परराष्ट्रमन्त्री बालानन्द शर्मासमेत शपथ समारोहमा सहभागी हुँदै छन् ।
What you should know
काठमाडौँ — बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का अध्यक्ष तरिक रहमानले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिँदै छन् । गत बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बीएनपीले दुई तिहाइभन्दा धेरै सिट जितेको थियो ।
बंगलादेशको संसद् भवनको दक्षिण प्लाजामा शपथ समारोह राखिएको छ । बिहान १० बजे सांसदको शपथ र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथको तयारी गरिएको बंगलादेशी सञ्चारमाध्यम द डेलिस्टारले जनाएको छ ।
विगतमा शपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेको थियो । यो राष्ट्रपतिको आवास पनि हो । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार यस पटक ठूलो संख्यामा अतिथि निम्त्याइएका कारण संसद् भवनको दक्षिण प्लाजामा समारोह राखिएको हो ।
बंगलादेशी सञ्चार संस्था प्रोथम आलोका अनुसार अन्तरिम सरकारका प्रमुख सल्लाहकार (प्रधानमन्त्री) मोहम्मद युनिसले शपथ समारोहका लागि नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, चीन, साउदी अरेबिया, टर्किए, यूएई, कतार, मलेसिया र ब्रुनाईलगायत मुलुकका सरकार प्रमुखहरूलाई निमन्त्रणा पठाएका छन् ।
नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा शपथ समारोहमा सहभागी हुँदै छन् । त्यसका लागि उनी सोमबार ढाका प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतबाट लोकसभाका सभामुख ओम बिर्ला सहभागी हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसैगरी पाकिस्तानबाट योजना तथा विकासमन्त्री असन इक्वा सहभागी हुँदै छन् । २ सय ९९ स्थानमा भएको निर्वाचनमा २ सय ९७ सिटको मतगणना हुँदा बीएनपीले २ सय ९ सिट जितेको थियो । बाँकी दुई सिटमा अदालतले मतगणना रोक्न आदेश दिएको थियो । कुल ३ सय प्रत्यक्ष सिटमध्ये एक सिटमा उम्मेदवारको निधनले निर्वाचन स्थगित भएको थियो । बंगलादेशको संसद्मा कुल ३ सय ५० सिट छ । त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ । यसमा पार्टीहरूले प्रत्यक्षतर्फ ल्याएको मतभारलाई आधार मानेर समानुपातिक रूपमा प्रतिनिधि चयन गरिन्छ ।
नयाँ संसद्मा जम्मा आठ दलको प्रतिनिधित्व हुनेछ, जसमध्ये पाँच दलका शीर्ष नेताहरू पहिलो पटक सांसदका रूपमा निर्वाचित भएका हुन् । बीएनपीका २ सय ९ सांसदमध्ये १ सय ३२ नयाँ हुन् । जमात–ए–इस्लामीका ६८ सांसदमध्ये ५९ जना नयाँ छन् । विद्यार्थी आन्दोलनपछि जन्मिएको नेसनल सिटिजन पार्टी (एनसीपी) का सबै ६ सांसद नयाँ हुन् । ७ स्वतन्त्रमध्ये ६ जना पहिलो पटक निर्वाचित भएका हुन् । पूर्वप्रधानमन्त्री हसिना वाजेदको दल अवामी लिगलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।
डेढ वर्षअघि भएको विद्यार्थी आन्दोलनले हसिना नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । आन्दोलनका क्रममा भएको सरकारी दमनमा १ हजार ४ सयभन्दा बढी प्रदर्शनकारी मारिएका थिए । आन्दोलन चर्किंदै गएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । र, लगत्तै बंगलादेश छाडेर भागेकी उनी भारतको नयाँदिल्लीमा निर्वासित जीवन बिताइरहेकी छन् ।
