भारतीय अभिनेता अमिताभ बच्चनले भिडियोमार्फत सुनिल थापालाई श्रदाञ्जली दिएका होइनन् । पुरानो भिडियोलाई 'एआई' प्रयोग गरेर बनाइएको हो । भिडियो भ्रामक छ ।
What you should know
काठमाडौँ — शनिबार अभिनेता सुनिल थापाको निधन भएको छ । उनको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेहरुको कमी छैन ।
यसैबीच सामाजिक सञ्जालमा एउटा भिडियो पनि चर्चामा छ । जहाँ भारतीय अभिनेता अमिताभ बच्चन जस्तो देखिने व्यक्तिले सुनिल थापालाई श्रदाञ्जली भनिरहेका छन् ।
फेसबुक, टिकटक र युट्युबमा भाइरल भएको १९ सेकेण्डको उक्त भिडियोमा अंग्रेजी भाषामा भनिएको छ, 'नेपालका वरिष्ठ तथा अत्यन्त सम्मानित कलाकार सुनिल थापा (रताई काइँला पात्रका लागि प्रसिद्ध) को निधनको खबरले म अत्यन्तै दुःखी भएको छु । नेपाली चलचित्र क्षेत्रमा उहाँले पुर्याउनुभएको अमूल्य योगदान सधैं सम्झनामा रहनेछ । उहाँको परिवारप्रति म हार्दिक समवेदना व्यक्त गर्दछु ।'
यही भिडियो 'रतन कार्की १८' नामक फेसबुक पेजबाट पोस्ट भएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडियो १ लाख ९१ हजार पटक हेरिएको छ । १ सय ३६ पटक सेयर भएको देखिन्छ । ४ सय २३ कमेन्ट र १० हजार भन्दा धेरै पटक रिएक्ट भएको देखिन्छ ।
'महाकाली न्यूज', 'नेपाली अनलाईन न्यूज', 'नेपाली टिभी' र 'सोसल मिडिया नेपाल' नामक फेसबुक पेजहरुबाट पनि उक्त भिडियो पोस्ट भएको छ । त्यस्तै, 'खबरजोनन्यूज' नामक युट्युब च्यानलको 'सर्टस्' मा पनि उक्त भिडियो पोस्ट भएको छ ।
'@speed8817'नामक युजरनेमबाट सञ्चालित टिकटक अकाउन्टबाट पनि उक्त भिडियो पोस्ट भएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडियो १४ लाख भन्दा धेरै पटक हेरिएको छ । १ लाख ५५ हजार भन्दा धेरै 'रियाक्ट' देखिन्छ ।
चौतर्फी फैलिएको उक्त भिडियो सत्य हो त ?
भाइरल भइरहेको उक्त भिडियोलाई हामीले बारम्बार हेर्यौं र सुन्यौं । त्यो सत्य जस्तो देखिन्थ्यो तर थप प्रमाणित गर्न 'इनभिड भेरिफिकेसन टुल' प्रयोग गरेर भिडियोको 'किफ्रेम' छुट्यायौं र 'रिभर्स सर्च' गर्यौं ।
'रिभर्स सर्च' गर्दा ती तस्बिरसँगै मिल्दोजुल्दो पुरानो भिडियो जुन अमिताभ बच्चनको आफ्नै इन्स्टाग्राम अकाउन्टबाट २९ जुलाई २०२५ मा पोस्ट गरेका थिए । उक्त भिडियोमा उनले भनेका छन्, 'म इन्स्टाग्राम कसरी चलाउने भन्ने कुरा सिक्दै छु र आशा छ यो काम गर्छ । धन्यवाद ।' (अंग्रेजी भाषाको अनुवाद)
भाइरल भइरहेको भिडियो र पुरानो भिडियोको कपडा र पछाडिको ब्याकग्राउन्ड मिल्दोजुल्दो छ । त्यसपछि हामी एकिन भयौं कि यो भिडियो पुरानो हो । भाइरल भइरहेको भिडियोको किफ्रेम हेर्दा पनि उनको अनुहारको जेस्चरमा फरक देखिन्छ ।
हाम्रो खोजले भन्छ, भारतीय अभिनेता अमिताभ बच्चनले भिडियोमार्फत सुनिल थापालाई श्रदाञ्जली दिएका होइनन् । यसलाई 'एआई' प्रयोग गरेर बनाइएको हो । र यो भिडियो भ्रामक छ ।
