५ प्रश्नोत्तरमा बुझ्नुहोस् झापाको ‘सिरिन्ज आक्रमण’ प्रकरण

उक्त घटनामा भद्रपुर नगरपालिका–१० सत्रविघेका खेम ढकालले ज्यान गुमाए । यो घटनाले एउटा व्यक्तिको जीवन मात्रै समाप्त गरेन, सिंगो सहरलाई नै भय र आशंकामा डुबायो ।

माघ २३, २०८२

पर्वत पोर्तेल

Understand Jhapa's 'syringe attack' case in 5 Q&As

What you should know

झापा — झापाको सदरमुकाम भद्रपुर सुरक्षाका दृष्टिले सधैं मजबुत मानिन्छ । किनकि यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना-तीनवटै सुरक्षा निकायको बलियो उपस्थिति छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रको सुरक्षा व्यवस्था अझै कडा पारिएको छ ।

यहाँ बिहीबार साँझ एउटा अनौठो र त्रासदीपूर्ण घटना घट्यो । ‘सिरिन्ज आक्रमण’ भनिएको उक्त घटनामा भद्रपुर नगरपालिका–१० सत्रविघेका खेम ढकालले ज्यान गुमाए । यो घटनाले एउटा व्यक्तिको जीवन मात्रै समाप्त गरेन, सिंगो सहरलाई नै भय र आशंकामा डुबायो । 

सुरक्षित मानिने सहरमै, त्यो पनि साँझको समयमा, सिरिन्ज प्रयोग गरी आक्रमण हुनु आफैंमा गम्भीर र अस्वाभाविक घटना हो । यही कारण ‘सिरिन्ज आक्रमण’ अहिले देशभर चासोको विषय बनेको छ । ‘सिरिन्ज आक्रमण’ घटनामा भएको के थियो ? ५ प्रश्नमा बुझौं :

घटना कसरी भयो ?

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार बिहीबार साँझ खेम ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ जाँदै थिए । त्यस क्रममा बाटोमै अज्ञात व्यक्तिहरूले उनलाई आक्रमण गरे । प्रत्यक्षदर्शी नहुँदा घटना झनै रहस्यमय बन्यो । आक्रमणपछि ढकाल अचेत अवस्थामा फेला परेका थिए । उपचारका क्रममा स्थानीय अस्पतालमा उनको मृत्यु भयो । 

घटनाको वास्तविकता के हो ?

प्रहरीको प्रारम्भिक अनुसन्धानले यो सामान्य झगडा वा आकस्मिक हमला नभई योजनाबद्ध आक्रमणका साथै पुरानो रिसइबी हुन सक्ने संकेत गरेको छ । आक्रमणमा धारिलो हतियार वा गोली नभई सिरिन्ज प्रयोग हुनु आफैंमा अस्वाभाविक र गम्भीर विषय मानिएको छ । प्रहरीले घटनास्थल वरपरका सीसीटीभी फुटेज, मोबाइल कल विवरण र फरेन्सिक प्रमाण संकलन गरिरहेको छ । आक्रमणकारीसमेत पक्राउ परिसकेकाले वास्तविकता चाँडै सार्वजनिक हुने प्रहरीको दाबी छ । 

आक्रमणमा सिरिन्जको प्रयोग किन गरियो ?

अनुसन्धानमा संलग्न स्रोतका अनुसार सिरिन्ज प्रयोग गर्नुको उद्देश्य पीडितलाई तत्काल प्रतिरोध गर्न नदिने वा अचेत बनाउने हुन सक्ने आशंका गरिएको छ । सिरिन्जमा के पदार्थ प्रयोग गरिएको थियो भन्ने विषय पोस्टमार्टम र फरेन्सिक रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ । तर, शल्यक्रिया अघि चिकित्सकले बिरामीलाई लठ्याउन(बेहोस पार्न) प्रयोग गर्ने वस्तु प्रयोग भएको हुन सक्ने प्रहरीको अनुमान छ । सिरिन्जमा प्रयोग गरिएको एनेस्थेसियाको अत्यधिक डोजका कारण ढकालको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

आक्रमण गरिनुको कारण के हुन सक्छ ?

प्रहरीका अनुसार मृतकसँगको व्यक्तिगत रिसइबी, पारिवारिक विवाद वा अन्य सामाजिक कारण उक्त घटना भएको हुन सक्छ । तर, ठोस प्रमाण प्रहरीले फेला पारिसकेको छैन । प्रहरीले घटनालाई व्यक्तिगत कारणसँग जोडेर पनि अनुसन्धान गरिरहेको छ । आक्रमण आकस्मिक नभई लक्षित रूपमा भएको देखिएकाले कारण गहिरो हुन सक्ने आशंका गरिएको छ ।

यो घटनामा सुल्झिन नसकेका विषय के हुन् ?

घटनापछि पक्राउ परेका सिरहाका २६ वर्षीय दीपेशकुमार सिंह र मृतक ढकालका परिवारबीचको सम्बन्धबारे विभिन्न चर्चा सुरु भएका छन् । सिंह र ढकालकी छोरी दुवैजना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत हुन् । सिंह र ढकाल परिवारबीचको यो सम्बन्धलाई लिएर पनि प्रहरीले अनुसन्धान थालेको छ । 'तर यो विषयमा प्रहरीले अहिलेसम्म औपचारिक रुपमा पुष्टि गरेको छैन,' प्रहरी प्रवक्ता खड्का भन्छन्, ‘यस्तो दाबी अनुसन्धानको एक पाटो हुन सक्छ, तर प्रमाणबिना निष्कर्ष निकाल्न मिलिहाल्दैन ।’ 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully