उत्तरदाता सिधै उम्मेदवारको योग्यता र क्षमतामा केन्द्रित भएकाले मतदाताले ‘दल’ भन्दा पहिले उम्मेदवार छनोट गर्न खोजेको देखिन्छ ।
What you should know
काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको व्यक्तित्व/योग्यता र क्षमतालाई प्रमुख आधार बनाएर मत दिने पक्षमा मतदाता देखिएका छन् ।
उत्तरदाता सिधै उम्मेदवारको योग्यता र क्षमतामा केन्द्रित भएकाले मतदाताले ‘दल’ भन्दा पहिले उम्मेदवार छनोट गर्न खोजेको देखिन्छ । अध्ययनमा सहभागीमध्ये चारमा एक उत्तरदाताले विकास र पूर्वाधारमा काम गर्न सक्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने बताएका छन् । यस्ता उत्तरदाताको संख्या दोस्रो ठूलो छ । विकास र पूर्वाधार निर्माण गर्न सक्ने उम्मेदवार खोज्ने उत्तरदाताको भनाइले देशमा जनतामा रहेको विकासप्रतिको भोक देखाउँछ । जुन उत्तरदाताले आफ्नो जीवनको प्रमुख समस्याका रूपमा सडक तथा अन्य पूर्वाधार निर्माणलाई उल्लेख गरेबाट पनि पुष्टि हुन्छ । उत्तरदाताले ‘देखिने काम’ जस्तै– बाटोघाटो, पुल, खानेपानी, ढल/नाली, निर्माणजस्ता दैनिक जीवनसँग जोडिएका सुधारलाई प्राथमिक आधार बनाएको देखिन्छ ।
कान्तिपुर मिडिया ग्रुप र सेयरकास्ट इनिसिएटिभ नेपालको सहकार्यमा गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा सहभागीमध्ये सबैभन्दा धेरै २८ प्रतिशत उत्तरदाताले उम्मेदवारको व्यक्तित्व/योग्यता र क्षमता हेर्ने बताएका छन् ।
सर्वेक्षणका क्रममा २ हजार ९ सय ५ जनासँग प्रत्यक्ष भेट गरी ‘कुनै राजनीतिक दललाई समर्थन वा उम्मेदवारलाई मत दिने निर्णय गर्दा तपाईंले मुख्यतः कुन–कुन आधारलाई प्राथमिकता दिनुहुन्छ ?’ भनेर सोधिएको थियो । उनीहरूलाई सम्भावित जवाफका विकल्पहरू दिइएको थिएन । उत्तरदाताले आफ्नै तरिकाले जवाफ दिएका थिए ।
यस पटकको निर्वाचनमा अधिकांश मतदाताले राजनीतिक आस्थाका आधारमा मत नदिने संकेत सर्वेक्षणको परिणामले देखाएको छ । किनकि सयमा जम्मा एक जनाले मात्रै राजनीतिक आस्थाका आधारमा मत दिने बताएका छन् । दलहरूको घोषणापत्र र प्रतिबद्धताका आधारमा मत दिन्छु भन्ने उत्तरदाता पनि एकदमै कम छन् । करिब १ प्रतिशतले मात्रै घोषणापत्र र प्रतिबद्धतालाई मत दिने आधारका रूपमा उल्लेख गरेका छन् ।
आसन्न निर्वाचनमा सहभागी दलहरू प्रायः सबैले अघिल्लो साता घोषणापत्र सार्वजनिक गरेका थिए । आगामी ५ देखि १० वर्षमा गरिने योजनालाई प्रतिज्ञापत्र, वाचापत्र, घोषणापत्र, संकल्पलगायतका नाम दिएर सार्वजनिक गरिएका त्यस्ता योजनापत्र र नागरिकका वास्तविक प्राथमिकताबीच खासै तालमेल देखिँदैन ।
दलको नाम तथा झन्डा, विचारधारा वा दर्शनभन्दा पनि उम्मेदवारको व्यक्तित्व, योग्यता–क्षमता, विकास तथा पर््वूाधार निर्माणका योजना तथा आचरणलाई प्रमुख प्राथमिकतामा राख्ने उत्तरदाताको भनाइ छ । उम्मेदवारको व्यक्तित्व/योग्यता र क्षमतालाई नै प्रमुख प्राथमिकतामा राख्नेमध्ये महिलाको तुलनामा पुरुष ४ प्रतिशतले धेरै छन् ।
व्यक्तित्व/योग्यता र क्षमतालाई प्राथमिकता दिने उत्तरदातामा अन्य उमेर समूहको तुलनामा ५० देखि ५९ वर्षसम्मका धेरै छन्, प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशका उत्तरदाता छन् ।

सुदूरपश्चिममा विकास/पूर्वाधारलाई ‘मुख्य आधार’ बनाउनुपर्ने उत्तरदाता बढी देखिएका छन् । विकास र पूर्वाधारको काम गर्न सक्नेलाई प्राथमिकतामा राख्ने जवाफ दिनेमध्ये सबैभन्दा धेरै सुदूरपश्चिममा १७ प्रतिशत छन्, जुन राष्ट्रिय औसत १२ प्रतिशतभन्दा करिब ५ प्रतिशतले बढी हो ।
करिब १२ प्रतिशतले भने उम्मेदवारको दूरदृष्टि र योजना हेरेर निर्णय गर्ने बताएका छन् । यसमा उत्तरदाताले ‘यो–यो काम गर्छु’ भन्ने सूचीभन्दा पहिले उम्मेदवारको सोच, दृष्टिकोण, नीति र दीर्घकालीन योजना के छ भन्नेलाई मुख्य आधार बनाएको देखिन्छ । आर्थिकस्तरका हिसाबले सबैभन्दा धनी समूहका करिब ३८.२ प्रतिशत र पुरुष मतदाता (६७ प्रतिशत) ले उम्मेदवारको ‘भिजन’, मूल्य–मान्यता र योजनालाई प्राथमिकतामा राख्ने बताए ।
केही उत्तरदाताहरूले ‘इमानदारी/भ्रष्टाचारविरोधी’ उम्मेदवार प्राथमिकतामा पर्ने पनि जवाफ दिएका छन् । यसबाट क्षमता–योग्यतासँगै इमानदार उम्मेदवार मतदाताले खोजिरहेको देखिन्छ ।
‘जनताको सेवा गर्ने’ नेतालाई प्राथमिकता दिने उत्तरदाता पनि छन् । जसका कारण जनताका गुनासाहरूको सुनुवाइ, सरकारी सेवामा सहज पहुँच, सार्वजनिक सेवा प्रवाहलाई छिटो गर्ने, नातावाद/कृपावाद नहेरी सबैलाई समान व्यवहार गर्ने उम्मेदवारले निर्वाचनमा जनताबाट प्राथमिकता पाउने देखिन्छ । उम्मेदवारले यसअघि गरेका कामको अनुभव, विगतको पृष्ठभूमि र पार्टीको समेत ‘ट्र्याक रेकर्ड’ कस्तो छ भन्ने सन्दर्भलाई महत्त्वपूर्ण आधार मान्ने उत्तरदाता पनि छन् ।
