बंगलादेशको सांसद्मा दुई–तिहाई नयाँ अनुहार 

'०२४ को जनविद्रोहको प्रमुख आकांक्षामध्ये नेतृत्व परिवर्तन पनि एक थियो ।'

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

Two-thirds of Bangladesh's parliament members are new faces

What you should know

काठमाडौँ — बंगलादेशमा दुई–तिहाई नयाँ सांसद् निर्वाचित भएका छन् । मतगणना सम्पन्न भएका २ सय ९७ सिटमध्ये कुल २ सय ९ सांसद् नयाँ छन् ।

बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का २ सय ९ सांसद्‍मध्ये १ सय ३२ नयाँ हुन् । जमात् ई ईस्लामीका ६८ सांसद्मध्ये ५९ जना नयाँ छन् । विद्यार्थी आन्दोलनपछि जन्मिएको नेशनल सिटिजन पार्टी (एनसिपी) का सबै ६ सांसद् नयाँ हुन् । ७ स्वतन्त्रमध्ये ६ जना पहिलोपटक निर्वाचित भएका हुन् । 

नयाँ संसदमा जम्मा आठ दलको प्रतिनिधित्व हुनेछ, जसमध्ये पाँच दलका शीर्ष नेताहरू पहिलो पटक सांसदको रूपमा निर्वाचित भएका हुन् ।  बीएनपी अध्यक्ष तरिक रहमान, जमात् प्रमुख साफिकर रहमान, एनसिपी नेता नेता नाहिद इस्लाम, गानो सम्हाती आन्दोलनका नेता जोनायद साकी र गोनो अधिकार परिषद्का नेता नुरुल हक नुर  नयाँ हुन् । 

तरिकले आगामी साता प्रधानमन्त्रको सपथ लिदैंछन् । साफिकर प्रमुख प्रतिपक्षी दलका नेता हुन् । 

संसदीय मामिला विज्ञ निजाम अहमदले सदनका नेता र विपक्षी नेता दुवै पहिलो पटक सांसद् हुनु ‘अभूतपूर्व’ रहेको  बताए ।

ढाकास्थित नर्थ साउथ युनिभर्सिटीको साउथ एसियन इन्स्टिच्युट अफ पोलिसी एण्ड गभर्नेन्सका निर्देशक प्रोफेसर एसके तौफिक एम हकले नयाँ सांसद्हरुले प्रभावशाली काम गर्ने अपेक्षा गरेका छन् ।

‘यदि हामीले १९९१ देखि २००८ सम्मको अवधिलाई हेर्‍यौं भने पुराना नेताहरुकै कारण संसद् निष्प्रभावी बनेको थियो ।  संसदमा नयाँ सदस्यहरू हुनुले परिवर्तनको अवसर सिर्जना गर्न सक्छ । २०२४ को जनविद्रोहको प्रमुख आकांक्षामध्ये नेतृत्व परिवर्तन पनि एक थियो,’ उनले भने, ‘यदि नयाँ आउनेहरूले आफ्नो मानसिकतामा परिवर्तन ल्याउन सके भने संसदभित्र घनिभूत बहस र संवाद हुनेछ । राजनीतिक दलहरू आफ्ना गुनासोहरू सार्वजनिक गर्न सडकमा निस्कनुपर्ने छैन ।’

तौफिकले पहिलो पटक सांसद् बनेकाहरुले जनविद्रोहको आकांक्षालाई प्रतिबिम्बित गर्ने आशा व्यक्त गरे । ‘मानिसहरू पुरानो नेतृत्वमा परिवर्तन चाहन्थे । उनीहरू नयाँ अनुहार चाहन्थे, उनीहरू युवाहरू चाहन्थे,’ उनले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully