सिरहा कारागार अझै अशान्त, तीनै निकायका सुरक्षाकर्मी परिचालन

नाइके यादवनिकट कैदीहरूले कारागारभित्र आगजनी गर्दै प्रदर्शन थालेका थिए । सुरक्षाकर्मीले कारागार बाहिरबाट पानीको फोहोरा हालेर आगो नियन्त्रणमा लिएका थिए

माघ २६, २०८२

विनय आजाद

Siraha Prison still in turmoil, security personnel from all three agencies mobilized

What you should know

सिरहा — सिरहा कारागारमा उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन । जिल्ला सुरक्षा समितिले सोमबार अनुगमनका क्रममा कारागारका नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएपछि सुरु भएको तनाव अझै नियन्त्रणमा आउन नसकेको हो ।

अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली, नगद १ लाख २० हजार रुपैयाँ, चुरोट, सुर्तीलगायत सामग्री भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा अनुसन्धान भइरहेको छ ।तर, त्यससँगै नाइके यादवनिकट कैदीहरूले कारागारभित्र आगजनी गर्दै प्रदर्शन थालेका थिए । सुरक्षाकर्मीले कारागार बाहिरबाट पानीको फोहोरा हालेर आगो नियन्त्रणमा लिए पनि उनीहरू अझै कारागारभित्र प्रदर्शन जारी राखेका छन् ।

कारागारभित्रबाट पानी, ढुंगा फाल्ने, थाल बजाउनेलगायतका काम उनीहरूले गरिरहेको सिरहाका प्रहरी प्रवक्ता रमेशबहादुर पालले बताए । कारागारको सुरक्षामा अहिले नेपाल प्रहरीसहित सशस्त्र प्रहरी तथा नेपाली सेना पनि खटिएको र स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले जनाए ।

कारागारभित्र प्रहरी प्रशासनकै मिलेमतोमा मदिरादेखि लागूऔषधसम्मको कारोबार हुँदै आएको, फोन र चन्दाका नाममा असुली हुँदै आएकोलगायतका अवैध गतिविधिबारे कान्तिपुरले गत वर्ष प्रमाणसहित समाचार सम्प्रेषण गरेको थियो ।

कान्तिपुरको समाचारपछि नेपाल प्रहरीका डीएसपीको कमान्डमा गठित छानबिन समितिले ९० पेजको अनुसन्धान प्रतिवेदन जिल्ला सुरक्षा समिति समक्ष पेस गरेको थियो । तर, उक्त प्रतिवेदन कार्यान्वयन गर्न आनाकानी गर्दै आएको प्रशासनले आलोचना भएपछि सोमबार कारागारमा अपरेशन चलाएको हो ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully