सिमलटार बस्तीका भूमिहीनको एउटै स्वर : लालपुर्जा जसले दिन्छ, भोट उसैलाई

बस्तीको भित्री गल्लीहरूमा पुग्दा चुनावी उत्साहभन्दा बढी एउटै पुरानो चिन्ताले डेरा जमाएको पाइन्छ–त्यो हो लालपुर्जा ।

फाल्गुन १७, २०८२

प्रताप विष्ट, दया दुदराज

The landless people of Simaltar settlement have one voice: Vote for whoever gives them a land title deed.

What you should know

हेटौंडा — मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा पर्ने सिमलटार बस्ती यतिबेला चुनावी रौनकमा छ। राजनीतिक दलका झन्डा बोकेका कार्यकर्ता र माइकिङ गर्दै हिँड्ने उम्मेदवारहरूको ताँती सडकमा बाक्लै देखिन्छ। तर, बस्तीको भित्री गल्लीहरूमा पुग्दा चुनावी उत्साहभन्दा बढी एउटै पुरानो चिन्ताले डेरा जमाएको पाइन्छ–त्यो हो लालपुर्जा ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो बस्ती सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको बाहुल्यता भएको क्षेत्र हो । यहाँ झन्डै २ हजार ८ सय घरधुरी रहेका छन् । चुनाव नजिकिएसँगै उम्मेदवारहरू यो ‘भोट बैंक’ रिझाउन अनेक बाचा र आश्वासन बोकेर पुगिरहेका छन्। तर, यहाँका बासिन्दाहरू भने यसपटक आश्वासनमा मात्रै भुलिने पक्षमा छैनन्।

सिमलटारमा चुनावी प्रचारका लागि पुग्ने हरेक उम्मेदवारलाई मतदाताले सोध्ने एउटै प्रश्न छ– ‘हाम्रो लालपुर्जा कहिले आउँछ ?’ । स्थानीय पार्वती मोक्तान भन्छिन्,’हाम्रो यहाँको ठूलो समस्या भनेको लालपुर्जा हो । लालपुर्जा जसले दिन्छ, उसैलाई भोट दिने हो।’

यो बस्तीमा मानिसहरू बस्न थालेको १५–२० वर्ष भइसक्यो। दुई दशकदेखि यही जमिनमा पसिना बगाएका उनीहरूले आफनो भन्न मिल्ने एउटा कागज (लालपुर्जा) पाउन सकेका छैनन् । विगतका चुनावहरूमा पनि नेताहरूले यही एजेन्डा बेचेर भोट लगे, तर चुनाव जितेपछि फर्केर नआएको स्थानीयको गुनासो छ ।

आश्वासनको खेती र मतदाताको वितृष्णा स्थानीय पार्वती मुक्तानका अनुसार, जुन पार्टी आए पनि उम्मेदवारहरूले ‘हामी लालपुर्जा दिलाउँछौ, तपाईहरूका लागि पहल गरिरहेका छाैं’ भन्छन्। तर, व्यवहारमा अहिलेसम्म केही भएको छैन । 'नापी हुन्छ, तर भोलिपल्ट त्यो नापी फेरि खारेज हुन्छ । कुनै पनि सुनुवाइ भएको छैन,’ मुक्तानले आक्रोश पोख्दै भनिन्।

उनका अनुसार नेताहरूले गरिब जनतालाई सधौ भर्‍याङ मात्र बनाएका छन्। 'अहिलेको सरकार वा नेता जो आए पनि हामीलाई केही भएको छैन । अब आशा छ कि नयाँ पार्टीले केही गर्छ कि, आखिर हामी गरिब जनता नै मर्ने रहेछौ,’ उनले दुखेसो पोखिन् ।

The landless people of Simaltar settlement have one voice: Vote for whoever gives them a land title deed.छैन चुनावी चहलपहल
यसपटकको चुनावमा विगतको तुलनामा केही फरक दृश्य देखिएको छ । स्थानीय सिर्जना स्याङ्तानका अनुसार पहिलाको जस्तो उल्लासमय चहलपहल यसपटक छैन । उम्मेदवारहरू थोरै मात्र आएका छन् र माइकिङ गरेर मात्र फर्किने गरेका छन्।

सिमलटारमा धेरै यस्ता परिवार छन्, जसले वैदेशिक रोजगारीमा गएर कडा परिश्रम गरी कमाएको पैसाले यहाँ जग्गा किनेर घर बनाएका छन् । पार्वती मुक्तान पनि तीमध्ये एक हुन् । उनी भन्छिन्, 'हामी पनि सुकुम्बासी नै हाै‌ं, केही नभएर विदेशमा गएर कमाएर यो जग्गा किनेर बसेका हाैं। तर, यत्रो सम्पत्ति र पैसा लगाएर बनाएको घरको लालपुर्जा छैन।'

लालपुर्जा नहुँदा यहाँका बासिन्दाले ठूलो प्रशासनिक झमेला खेप्नु परिरहेको छ। कुनै पनि सरकारी वा व्यक्तिगत कामका लागि लालपुर्जा नभई काम नचल्ने हुँदा उनीहरू आफूलाई असुरक्षित महसुस गर्छन्। रौतहटबाट आएर यहाा व्यवसाय गरिरहेका रामहरी चौलागाईँ पनि यहाँको मुख्य समस्या ‘धनी पुर्जा’ नै भएको बताउँछन् ।

नागरिकता नहुँदा मतदानको अधिकार खोसियो सिमलटार बस्तीमा लालपुर्जाको मात्र होइन, नागरिकताको पनि उस्तै समस्या छ। बस्तीमा यस्ता युवाहरू पनि छन् जो उमेर पुगेर पनि नागरिकता नहुँदा मतदान गर्न पाउने अधिकारबाट वञ्चित छन् । २० वर्ष पुगिसकेकी जमुना संगमले नागरिकता नभएकै कारण यसपटक भोट हाल्न नपाउने बताइन् ।

‘चुनावको बेला नागरिकता बनाइदिने भन्थे, तर अहिलेसम्म केही भएको छैन,’जमुनाले भनिन्। नागरिकता नहुँदा उनी आफनो मताधिकार प्रयोग गर्नबाट मात्र वञ्चित छैनन्, बरु राज्यबाट पाउने अन्य सेवा सुविधाबाट पनि टाढा छिन् ।

उम्मेदवारहरुकाे साझा एजेन्डा पनि त्यही
सिमलटार समेटिएको मकवानपुर क्षेत्र नम्बर २ मा यसपटक स्वतन्त्रसहित २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा २१ जना उम्मेदवार छन् । उम्मेदवारको संख्या धेरै भए पनि एजेन्डा भने सबैको साझा छ–विकास र लालपुर्जा ।

तर, मतदाता भने विकासका नाममा बनेका सडक र बिजुलीभन्दा पनि आफनो बासस्थानको स्थायित्व (लालपुर्जा) लाई पहिलो प्राथमिकतामा राखिरहेका छन् । सिमलटारका झन्डै २ हजार ८ सय घरधुरीका लागि लालपुर्जा एउटा सपना जस्तै बनेको छ । उनीहरूका लागि खानेपानी, बिजुली र सडकको सुविधा पुगे पनि हातमा लालपुर्जा नहुादा सबै विकास अधुरो जस्तै लाग्छ।

के यो चुनावले पुर्जा देला ? चुनावको समयमा बस्तीमा नेताहरूको लर्को लाग्नु र आश्वासनका पोकाहरू बााडिनु सिमलटारबासीका लागि नौलो कुरा होइन । तर, यसपटक मतदाताहरू सचेत देखिएका छन् । उनीहरूले उम्मेदवारलाई प्रस्टै भनेका छन्–'जसले पुर्जा दिन्छ, भोट उसैलाई ।’

१५–२० वर्षदेखि एउटै माग राख्दै आएका मतदाताहरूको धैर्यताको बााध अब फुट्न थालेको छ । आश्वासनको चाङमाथि उभिएका सिमलटारका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू यसपटकको निर्वाचनबाट ठोस परिणामको अपेक्षामा छन्। के यसपटकको निर्वाचनपछि सिमलटारबासीको हातमा लालपुर्जा थपिएला त ? यो भने निर्वाचनपछिको समयले नै बताउनेछ । हेटौडा–११, सिमलटारबस्ती ।

 हेटौंडा बजार क्षेत्रबाट ३ किलोमिटर पश्चिममा आवस्थित सिमलटारका भूमिहीन सुकुम्बासीहरुलाई हरेक चुनावमा जग्गाधनी पुर्जाको आश्वासन प्राप्त हुन्छ । चुनवै पिच्छे दल र उम्मेदवारहरुले जग्गधानी पुर्जा (लालपुर्जा) उपलब्ध गराउने आश्वासन दिन्छन् । चुनाव आउँछ जान्छ तर, उनीहरुको हातमा न लालपुर्जा हुन्छ, न नै बसिरहेको थातथलोको भोगाधिकार ।

The landless people of Simaltar settlement have one voice: Vote for whoever gives them a land title deed.बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, सिमलटार, सबैभन्दा धेरै घरधुरी भएको ठूलो टोल विकास संस्था हो । जहाँ २ हजार ८ सय बढी घरधुरी छन् । तर, यहाँका बासिन्दाले आफूले चर्चेको जग्गाको लालपुर्जा छैन । उनीहरुको यो समस्या अहिलेको होइन । बर्सौंदेखि यो समस्या भोग्दै आएका उनीहरुको समस्या समाधान उन्मुख देखिदैन ।

वास्तवमा सिमलटारमा पक्की सडक, खानेपानी, बिजुली र ढल निकासको व्यवस्था पुगेको छ । तर लालपुर्जा नहुँदा यहाँका स्थानीयले घर धितो राखेर ऋण लिन नसक्ने, कानुनी असुरक्षा महसुस गर्ने र भविष्य अन्योलमा रहने अवस्था छ । बागमती प्रदेशको राजधानीको मुटुमै रहेको सिमलटारका बासिन्दा तीन दशकदेखिको लालपुर्जाको पर्खाइमा छन् । हरेक चुनावमा दल तथा उम्मेदवारहरुलाई उनीहरुको एउटै प्रश्न रहन्छ ‘हामी बसेको ठाउँको लालपुर्जा कहिले पाउछौं ?’

यसपटक सिमलटार टोल विकास संस्था र राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले टोलमा आउने उम्मेदवार तथा दलका नेताहरुलाई भेटेरै ध्यानाकर्षण पत्र बुझाइरहेका छन् । ‘किन लालपुर्जा पाएनाैं? कहिले पाउछाैं?’ भन्ने प्रश्न अब चुनावी एजेन्डामै सीमित नराख्ने उनीहरुको भनाइ छ । सिमलटारका स्थानीय बासिन्दासमेत रहेका राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल, हेटौंडाका नगर अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले यसपटक प्रतिनिधिसभा निर्वाचनको मौका पारेर उम्मेदवारहरुसाग प्रतिवद्धता मागेको बताए ।

उनका अनुसार अहिलेसम्म कांग्रेसका क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामा, एमालेका महेश्वर बर्तौला, राप्रपाका रामबहादुर थोकर, नेकपाका लवशेर विष्ट, प्रलोपाका सन्तोष विष्ट लगायतले लालपुर्जा प्राप्तिका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरका अनुसार बफरजोन, आरक्ष र वन क्षेत्रसँग जोडिएका कानुनी जटिलताका कारण प्रक्रिया अघि बढ्न नसकेको हो । तर, यहाँबाट निर्वाचित भएर जाने सांसदले पहल गर्ने हो भने कानुन संशोधन गरेर भएपनि आफूहरुको माग सम्बोधन गर्न सकिने उनको भनाई छ । ‘कानुन संशोधन गरेर भए पनि यहाँ बसिरहेका परिवारलाई व्यवस्थापन गर्नुपर्छ । यहाबाट जितेर जाने सांसदले संसद्‍मा हाम्रो बिषय जोडदार ढंगबाट उठाउनु पर्‍यो,’ उनले भने ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully