तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश : बीबीसी

२३ भदौको घटना छानविनका लागि अन्तरिम सरकारले गठन गरेको उच्चस्तरीय छानविन आयोगको प्रतिवेदन आउनै बाँकी छ । अहिलेसम्म कोही पनि यस घटनाको जिम्मेवार भएका छैनन् ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

The then IGP Khapung had given the order to open fire: BBC

What you should know

काठमाडौँ — २३ भदौमा जेनजी आन्दोलनका दौरान तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको बीबीसीले जनाएको छ ।

दिउँसो १२ः३० मा कफ्र्यु लागेपछि उक्त दिन संसद् भवनअगाडि १९ जनाको ज्यान गएको थियो ।

बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिज : इन्साइड नेपाल्स जेनजी अपराइजिङ’ मा प्रहरीको आन्तरिक दस्तावेज समावेश गरिएको छ । दस्तावेजमा कल साइन ‘पिटर वान’ ले प्रहरी अधिकृतहरुलाई कफ्र्यु लागेको १० मिनेटपछि ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएका छन् । १२ः ३० बजे कफ्र्यु लागेको थियो । 

‘पिटर वान’ नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रयोग गर्दै आएको कल साइन रहेको स्रोतलाई उद्रृत गर्दै बीबीसीले जनाएको छ । 

‘खापुङले गोली चलाउन आदेश दिएको अस्विकार गरेका छैनन् । 'नेपालका प्रमुख सुरक्षा बल मिलेर बनेको सुरक्षा कमिटीबाट यो आदेश आएको हो । कमिटीको निर्णयअघि आईजीपी खापुङले यस्तो कुनै आदेश दिएका थिएनन्,' वृत्तचित्रमा नेपाल प्रहरीका प्रवक्तालाई उद्रृत गर्दै भनिएको छ ।

खापुङसँग सम्पर्क गर्दा उनले केही जवाफ नदिएको बीबीसीले जनाएको छ । बीबीसीले गरेको भिडियो परीक्षणमा १७ वर्षीय श्रीयाम चौलागाई निहत्था रहेको उल्लेख छ । उनी विद्यार्थी पोशाकमै आन्दोलनमा आएका थिए । निधन हुनअघि उनी घटनास्थलबाट बाहिरिने प्रयासमा थिए । 

२३ भदौको घटना छानविनका लागि अन्तरिम सरकारले गठन गरेको उच्चस्तरीय छानविन आयोगको प्रतिवेदन आउनै बाँकी छ । अहिलेसम्म कोही पनि यस घटनाको जिम्मेवार भएका छैनन् । जेनजी आन्दोलनपछि २१ फागुनमा निर्वाचन हुन गइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully