फर्जी मत र बुथ कब्जाको कोसिस गर्नेलाई नियन्त्रणमा लिएर मुद्दा चलाउँछौँ : गृहमन्त्री अर्याल 

'सर्वप्रथम अवाञ्छित गतिविधि नगर्न सम्झाइबुझाइ गर्ने र नमानेमा नियन्त्रणमा लिएर कसुर अनुसार कारबाही गर्नेसम्मको तयारी गरिएको छ ।'-गृहमन्त्री अर्याल

फाल्गुन १७, २०८२

वसन्तप्रताप सिंह

We will take action against those who try to cast fake votes and occupy booths: Home Minister Aryal

What you should know

बझाङ — निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनेमा ढुक्क हुन गृहमन्त्री ओमप्रकाश अर्यालले मतदातालाई अनुरोध गरेका छन् । निर्वाचन सुरक्षा तयारीसम्बन्धी अनुगमनको लागि बझाङ पुगेका अर्यालले निर्वाचनमा बुथ कब्जा र फर्जी मत हाल्ने कोसिस गर्नेलाई नियन्त्रणमा लिएर मुद्दा चलाइने बताए । 

'विगतका निर्वाचनमा बझाङमा यस्ता गतिविधि भएको रेकर्ड छ । यो पाला त्यसो हुन नदिनका लागि सुरक्षा व्यवस्थाले पूरा तयारी गरेको छ,' गृहमन्त्री अर्यालले भने, 'सर्वप्रथम अवाञ्छित गतिविधि नगर्न सम्झाइबुझाइ गर्ने र नमानेमा नियन्त्रणमा लिएर कसुर अनुसार कारबाही गर्नेसम्मको तयारी गरिएको छ ।'

सुरक्षा निकायका प्रमुखसँगको छलफलपछि आफूले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि भएको तयारी अत्यन्तै चुस्त पाएको बताए । उनले अहिलेको सरकार कुनै राजनीतिक दलको नभई नागरिक सरकार भएकोले पनि निर्वाचनमा कसैलाई गलत गतिविधि गर्न नदिइनेमा जोड दिए । बाजुरा र बझाङमा बुथ कब्जा, झडप र फर्जी मत हाल्ने प्रवृत्तिबारे केही दिनअघि कान्तिपुर दैनिकमा विस्तृत रिर्पोट प्रकाशन भएको थियो । 

गृहमन्त्री अर्यालले बझाङ आएर सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन शान्तिपूर्ण बनाउनका लागि आवश्यक जस्तोसुकै सहयोगका लागि सरकार तयार रहेको बताएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए । 'हाम्रो तयारीमा पनि उहाँ सन्तुष्ट हुनु भएको छ । थप केही सहयोग चाहिएमा तत्काल उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ,' प्रजिअ केसरीले भने, 'उहाँको स्थलगत अनुगमनले समग्र सुरक्षा निकायको मनोबल बढाउने काम गरेको छ ।'

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully