बंगलादेशको संसद् भवनको दक्षिण प्लाजामा सपथ समारोह राखिएको छ । बिहान १० बजे सांसद्को सपथ र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरुको सपथ राख्ने तयारी भएको बंगलादेशी सञ्चारमाध्यम द डेलीस्टारले जनाएको छ ।
What you should know
काठमाडौँ — बंगलादेशमा राष्ट्रिय पार्टी (बीएनपी) का अध्यक्ष तरिक रहमानले मंगलबार प्रधानमन्त्रीको सपथ लिने भएका छन् ।
गत बिहीबार सम्पन्न निर्वाचनमा बीएनपीले दुई–तिहाईभन्दा धेरै सिट जितेको थियो ।
बंगलादेशको संसद् भवनको दक्षिण प्लाजामा सपथ समारोह राखिएको छ । बिहान १० बजे सांसद्को सपथ र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरुको सपथ राख्ने तयारी भएको बंगलादेशी सञ्चारमाध्यम द डेलीस्टारले जनाएको छ । नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सपथ समारोहमा सहभागी हुनेछन् ।
त्यसका लागि उनी सोमबार ढाका प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतबाट लोकसभाका सभामुख ओम बिर्ला सहभागी हुने भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ । त्यसैगरी पाकिस्तानबाट योजना तथा विकास मन्त्री असन इक्वा सहभागी हुने पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
सपथ समारोहका लागि नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान, चीन, साउदी अरेबिया, टर्की, युएई, कतार, मलेसिया र ब्रनाईका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको छ ।
बिहीबार २ सय ९९ स्थानमा सम्पन्न निर्वाचनमा २ सय ९७ सिटको मतगणनामा हुँदा बंगलादेश राष्ट्रिय पार्टीले २ सय ९ सिट जितेको थियो । सहयोगी दलहरू समेत जोड्दा बीएनपी नेतृत्वको गठबन्धनले कुल २ सय १२ सिट जित्यो ।
दुई सिटमा अदालतको आदेशले मतगणना रोकिएको छ । कुल ३ सय प्रत्यक्ष सिटमध्ये एक सिटमा उम्मेदवारको निधनले निर्वाचन स्थगित भएको थियो ।
बंगलादेशको संसद्मा कुल ३ सय ५० सिट छ । त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ । यसमा पार्टीहरुले प्रत्यक्षतर्फ ल्याएको मतभारलाई आधारमा मानेर समानुपातिक रूपमा प्रतिनिधि चयन गरिन्छ ।
