फेसबुकमा एल्गोरिदमको झेल : अफवाहको बाढी, विचार र एजेन्डा ओझेल

दुई दर्जन फेसबुक पेजहरूको विश्लेषण गर्दा कांग्रेसभन्दा नौ गुणा बढी अर्थात् ५४ प्रतिशत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रित देखिन्छ

फाल्गुन ११, २०८२

दया दुदराज

Facebook's algorithmic fallout: A flood of rumors, ideas and agendas drowned out

What you should know

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनभन्दा एक महिनाअघिदेखि केही चर्चित फेसबुक पेजहरूले एउटै राजनीतिक पार्टीसँग सम्बन्धित सामग्रीलाई बढी प्राथमिकताका साथ फैलाएको देखिन्छ । कान्तिपुरले २३ डिसेम्बर २०२५ देखि २२ जनवरी २०२६ सम्मको एक महिना अवधिभित्र २४ वटा त्यस्ता फेसबुक पेजहरूले प्रकाशित गरेका ४ हजार ७ सय ५४ वटा सामग्रीको तुलनात्मक अध्ययन गरेको छ ।

जसमा २ हजार ४ सय ४७ वटा राजनीतिक सामग्री छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सम्बन्धित सामग्री नै ५४ प्रतिशत अर्थात् १ हजार ३ सय २४ वटा छन् । जबकि विघटित संसद्का ठूला दल कांग्रेस र एमालेसँग सम्बन्धित सामग्री त्यसको आधा पनि छैनन् । त्यस्ता फेसबुक पेजका सामग्रीमा प्रायः नीतिगत बहसलाई बेवास्ता गर्दै व्यक्तिकेन्द्रित, भावनात्मक तस्बिर र प्रतीकात्मक सामग्रीहरूमा जोड दिइएको देखिन्छ ।  

ठ्याक्कै यस्तै सामग्रीलाई एल्गोरिदमले प्रवर्द्धन गर्ने गरी डिजाइन गरिएको फेसबुकको अनुसन्धानमा उल्लेख छ । यस्ता कतिपय पोस्टमा रास्वपाका नेताहरूका एआईमार्फत सिर्जित तस्बिरहरू पनि प्रयोग गरिएका छन् । ‘केटीएम पोस्ट’ नामक पेजले २४ डिसेम्बर २०२५ को बिहान ८ः२९ बजे ‘बालेन–रविको आँसु रोकिएन, जेन–जीलाई अचानक समस्या भएपछि भेट्न पुगे, सबैले गेट वेल सुन लेखौं’ क्याप्सनसहितको तस्बिर पोस्ट गरेको छ । त्यसको एक घण्टापछि पोस्ट भएको अर्को तस्बिरमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले औंला तेर्स्याएका छन् भने एमाले अध्यक्ष केपी ओलीजस्तै देखिने व्यक्ति हात जोडेर माफी मागेको जस्तो देखिन्छ । क्याप्सनमा लेखिएको छ, ‘बालेन र रविले जेल हाल्ने भनेपछि आत्तिए ओली, सही भने या गलत कमेन्ट गर्नुहोला’ । 

सोही दिन दिउँसो १२ः२७ मा पोस्ट भएको अर्को तस्बिरमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा जस्ता देखिने व्यक्तिले हात जोडिरहेका छन् । तस्बिरमा ‘जम्काभेट भएपछि रवि र बालेनले देउवाको सातो खाए, देउवालाई जे’लमा कोच्नु सही कि ग’लत कमेन्ट गरौं,’ लेखिएको छ । भोलिपल्ट बिहान ९ः१५ बजे पनि अस्पतालमा एक बिरामी जस्तै देखिने व्यक्तिनजिकै रवि र आशिका तामाङ जस्ता देखिने व्यक्ति रुँदै गरेको तस्बिर पोस्ट गर्दै लेखिएको छ, ‘रवि र आशिका तामाङ जेन–जीलाई भेटेर धुरुधुरु रोए, सबैले गेट वेल सुन लेखौं ।’ त्यसको ३ घण्टापछि पोस्ट भएको अर्को तस्बिरमा ओली जस्तै देखिने व्यक्तिलाई रवि र बालेनजस्तै देखिने व्यक्तिले धम्क्याइरहेको देखिन्छ । जसमा लेखिएको छ, ‘रवि–बालेनको एउटै स्वर– जेल नहाली छोड्दैनौं, दुवै जनाले सही भने या ग’लत कमेन्ट गरौं ।’

यी तस्बिरको कान्तिपुरले ‘एआई डिटेक्सन टुल’ मार्फत परीक्षण गर्दा ९९.९ प्रतिशत एआई सिर्जित भन्ने पुष्टि हुन्छ । यी पेजहरू आधिकारिक रूपमा कुनै राजनीतिक दलसँग आबद्ध रहेको देखिँदैन । सामाजिक सञ्जालमा चर्चित ‘रुटिन अफ नेपाल बन्द’ देखि ७ लाख २५ हजार फलोअर्सको ‘ट्रोल पोखरा’ र १ लाख ७८ हजार फलोअर्सको ‘नेपालगन्ज ग्यालरी’ जस्ता स्थानीयस्तरमा चर्चित पेजमा पोस्ट भएका सामग्रीको अध्ययन गर्दा दैनिक गतिविधिका सूचना, शैक्षिक जानकारी, हास्यव्यंग्य र मनोरञ्जनात्मक सामग्रीहरू प्रकाशित गरेको देखिन्छ । 

यी पेजहरूका ‘कन्टेन्ट एनालाइसिस’ गर्दा रास्वपाकेन्द्रित सामग्री हाबी भएको देखिन्छ । तर यो स्वाभाविक उत्साह, नियोजित रणनीति वा भावनात्मक सामग्रीप्रति एल्गोरिदमको झुकाव के हो भन्ने अनुत्तरित नै छ । डेटाले दुई ‘परम्परागत’ दल कांग्रेस र एमालेका कभरेजभन्दा रास्वपा, बालेन्द्र शाह, रवि लामिछाने र चुनाव चिह्न घण्टीलाई समर्थन गर्ने सामग्री धेरै देखाएको छ ।

अघिल्ला निर्वाचनहरूमा मत माग्न महत्त्वपूर्ण मानिने ठूला जनसभा, घरदैलो प्रचार, नीतिगत बहसहरू यस पटक सामाजिक सञ्जालकेन्द्रित भएका छन् । सञ्जालबाटै सूचना लिने र धारणा बनाउने ‘डिजिटल कल्चर’ हाबी भएको समयमा हामीले फलोअर संख्या, ‘इंगेजमेन्ट’ र नियमित ‘पोस्टिङ’ गतिविधि गरी तीन मापदण्डलाई आधार मानेर २४ वटा फेसबुक पेजहरू छनोट गरेका हौं । यी पेजहरूमा लाइक, कमेन्ट, सेयर र प्रभावकारी अन्तर्क्रिया देखिन्छ ।

प्रत्येक पेजका लागि कान्तिपुरले पछिल्ला २ सय पोस्टको विश्लेषण गर्दै एआई–आधारित उपकरणमार्फत सामग्री वर्गीकरण, विषयगत प्रवृत्ति पहिचान र राजनीतिक सन्दर्भ खोज्ने प्रयास गरेको हो । विश्लेषणका क्रममा दल, उम्मेदवार, पार्टीका चुनाव चिह्नजस्तै देखिने ‘इमोजी’ सँग सम्बन्धित पोस्टहरूलाई राजनीतिक रूपमा वर्गीकृत गरिएको छ । दलका नेताहरू र चुनाव चिह्न भएका पोस्टहरूलाई सम्बन्धित दलका सामग्रीका रूपमा ‘कोडिङ’ गरिएको छ । हाम्रो विश्लेषण विधिले प्रकाशित सामग्रीका प्रवृत्ति पहिचान गर्छ तर पेज सञ्चालकहरूको राजनीतिक दलसँग सम्बन्ध, तिनका नियत, समन्वय वा संलग्नता के हो भन्ने खुलाउँदैन । 

