सिरहा कारागारबाट बन्दुक र गोली बरामद, नाइकेसहित १३ जनालाई निकालियो

नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा ल्याइएको छ ।

माघ २६, २०८२

विनय आजाद

Guns and bullets seized from Siraha Prison, 13 people including Naik released

सिरहा — सिरहा सदरमुकामस्थित कारागारबाट बन्दुक र गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्र एक थान बन्दुक र दुई राउन्ड गोली भेटिएको हो ।

यससँगै कारागारबाट चुरोट, सुर्तीलगायतका प्रतिबन्धित पदार्थ पनि बराबर गरिएको छ । यस्तै, यसमा संलग्न रहेको आरोपमा नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा ल्याइएको छ ।

उनीहरूलाई अन्य ठाउँको कारागार पठाउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । 'हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौं,' उनले भने, 'उनीहरूलाई अन्यत्र पठाउँछौं ।'

कारागारभित्र प्रहरी प्रशासनकै मिलेमतोमा मदिरादेखि लागुऔषधसम्मको कारोबार हुँदै आएको, फोन र चन्दाका नाममा असुली हुँदै आएकोलगायतका अवैध गतिविधिबारे कान्तिपुरले गत वर्ष प्रमाणसहित समाचार सम्प्रेषण गरेको थियो ।

कान्तिपुरको समाचारपछि नेपाल प्रहरीका डीएसपीको कमान्डमा गठित छानबिन समितिले ९० पेजको अनुसन्धान प्रतिवेदन जिल्ला सुरक्षा समितिसमक्ष पेस गरेको थियो । तर, उक्त प्रतिवेदन कार्यान्वयन गर्न आनाकानी गर्दै आएको प्रशासनले आलोचना भएपछि सोमबार कारागारमा अपरेसन चलाएको हो ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully