बाजुरा–बझाङमा ‘बुथ कब्जा’ र ‘फर्जी मत’कै झर्को

विगतका निर्वाचनमा धाँधली, बुथ कब्जा, फर्जी मत, कुटपिट र हत्यासम्मका घटना हुँदै आएको बाजुरा र बझाङमा आसन्न निर्वाचनमा स्वतन्त्र र निष्पक्ष मतदान गर्न पाइएला कि भन्न चिन्तामा छन् मतदाता।

फाल्गुन १, २०८२

अर्जुन शाह, वसन्तप्रताप सिंह

What you should know

धनगढी/बझाङ — अधिकाशं निवार्चनमा असान्त हुने बाजुरा र बझाङका मतदाता स्वतन्त्र र निष्पक्ष ढंगले मतदान गर्न नपाइएला कि भन्ने चिन्तामा छन् । सुदूरपश्चिमका यी दुई जिल्लामा विगतका निर्वाचनमा धाँधली, बुथ कब्जा, फर्जी मत, कुटपिट र हत्यासम्मका घटना हुँदै आएका छन् ।

बाजुरामा जहाँ जुन पार्टीको बाहुल्यता छ, त्यस्ता मतदानस्थलमा पार्टीका कार्यकर्ताहरुले बुथ कब्जा गर्ने गरेकोको विगतको अनुभव रहेको स्थानीयसमेत रहेका बडिमालिका क्याम्पसका पूर्वप्रमुख बीरबहादुर कटुवाल बताउँछन् । ‘०७९ को निर्वाचनमा म मतदान केन्द्रमा पुग्दा मेरै भोट अर्काले खसालिसकेको रहेछ,’ हाल पनि सोही क्याम्पसमा प्राध्यापनमा रहेका कटुटवालले भने, ‘बाजुरामा अर्काको मत खसाल्ने, अशक्तको मत खसालिदिने, अनुपस्थित रहेका मतदाताको पनि लगभग सबै मत खसाल्ने, झडप र धाँधली गर्ने, कर्मचारीको मिलेमतो हुनेलगायतका प्रवृति छन् ।’

आफू जतिको सचेत मतदातालाई समेत निगरानी गरिन्छ र अर्कैले मत खसालिदिन्छ भने सर्वसाधारणको अवस्था कस्तो होला ? भन्ने सहजै अनुमान लगाउन सकिने उनको भनाई छ । ‘बाजुराका मुख्य दलहरु एमाले र कांग्रेस दुबै पार्टीका कार्यकर्ताहरु आआफ्नो ठाउँमा बुथ कब्जा गर्न सक्रिय हुने गरेको विगतको इतिहास छ,’ कटुवालले भने, ‘यसपाली सबैले स्वच्छाले मतदान गर्न पाउन् ।’

जयपृथ्वी नगरपालिका १ की ४७ वर्षीया सिद्धादेवी सिंह भोट हाल्न पाउने उमेर भएपछि सम्पन्न भएका कुनै पनि चुनावमा आफैले भोट खसाल्न नपाएको बताउँछिन् । ‘विवाह गरेर आएदेखि गांउँमा आठ पटक चुनाव भइसक्यो । तर मैले कुनै पनि चुनावमा आफ्नो भोट आफैले हाल्न पाइएकी छैन,’ ६ कक्षासम्म अध्ययन गरेकी, लेखपढ गर्न मात्रै होइन फेसबुक लगायत सामाजिकसमेत चलाउने उनी भन्छिन् ‘भोट हाल्न जानु पर्छ भनेर घरमै बोलाउन आउँछन् । लाइन लगाउँछन् । भोट हाल्ने बेला तपाई विगार्नु हुन्छ हामी हालिदन्छौ भनेर मतपत्र खोस्छन्, भोट अरुले नै हाल्छन्, मेरो नङमा कालो मसी मात्रै लाइदिन्छन ।’

बझाङकै जयपृथ्वी नगरपालिका-१ की डल्लीदेवी सिंह निर्वाचनमा आफुले आफ्नो स्वच्छाले मत खसाल्न नपाउने गरेका गुनासो गर्छिन् । ‘कहिल्यै आफू मतदान गर्न पुग्दासम्म अरुले भोट हालिसकेका हुन्छन्,’ उनले भनिन्,‘यसअघिको निर्वाचनमा तिमी मत हाल्न जान्दिनौं भनेर खोसेर अरुले मत हालिदिए । सधैं त्यसै हुन्छ ।’

आसन्न निर्वाचनका लागि सुरक्षा निकायले उच्च सुरक्षा सतर्कताको योजना बनाएको दाबी गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी ओमबहादुर रानाले बाजुरा र बझाङलाई उच्च सुरक्षा सतर्कताको सूचीमा राखेको बताए । ‘सुरक्षाकर्मीको संख्या बढाउने, मतदानस्थललाई सिसिटीभीको निगरानी गर्नेदेखि ड्रोन क्यामेरा प्रयोग गर्नेसम्म छलफल गरिरहेका छौं,’ उनले भने ‘ससाना ब्यवस्थापनका कुराहरु पनि केलाइरहेका छौं, आफैले मतदान गर्न नसकेर अर्काोमार्फत मतदान गर्नुपर्ने अशक्त मतदाताहरुको पनि अग्रिम पहिचान गर्ने तयारी गरिरहेका छौं ।’

सशस्त्र प्रहरी सुदूरपश्चिमका निमित्त बाहिनीपति दिग्विजय सुवेदीले बाजुरा र बझाङमा दोब्बर संख्यामा पेट्रोलिङ टोली परिचालन गर्ने गरि ब्यवस्थापन गरिएको बताए । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुरा निर्वाचनको बदनामित विगतलाई दोहोरिन नदिने गरि तयारी गरिरहेको बताए ।

‘मतदानस्थलमा ड्रोन क्यामेराहरु प्रयोग गर्नेबारेमा पनि छलफल गरिरहेका छौं । सिसि कयामेराहरु सबैतिर जडान गर्छौं,’ प्रजिअ निरौलाले भने, ‘सुरक्षा जनशक्ति थप गनुका साथै, निर्वाचनमा खटिने कर्मचारीहरुलाई विशेष ढंगले प्रशिक्षित गर्दैछौं ।’

बाजुरामा ०४८ यताका हरेक निर्वाचनमा घटना हुँदै आएको छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा दुई जना युवाको मृत्यु भएको थियो । झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतदाता लखेटिएका, सुरक्षाकर्मीद्वारा दर्जनौं मतदानस्थलमा दिनभर हवाई फायरलगायतका घटना भएर मतदानका क्रममा बाजुरा दिनभर अशान्त र तनावग्रस्त भएको थियो ।

त्यसक्रममा २४ मतदान केन्द्र कब्जा भएका प्रमुख दलहरुकै दाबी थियो । मतदानको दिन प्रहरीको गोली लागेर त्रिवेणी नगरपालिका-६ मतदानस्थलमा प्रहरीको गोली लागेर कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो । त्यसै राति सोही नगरपालिका ७ का एमाले समर्थित अनेरास्ववियुका केन्द्रिय सदस्यसमेत रहेका चेतन अयडीलाई स्थानीयले कुटपिट गरी हत्या गरेका थिए । मतगणना सुरु हुन १४ दिन लागेको थियो ।

०७९ र ०७४ को निर्वाचन मात्र होइन, त्यसअघिका अधिकांश निर्वाचनमा पनि धाँधली र झडपका घटना हुँदै आएका छन् । ०५४ को स्थानीय निकाय निर्वाचनमा बुढीगंगामा भएको झडपका क्रममा गोली चल्दा एक जना बालकसहित दुई जनाको मृत्यु भएको थियो । ०७९ को स्थानीय निर्वाचनका क्रममा पनि बाजुराका विभिन्न मतदान केन्द्रहरु तनावग्रस्त भएका थिए । बुढीगंगा नगरपालिकाका अधिकांश मतदान केन्द्रहरुमा धाँधली भएपछि पुनः मतदान गराइएको थियो ।

बाजुरा र बझाङको अर्को समस्या फर्जी मत खसाल्ने प्रवृति पनि स्वतन्त्र निर्वाचनका लागि बाधक रहँदै आएको छ । ०७४ को स्थानीय निर्वाचनमा बाजुरा सबैभन्दा बढी मत खसेको जिल्ला हो । बुढीगंगा नगरपालिकाका केही मतदान केन्द्रहरुमा ९९ प्रतिशत भन्दा बढी मतदान भएको थियो ।

जिल्लाका अन्य कतिपय मतदान केन्द्रमा पनि सोही हाराहारीमा मतदान भएको तथ्यांक छ । ०७४ कै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बाजुरामा ८० प्रतिशत मतदान भएको थियो । ०७९ को निर्वाचनमा सुर्मा गाउँपालिकाका १ र २ का दुई वटा मतदानस्थलमा बुथ कब्जा गरेर फर्जी मत खसाल्न खोजेपछि मतदान नै स्थगित भएको थियो । सोही निर्वाचनमा छविसपाथीभेरा १ को गुरेलथुम मतदानस्थलमा पनि दुई पक्षबीच झडपको स्थिति उत्पन्न भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जना प्रहरी घाइते समेत भएका थिए ।

बझाङमा ०७९ कै स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका ६ को सुनिपिपलचौर माध्यमिक विद्यालय सुवेडामा फर्जी मत खसाल्न थालेपछि अर्को पक्षले मतपेटिका तोडफोड गरेपछि पुनः मतदान गर्नु परेको थियो । स्थानीयका अनुसार कतिपय मतदान केन्द्रमा खटिएका कर्मचारी तथा प्रहरी सुरक्षाकर्मीसमेत स्वतन्त्र मतदान प्रभावित गर्न मिलेमतो गर्ने गरेका छन् ।

०७९ सालकै निर्वाचनमा केदारस्युँ गाउँपालिका-२ को मतदान केन्द्रमा पनि फर्जी मत खसेको थियो । एमालेका निर्वाचन प्रतिनिधि रहेका प्रशान्त भण्डारीलाई नियन्त्रणमा लिइसकेपछि उपस्थित नभएका मतदाताको नाममा फर्जीमत खसाल्ने काम भएको एमालेका जिल्ला कमिटी सचिव नयन बोहराले बताउँछन् । आसन्न निर्वाचनमा पनि बाजुरा र बझाङमा स्वतन्त्र र निष्पक्ष मतदान गर्न नपाइएला कि भन्न चिन्तामा छन् सर्वसाधारण ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार कुल ७७ मतदानस्थलमध्ये ६२ अति संवदेनशील, १२ संवदनशील सूचीमा राखिएको छ भने तीन वटालाई मात्र सामान्यमा राखिएको छ । बझाङमा विगतका निर्वाचनका क्रममा भएका घटना र गतिविधिहरुका आधारमा जिल्ला सुरक्षा समिति बझाङले सुरक्षा योजना तयार गरेको जनाएको छ । बझाङमा कुल १ सय ३७ मतदानस्थलमध्ये ८५ वटा अतिसंवेदनशील र ४९ वटा संवेदनशीलको सुचीमा राखिएको छ । बझाङमा पनि सुरक्षाका दृष्टिले सामान्य मतदानस्थल भने तीन वटा मात्रै रहेको प्रमुख जिल्ला अधिकारी मुकेस कुमार केसरी बताउँछन् ।

फर्जी मत खसाल्ने प्रवृतिप्रति सुरक्षा संयन्त्र जानकार रहेको र आउने निर्वाचनमा विगत जस्तो हुन नदिने प्रमुख जिल्ला अधिकारी मुकेस कुमार केसरी बताउँछन् । ‘विगतको रेर्कड र अहिलेको अवस्था सबै हेरेर हामीले मतदानस्थलको सुरक्षाको मिहिन विश्लेषण गरेका छौं । त्यही अनुसार सुरक्षा रणनीति पनि तयार गरेका छौं,’ उनले भने, ‘यो निर्वाचनमा बुथ कब्जा गर्ने, फर्जी मत खसाल्ने कुरा कसैले नसोचे पनि हुन्छ ।’ उनले अतिसंवेदनशील र सुरक्षा टोली पुग्न ३० मिनेट भन्दा बढी समय लाग्ने मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली मतदान अवधिभर तैनाथ रहने व्यवस्था गरिएको उनले बताए ।

आसन्न निर्वाचनको प्रतिस्पर्धामा बाजुरामा आठ जना उम्मेदवार छन् । कांग्रेसबाट जनकराज गिरी, एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश शाह, रास्वपाबाट हेमराज थापा, राप्रपाबाट केशरबहादुर शाही, नेकपा माओवादीबाट भुपेन्द्र विक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डिसी र स्वतन्त्रबाट उपेन्द्र शाही चुनावी मैदानमा छन् ।

यस्तै बझाङमा एमालेबाट ऐन महर, कांग्रेसबाट प्रकाश रसाइली स्नेही, नेपाली कम्युनिष्ट पार्टीबाट मीनबहादुर कुँवर, रास्वपाबाट शैलेशकुमार सिंह, राप्रपाबाट विश्व जेठारा, नेकपा माओवादीबाट भरत मल्ल, जनमोर्चाबाट दलबहादुर धामी प्रतिस्पर्धामा छन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully