकार र प्रतिपक्षको नेतृत्व लिन सकेन । सरकारले प्रभावकारी काम नगर्दा पनि अपजस कांग्रेसमाथि नै आयो,’ उनी भन्छन्, ‘जेन–जी व्रिदोहपछि सच्चिएर अघि बढ्ने दिशामा अलमल भयो । मतदाताले मतपेटिकामा निराशा पोखे ।’
कांग्रेसले तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचन परिणामबारे गम्भीर समीक्षा गर्ने र १५ औं महाधिवेशनको गृहकार्यमा जुट्ने जानकारी पनि उनले दिए । गत २७–३० पुसमा विशेष महाधिवेशन गरेको कांग्रेसले एक वर्षभित्रै नियमित १५ औं महाधिवेशन गर्नुपर्छ ।
निर्वाचन परिणामले नेतृत्वमाथि नियमित महाधिवेशनको दबाब बढेको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको विवाद मिलाउनमै धेरै शक्ति खर्च गर्नुपर्दा पनि पार्टी बदलिएको सन्देश मतदातामाझ पुर्याउन नसकिएको बताउँछन् । हार र जितको लामो इतिहास र संघर्ष झेलेको कांग्रेस अहिलेको परिणामबाट नआत्तिई संयमित भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘हामीले जति सुधारको प्रयास गरेका थियौं, त्यसलाई जनतामाझ पुर्याउन सकेनौं,’ उनले भने, ‘आमनागरिकले कांग्रेसलाई पुरानै अवस्थामा बुझे ।’
