सौर्य विमान दुर्घटनामा परिवार गुमाएका खतिवडाको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

१८ महिनाअघि सौर्य एयरलायन्सको सीआरजे–२०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा क्याप्टेन मनिसरत्न शाक्यबाहेक एक बालकसहित १८ जनाको ज्यान गएको थियो।

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

Supreme Court orders show cause in Khatiwada's writ petition, which lost family in solar plane crash

What you should know

काठमाडौँ — सर्वोच्च अदालतले सौर्य एयरलायन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन सदस्य गुमाएका प्रकाशकुमार खतिवडाले दायर गरेको उत्प्रेषण रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोट निवासी खतिवडाले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसमेतलाई विपक्षी बनाई सोमबार रिट दर्ता गराएका थिए।

मंगलबार रिटको पहिलो सुनुवाइका क्रममा न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्ने आदेश दिएको हो। 

अदालतका अनुसार उक्त रिट हाल विचाराधीन अवस्थामा रहेको छ।

१८ महिनाअघि सौर्य एयरलायन्सको सीआरजे–२०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा क्याप्टेन मनिसरत्न शाक्यबाहेक एक बालकसहित १८ जनाको ज्यान गएको थियो। 

उक्त दुर्घटनामा ४ वर्षका अधिराज शर्मा, प्रिजा खतिवडा र मनुराज शर्माको घटनास्थलमै मृत्यु भएको थियो। यी तीनै जना सप्तरी मूल घर भएका ५५ वर्षीय प्रकाश खतिवडाका छोरी, नाति र ज्वाइँ हुन्।

खतिवडाले उक्त दुर्घटना ‘सामूहिक हत्या’ भएको आरोप लगाउँदै उच्चस्तरीय न्यायिक छानबिनको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। साथै, सौर्य एयरलायन्समाथि लगाइएको निलम्बन फुकुवा तथा एयर अपरेटर सर्टिफिकेट (एओसी) नवीकरणमा आर्थिक चलखेल भएको दाबीसमेत उनले गरेका छन्।

उनका अनुसार, प्रतिनिधिसभाको मनोनयन प्रक्रिया सुरु हुन केही दिनमात्रै बाँकी रहेकै बेला २०८२ माघ ४ गते सौर्य एयरलायन्सको एओसी नवीकरण गरी उडानको अनुमति दिइनु शंकास्पद छ। 

‘मैले सर्वोच्च अदालतमा बहसका क्रममा सौर्य एयरलायन्सको निलम्बन फुकुवामा आर्थिक चलखेल भएको कुरा राखेको छु,’ खतिवडाले बुधबार साँझ कान्तिपुरसँग सप्तरीबाट कुरा गर्दै भने, ‘मसँग प्रमाण छन्, समय आएपछि स्रोतको सुरक्षा गर्दै सार्वजनिक गर्नेछु।’

यस मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणसहित १४ वटा निकाय र व्यक्तिलाई विपक्षी बनाइएको छ।

कान्तिपुर

Link copied successfully