अध्ययन अवधिमा ‘अल्टर्नेटिभ फर नेपाल’ नामक फेसबुक पेजले प्रकाशित गरेका १ सय ९२ सामग्रीमध्ये १ सय ८१ (९४५) राजनीतिसँग सम्बन्धित देखिन्छ । तीमध्ये करिब ६०५ रास्वपा, बालेन वा रविमा केन्द्रित छ । पेजले धेरै पोस्टमा रास्वपाको निर्वाचन चिह्न प्रयोग गर्दै ‘बेल इमोजी’ राखेको देखिन्छ । १ लाख ४७ हजार फलोअर भएको ‘केटीएम पोस्ट’ ले १ सय ६१ पोस्ट गरेको देखिन्छ । जसमध्ये १ सय ११ वटा रास्वपासँग सम्बन्धित, ६ वटा एमालेसँग, ३ वटा कांग्रेस र एउटा अन्य राजनीतिक दलसँग सम्बन्धित पोस्ट छन् । ३७ वटा सामग्रीहरू गैरराजनीतिक देखिन्छ । प्रायः ‘मिम’ केन्द्रित रहेर सामग्री पोस्ट गर्ने ‘द नेपाली फेभर’ पेजले अध्ययन अवधिभर २ सय पोस्ट गरेको देखिन्छ । यीमध्ये १ सय ३५ (६८५) राजनीतिसम्बन्धी छन्, जसमा ‘बालेन शाह’ र ‘रवि लामिछाने’ जस्ता शब्दहरू प्रमुख ‘कि–वर्ड’ छन् । 

त्यस्तै करिब ५० लाख फलोअर भएको ‘रुटिन अफ नेपाल बन्द’ ले १७–२३ जनवरीमा २ सय पोस्ट गरेको छ । यीमध्ये ९९ (४९.५५) राजनीतिक सामग्री छन् । बाँकी १०१ अर्थात् (५०.५५) सामग्री गैरराजनीतिक छन् । राजनीतिक पोस्टहरूमा रास्वपासम्बन्धी सामग्री हाबी छ । यस पेजमा ‘बालेन शाह’, ‘रवि लामिछाने’ र ‘रास्वपा युवा उम्मेदवारहरू’ जस्ता शब्दहरू बारम्बार दोहोरिरहने ‘कि–वर्ड’ हुन् । यस पेजबाट कांग्रेससँग सम्बन्धित ११ (५.५५), एमालेसँग सम्बन्धित १० (५५), र नेकपासँग सम्बन्धित ४ (२५) सामग्री पोस्ट हुँदा रास्वपासँग सम्बन्धित ३२ (१६५) सामग्री पोस्ट भएका छन् ।

‘अहिलेको समय नै एकदम भावनात्मक छ,’ एआई विज्ञ दोभान राई भन्छिन्, ‘मान्छेले आफ्नो गड फिलिङको आधारमा निर्णय लिइरहेका छन्, जसलाई एल्गोरिदमले अझ बढी उकास्छ ।’ एल्गोरिदमले एउटा व्यापारीले जस्तै डेटाबाट ‘इन्टुसन’ विकास गरेर जे बिक्छ वा जे भाइरल हुन्छ, त्यही कुरालाई बढी फैलाउने राई बताउँछिन् । यस्ता पेजमा भावनात्मक प्रतिक्रिया उत्पन्न गर्ने सामग्री, विशेष गरी आक्रोश, प्रेरणा वा चिन्ताजनक सामग्रीहरूले तटस्थ सामग्रीभन्दा बढी ‘इंगेजिङ’ गराएको देखिन्छ ।

सन् २०२१ मा ‘ह्विसलब्लोअर’ (शंखघोषक) फ्रान्सेस हौगेनले ‘लिक’ गरेको आन्तरिक कागजातमा फेसबुकको एल्गोरिदमले ‘क्रोध’ उत्पन्न गर्ने सामग्रीलाई प्राथमिकता दिने खुलासा गरेका थिए । ‘लिक’ भएको यो कागजातका आधारमा ‘वाल स्ट्रिट जर्नल’ ले सेप्टेम्बर २०२१ मा ‘फेसबुक फाइल्स’ नामक अनुसन्धानात्मक रिपोर्ट नै प्रकाशन गरेको थियो ।

कान्तिपुरले नेपालमा पहिचान गरेको प्रवृत्ति विश्वका विभिन्न मुलुकका निर्वाचनमा देखिएको प्रवृत्तिसँग मिल्दोजुल्दो छ । फिलिपिन्स, भारत र म्यानमारका निर्वाचनमा फेसबुकको भूमिकाबारे भएका अनुसन्धानले नीतिगत बहसभन्दा व्यक्तिकेन्द्रित, भावनात्मक रूपमा उत्तेजित राजनीतिक सामग्री धेरै इंगेजिङ हुने देखाएका छन् । ‘नेपाल झन् बढी जोखिममा छ, किनकि हामीसँग न त यस्ता कुरालाई रोक्ने अलार्मिङ सिस्टम छ, न त प्रभावकारी संस्थाहरू नै,’ राई भन्छिन् । 

म्यानमारमा संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले फेसबुकको एल्गोरिदमले घृणास्पद अभिव्यक्ति र दुष्प्रचारलाई बढावा दिएको र त्यसले रोहिंग्या मुसलमानविरुद्धको हिंसा बढाउन योगदान पुर्‍याएको निष्कर्ष निकालेका थिए । त्यसपछि २०१८ मा कम्पनीले आफ्नो प्लाटफर्म ‘विभाजन उक्साउने र अफलाइन हिंसा भड्काउने’ सामग्रीका लागि प्रयोग हुन नदिन पर्याप्त कदम चाल्न नसकेको स्वीकारसमेत गरेको थियो ।

९५ हजार फलोअर भएको ‘मिस पाबी ४१’ पेजले १५ जनवरीमा युटुबर भोजराज थापा अस्पतालको बेडमा बिरामी परेर ल्याइएको तस्बिर पोस्ट गरेको छ । जसमा रास्वपा सभापति लामिछाने उनको छेउमा हात जोडेर रुँदै गरेको र शाहले थापाको हात समातेको जस्तो देखिन्छ । क्याप्सनमा लेखिएको छ, ‘रवि र बालेनले बिहान उठेर भोजराज थापालाई भेट्न पुगे । सबैले ‘गेट वेल सुन’ लेखिदिनुस् ।’ अधिकांश कमेन्ट पनि ‘गेट वेल सुन’ लेखिएकै छन् । तर यो तस्बिर पनि एआई–सिर्जित नै हो ।

धेरै पेजहरूले गलत सूचनाहरू पनि सेयर गरेका छन्, जसमा एआईनिर्मित तस्बिर र कांग्रेस सभापति गगनकुमार थापालाई जनताले लखेटेको जस्तो देखिने वा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हिरासतमा लिएका भन्ने झूटा दाबीहरू पनि पोस्ट भएका छन् । कतिपय पोस्टमा नेकपाका संयोजक पुष्पकमल दाहाललाई जनताले लखेट्दै गरेको जस्तो देखिने भिडियोहरू पनि पोस्ट भएका छन् । 

तथ्य–जाँचकर्ता पत्रकार दीपक अधिकारीले पनि यस्ता पेजहरूबाट अप्रमाणित एआई–सिर्जित सामग्री पोस्ट हुने गरेको पुष्टि गरे । भने, ‘यिनै पेजहरू मिथ्या सूचना फैलाउनेमा अग्रपंक्तिमा छन् ।’ विश्लेषणमा परेका पेजमध्ये सबैभन्दा प्रभावशाली ‘रुटिन अफ नेपाल बन्द’ मा युवा समर्थक ठूलो समूहको झुकाव बढी देखिन्छ । जसमा झापामा बालेनलाई समर्थन गर्ने र ओलीको पराजय देख्न चाहनेहरू उल्लेख्य छन् । यस पेजले ६ सेप्टेम्बर २०२५ को बिहान १०ः३३ बजे सवारीले बालिकालाई ठक्कर दिएको सूचना पोस्ट गरेको थियो । उक्त पोस्टमा लेखिएको छ, ‘जस्ट इन : ललितपुरको हरिसिद्धिमा प्रदेशमन्त्रीको कारले एक जना नानीलाई ठक्कर दिएर भागेको कारण पब्लिकले बिहानदेखि रोड ब्लक गरेका छन् ।’ त्यसको ३७ मिनेटपछि अर्को सूचना प्रकाशन भयो । तत्कालीन प्रधानमन्त्री ओलीको तस्बिरमा लेखिएको थियो, ‘जनतालाई कारले लाग्दा नेताहरू नरोकी हिँड्ने अनि प्रधानमन्त्रीले ‘सामान्य’ भन्दै साइड लगाउने : हरिसिद्धिमा भएको हालैको दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन ।’

