बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र

कान्तिपुरसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘हामीले तुरुन्त हटाउन निर्देशन दिएका छौं । नहटाएमा निर्वाचन कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

Election Commission writes to Press Council to remove video documentary released by BBC

काठमाडौँ — भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्राचार गरेको छ ।

बीबीसी वर्ल्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिज : इन्साइड नेपाल्स जेनजी अपराइजिङ’मा जेन–जी आन्दोलनका दौरान तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको उल्लेख छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए । कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘हामीले तुरुन्त हटाउन निर्देशन दिएका छौं । नहटाएमा निर्वाचन कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रेस काउन्सिलका अनुगमन अधिकृत महेन्द्र सिंहले निर्वाचन आयोगबाट बीबीसीको डकुमेन्ट्रीबारे पत्र आएको पुष्टि गरे ।

सार्वजनिक वृत्तचित्रमा प्रहरीको आन्तरिक दस्तावेज समावेश गरिएको छ । दस्तावेजमा कल साइन ‘पिटर वान’ ले प्रहरी अधिकृतहरुलाई कर्फ्यू लागेको १० मिनेटपछि ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको र १२ः ३० बजे कर्फ्यू लागेको बिषय समेटिएको छ । 

‘पिटर वान’ नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रयोग गर्दै आएको कल साइन रहेको स्रोतलाई उद्रृत गर्दै बीबीसीले जनाएको छ । 

‘खापुङले गोली चलाउन आदेश दिएको अस्विकार गरेका छैनन् ।' नेपालका प्रमुख सुरक्षा बल मिलेर बनेको सुरक्षा कमिटीबाट यो आदेश आएको हो । कमिटीको निर्णयअघि आईजीपी खापुङले यस्तो कुनै आदेश दिएका थिएनन्,' वृत्तचित्रमा नेपाल प्रहरीका प्रवक्तालाई उद्रृत गर्दै भनिएको छ । 

सम्बन्धित समाचार

तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश : बीबीसी

कान्तिपुर

Link copied successfully