दुर्घटनामा एक जना बेलायती नागरिकसहित १९ जनाको मृत्यु भएको छ
काठमाडौँ — सरकारले धादिङ बस दुर्घटनाका बारेमा छानबिन गर्न समिति गठन गर्ने भएको छ । सोमबार बिहान गृह मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकमा छानबिन समिति गठन गर्ने सहमति भएको हो ।
गृह मन्त्रालयकी सूचना अधिकारी उपसचिव रमा आचार्य सुवेदीका अनुसार मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव, भौतिक तथा यातायात पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी महासंघ र मजदुर संघका प्रतिनिधि सहभागी थिए ।
समितिमा को-को रहने भन्ने निर्णय भइनसकेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् । उनले भनिन्, 'बैठकमा घाइतेहरूको उद्धार, दोषीलाई कारबाही गर्ने र समिति गठन गर्ने कुरा भयो । त्यस्तै राहतका विषयमा पनि छलफल भएको छ ।'
सोमबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-५ भैंसीगौंडामा दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार दुर्घटनामा एक जना बेलायती नागरिकसहित १९ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जनाको सनाखत भएको छ । त्यस्तै विभिन्न अस्पतालमा २५ जना घाइतेको उपचार भइरहको छ ।