गत २२ माघमा रौतहटमा रास्वपाको स्टिकर टाँसिएको गाडीको ठक्करबाट चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भयो । त्यो घटनामा पनि ‘रुटिन अफ नेपाल बन्द’ ले ५ फेब्रुअरीको साँझ ५ः१४ बजे ‘दुःखद खबर’ भन्दै पोस्टमा लेखिएको छ, ‘दुःखद खबर : बाटोमा खेल्दै गरेको नानीलाई रौतहटमा एउटा कारले ठक्कर दिँदा मृत्यु भएको छ । थप अनुसन्धान भइरहेको छ । न्युज स्रोतः जिप्रका, रौतहट ।’ तर २१ भदौको घटनामा जस्तै अर्को पोस्टमा सूचना पोस्ट गरेन बरु पुरानै पोस्टलाई इडिट गरेर सूचना थप्यो । पहिलो सूचना पोस्ट भएको २२ मिनेटपछि इडिट गर्दै, ‘...थप अनुसन्धान भइरहेको छ । अपडेट : हामीले जिल्ला प्रहरी कार्यालय रौतहट मा बुझ्दा दु’र्घ’टना गराउने गाडी खाली भेटिएको र गाडीमा रास्वपाको स्टिकर टाँसिएको थियो भने अहिले गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।’ यसको ठीक ५० मिनेटपछि तेस्रो पटक पोस्ट इडिट गर्दै ‘गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ’ लेखेको छ ।

एकै खालका घटनामा यसरी फरक–फरक शैलीमा व्याख्या गरेर सूचना पोस्ट गरेको भन्दै उक्त पेजको आलोचनासमेत भएको थियो । तर ‘रुटिन अफ नेपाल बन्द’ ले भने आफूहरूले कुनै पनि उम्मेदवार वा पार्टीलाई फाइदा पुर्‍याउन ‘सेलेक्टिभ इन्फर्मेसन’ नदिने बताएको छ । ‘हामी छानेर पोस्ट गर्दैनौं र कुनै पार्टी वा उम्मेदवारलाई समर्थन गरेका छैनौं,’ उक्त पेजका संस्थापक भिक्टर पौडेलले भने, ‘बालेनका पोस्टहरूमा धेरै इंगेजमेन्ट देखिएको कारणले गर्दा उनको पोस्ट धेरै लागेको हो ।’ 

कान्तिपुरले विश्लेषणका लागि परीक्षण गरेका सबै पेजहरूले राजनीतिक टिप्पणीलाई प्राथमिकता दिएका छन् । लक्ष्य सापकोटा संस्थापक रहेको ‘केम्याग नेपाल’ ले दैनिक क्रियाकलापसम्बन्धी सामान्य समाचार र अपडेट गर्ने दाबी गरेको छ तर १ लाख ३ हजार फलोअरलाई स्पष्ट वैचारिक ढाँचाको सामग्री पस्किरहेको छ । ‘पेज ट्रान्सरेन्सी’ अनुसार यस पेजको ‘एडमिन’ मध्येका एक जना अस्ट्रेलियामा भएको देखिन्छ ।

१ देखि २२ जनवरीमा परीक्षण गरिएका २ सय पोस्टमध्ये १ सय २९ प्रत्यक्ष रूपमा राजनीतिसँग सम्बन्धित छन् । जसमा संस्थागत सुधार, कानुनको शासन, खुला बजारको सोच, व्यक्तिगत स्वतन्त्रता र सूचित मतदानका विषयहरूमा प्रायः चर्चा भएका छन् । पेजले कांग्रेसका सभापति थापालाई विशेष महत्त्व दिएको देखिन्छ । उनलाई ‘कांग्रेसभित्र सबैभन्दा सुधारवादी, उदारवादी र अगाडि हेर्ने नेता’ र ‘पुराना पार्टीहरूभित्र परिवर्तन सम्भव गर्न सक्ने, युवा पुस्ताका प्रतिनिधि व्यक्तित्व’ को रूपमा चित्रण गरेको छ । यद्यपि यस पेजमा पनि ‘बालेन शाह’ र ‘रवि लामिछाने’ बारम्बार उल्लिखित ‘कि–वर्ड’ हरू हुन् । दलको स्पष्ट प्रचार नदेखिए पनि अप्रत्यक्ष रूपमा घण्टी ‘इमोजी’ धेरै पेजमा दोहोरिरहेको देखिन्छ । तर कान्तिपुरले अध्ययन गरेका कुनै पनि पेजका ‘एडमिन’ हरू सार्वजनिक रूपमा रास्वपासँग आबद्ध भएको प्रमाण देखिँदैन । 

यद्यपि, यी पेजहरूमा उस्तै सन्देशको सामूहिक प्रवर्द्धनले केही प्रश्नहरू भने अवश्य उब्जाउँछ । के रास्वपा स्वतःस्फूर्त रूपमा अनुकूल सामग्री उत्पादन गर्ने समर्थकका ‘अर्गानिक डिजिटल इकोसिस्टम’ बाट लाभान्वित भइरहेको छ ? के फेसबुकको एल्गोरिदमले रास्वपाको ब्रान्डसँग मेल खाने भावनात्मक र व्यक्तिकेन्द्रित सामग्रीलाई प्राथमिकता दिइरहेको छ ? र, ‘परम्परागत दल’हरूले यस्तै रणनीति नअपनाई प्रतिस्पर्धा गर्न सक्छन् ? अधिकारी भन्छन्, ‘सामाजिक सञ्जालमा एआईमार्फत तयार गरिएका तस्बिर र भिडियो प्रयोग गर्दै न्यारेटिभ वार चलिरहेको छ ।’ उनका अनुसार यस्ता सामग्रीले निर्वाचनको परिणाममा समेत प्रभाव पार्न सक्छन् । ‘नेपालमा यसबारे अहिलेसम्म कुनै व्यवस्थित अध्ययन भएको छैन, त्यसैले ठोस निष्कर्ष निकाल्न हतारो हुन सक्छ,’ उनले भने, ‘तर सामाजिक सञ्जालमार्फत हुने चुनावी प्रचारको शैली र तीव्रता स्पष्ट रूपमा बढ्दै गएको छ ।’

‘परम्परागत राजनीतिक दल’हरू डिजिटल परिवेशअनुसार आफूलाई ढाल्ने प्रयासमा रहेको बताउँछन्, तर उनीहरूसँग स्रोतसाधन भने सीमित छन् । एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाही भन्छन्, ‘हामी जेन–जी पुस्तासँग संवाद गर्न टिकटक र छोटा भिडियो सामग्री उत्पादन गरिरहेका छौं । भ्रष्टाचारविरोधी मुद्दा र विभिन्न विश्वव्यापी सूचकांकसँग सम्बन्धित विषयमा उनीहरूलाई संलग्न गराउने हाम्रो योजना छ,’ उनले भने । शाही एमालेको डिजिटल अभियान ‘अर्गानिक’ भएको दाबी गर्छन् । ‘डिजिटल क्याम्पेनमा हामीले गरिरहेको सबै काम पूर्णतः स्वैच्छिक हो । उनीहरू पारिश्रमिकमा राखिएको टोली होइनन् । हामीले मेटालाई पैसा तिरेका छैनौं, न त कुनै पोस्ट बुस्ट गर्न खर्च गरेका छौं,’ उनले थपे ।

कांग्रेसले पनि १५ सदस्यीय मिडिया टोली सञ्चालन गर्दै आएको छ, जसले भिडियो सम्पादन र समाचार लेखनको काम सम्हाल्छ । ‘हामी पार्टीका एजेन्डाअनुसार विभिन्न तस्बिर, भिडियो र क्लिप सिर्जना गरेर सामग्री उत्पादनमा काम गर्छौं,’ मिडिया सेन्टरका संयोजक जीवन भण्डारी भन्छन्, ‘हाम्रो मुख्य फोकस फेसबुकमा छ, तर टिकटक र एक्समा पनि बलियो बौद्धिक समुदाय छ ।’ त्यस्तै नेकपाले पनि गलत सूचना र एआई–सिर्जित सामग्रीसँग जुध्न प्राथमिकता दिएको पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए । ‘अधिकांश सहकर्मीहरू स्वैच्छिक रूपमा काम गरिरहेका छन्,’ सापकोटाले भने ।

‘परम्परागत दल’हरूले वर्णन गरेको र कान्तिपुरको गरेको विश्लेषणबीच ठूलो भिन्नता देखिन्छ । एमालेले जेन–जी लक्षित गर्दै डिजिटल अभियान सञ्चालन गरे पनि र कांग्रेसको १५ सदस्यीय मिडिया टोली भए पनि, विश्लेषण गरिएका पेजहरूमा उनीहरूको राजनीतिक पोस्टको १९ प्रतिशत मात्रै देखिन्छ । यसरी हेर्दा पाँच भागमध्ये ४ भाग रास्वपाले ओगटेको देखिन्छ भने कांग्रेस, एमाले र नेकपा गरी समग्रमा उनीहरूको सामग्री ५ भागमध्ये १ भाग मात्रै ओगटिएको देखिन्छ । 

रास्वपाले केन्द्र, जिल्ला र उम्मेदवारअनुसार फरक–फरक प्रचार समिति बनाएर ‘डिजिटल क्याम्पेन’ गरिरहेको पार्टीका प्रवक्ता मनीष झाले बताए । ‘केन्द्रमा बसेर काम गर्ने २/३ वटा टिम छन्, जिल्लामा निर्वाचन परिचालन समिति बनाइएको छ,’ झाले भने । रास्वपाले कुनै पनि पेजलाई पैसा तिरेर कन्टेन्ट पोस्ट गर्न नलगाएको उनले बताए । ‘पेजहरूलाई हाम्रो कन्टेन्ट हाल भनेर कन्ट्रयाक्ट’ गरेका छैनौं । उहाँहरू आफैंले सहयोग गर्नुभएको हो,’ झाले भने । त्यसो भए भावनात्मक सामग्री र मिथ्या सूचना किन प्राथमिकतामा छन् भन्ने कान्तिपुरको प्रश्नमा उनले आफूहरूले जनताको चाहनाअनुरूप कन्टेन्ट दिएको तर मिथ्या सूचनालाई प्रवर्द्धन नगर्ने बताए ।

अहिलेसम्म स्पष्ट नभएको अर्को कुरा के हो भने, एकै पार्टीका लागि हुने सामाजिक संलग्नता र अनलाइन समर्थन मतदानमा कति परिणत हुन्छ ? कान्तिपुरले पछिल्ला केही महिनायता काठमाडौंका विभिन्न मतदातासँग सामाजिक सञ्जाल प्रयोग र राजनीतिक जानकारीका स्रोतबारे कुराकानी गरेको छ । अनामनगरमा किराना पसल सञ्चालन गर्दै आएका ४८ वर्षीय नीराजन खड्काले कुनै पार्टीको घोषणापत्र पढेका छैनन्, न त उम्मेदवारका बहसहरू नै हेरेका छन् । तर हरेक बिहान घण्टौं फेसबुक स्क्रोल गरेर आफ्नो मत निर्धारण गरेका छन् । भने, ‘आजकाल प्रचारका क्रममा उम्मेदवारका तमासा हेर्न रमाइलो लाग्छ । सायद म यस्ता कुराहरू धेरै हेर्ने भएकाले होला त्यस्तै कुरा बारम्बार देखिन्छन् ।’

थापागाउँका २८ वर्षीय होटल व्यवसायी प्रकाश विश्वकर्मा पनि उस्तै प्रवृत्ति देख्छन् । ‘म अन्य पार्टीका उम्मेदवारहरू पनि देख्छु, तर बढी घण्टीका उम्मेदवारको सामग्री नै आउँछ,’ उनले भने । तर बारम्बार दोहोरिरहने एकैखाले पोस्टबाट ५६ वर्षका ‘फेन्सी पसल’ सञ्चालक पूर्णबहादुर बस्नेत भने असन्तुष्ट छन् । ‘अहिलेको अवस्थामा रास्वपा उम्मेदवारहरू मेरो फिडमा लगातार देखिन्छन् । हटाउन मिल्ने भए हटाइदिन्थें,’ उनले भने । 

फेसबुकको माउ कम्पनी ‘मेटा’ ले आफ्नो प्लाटफर्मले विश्वव्यापी निर्वाचनमा पार्ने प्रभावबारे बढ्दो शंका भोगिरहेको छ, विशेषगरी अमेरिका बाहिरका मुलुकहरूमा । २०२४ को अन्त्यतिर, मेटाले भनेको थियो कि यसले निर्वाचन इमानदारी सुनिश्चित गर्नका लागि ‘डेडिकेटेड टिम’ बनाएको छ । जसमा ‘इन्टेलिजेन्स’, डाटा साइन्स, इन्जिनियरिङ, अनुसन्धान, सामग्री तथा सार्वजनिक नीति र कानुनी टिमका सदस्यहरू समावेश छन् । ‘हामीले विश्वभर विभिन्न निर्वाचन सञ्चालन केन्द्रहरू चलाएका छौं, जसले उठेका समस्याहरू तुरुन्तै निगरानी र प्रतिक्रिया दिन सघाएको छ, जसमा अमेरिका, बंगलादेश, इन्डोनेसिया, भारत, पाकिस्तान, युरोपियन संसद्, फ्रान्स, बेलायत, दक्षिण अफ्रिका, मेक्सिको र ब्राजिलका प्रमुख निर्वाचन पनि समावेश छन्,’ मेटाले आफ्नो नोटमा उल्लेख गरेको छ । 

तर आलोचकहरू भने मेटाले पश्चिमी र ठूलो बजारमा मात्र केन्द्रित रहेर आफ्नो टोली खटाएको टिप्पणी गर्छन् । जसले नेपाल जस्ता साना देशहरूमा न्यूनतम निगरानी मात्र सुनिश्चित गरेको छ । नेपालको निर्वाचन आयोगले पनि सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता विपरीतका सामग्री हटाउन सम्बन्धित निकायलाई औपचारिक पत्र लेखेर अनुरोध गर्छ । ‘आयोगले नेपाल प्रहरीको साइबर ब्युरो र नेपाल दूरसञ्चार प्राधिकरणलाई कारबाही गर्न सिफारिस गर्छ, त्यसपछि ब्युरोले फ्ल्याग गरिएको सामग्री हटाउन सम्बन्धित प्लाटफर्महरू वा संस्थाहरूसँग सम्पर्क गर्छ,’ निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीषले भनिन् ।

श्रीषका अनुसार, २० फेब्रुअरीसम्म, साइबर ब्युरोले सामाजिक सञ्जालमा भेटिएका २ सय ९० वटा सामग्री हटाउने प्रस्ताव गरेको छ । यीमध्ये १ सय ७ हटाइसकिएका छन् । हटाइएका अधिकांश सामग्री टिकटकमा थिए, जबकि फेसबुकमा हटाइएका पोस्टको संख्या नगण्य छ ।

२०७९ को निर्वाचनको क्रममा, मेटाले आचारसंहिताको उल्लंघन गर्ने सामग्रीको रिपोर्टिङ र हटाउने प्रक्रिया सहज बनाउन समर्पित पोर्टल नै बनाएको थियो । तर यस पटक भने सहकार्य गरेको देखिएन । ‘यस पटक हामीले त्यही स्तरको सहयोग पाएका छैनौं,’ उनले भनिन्, ‘हामी विशेष सामग्री हटाउन उनीहरूलाई पत्र लेख्छौं, तर विरलै प्रतिक्रिया आउँछ । अकाउन्ट सञ्चालक पत्ता लगाउन सहयोग गरेको छैन ।’

नेपालमा हुने निर्वाचनका क्रममा राजनीतिक सामग्रीसँग सम्बन्धित फेसबुकका नीतिहरू के छन्, के यसले नेपालमा नियोजित अभद्र व्यवहारहरूको निगरानी गर्छ, र यी पेजहरूसँग सम्बन्धित उल्लंघन पहिचान गरेको छ कि छैन भनेर सोध्न, कान्तिपुरले चार पटकसम्म मेटालाई इमेलमार्फत सम्पर्क गरे पनि कुनै जवाफ आएन । 

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully