सडक दुर्घटनासम्बन्धी बनेका विभिन्न छानबिन समिति र अध्ययन प्रतिवेदनको कार्यान्वयन गरिने गृहमन्त्री अर्यालले प्रतिबद्धता जनाएका छन् ।
What you should know
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षामा बनेका कानुनको प्रभावकारी कार्यान्वयन र कडाइका साथ नियमन गर्न निर्देशन दिए ।
धादिङमा आज बिहान भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा उनले दुर्घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । निर्वाचन सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता ठूला मानवीय सडक दुर्घटनाले सुरक्षामा चुनौती थपिन सक्ने खतरा औँल्याउँदै बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वक लाग्न सबै सरोकारवालालाई आग्रह गरे ।
'सडक र नागरिकको सुरक्षामा हेलचेक्र्याइँ गरिनु हुँदैन । कसैलाई पनि दण्डहीनता क्षम्य हुनेछैन । त्यसैले सडक सुरक्षालाई मजबुद बनाउन सबै निकाय जिम्मेवारी भएर लाग्नुपर्छ,' उनले भने । सडक दुर्घटनासम्बन्धी बनेका विभिन्न छानबिन समिति र अध्ययन प्रतिवेदनको कार्यान्वयन गरिने, राजमार्गको ट्राफिक व्यवस्थापन, सडक नियमन र अनुगमनलाई प्रभावकारी बनाइने उनले प्रतिबद्धता जनाए ।
बैठकमा मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी थिए ।
बैठकले घाइतेहरुको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शीघ्र प्रतिवेदन बुझाएर यथाशीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ । आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरणका लागि कडाइका साथ कानुन कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालक तथा सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस बिहान १ः३० मिनेटमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौंडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा अहिलेसम्म १९ जनाको मृत्यु पुष्टि भइसकेको छ । ९ जनाको मात्र सनाखत भएको छ।
घाइतेहरुलाई काठमाडौँ ल्याएर उपचार थालिएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा १४ र नेसनल अस्पताल कलंकीमा १० जनाको उपचार भइरहेको छ।
