झापामा ‘सिरिन्ज आक्रमण’ बाट एक जनाको मृत्यु

एमबीबीएसका विद्यार्थी सिंहले ढकालको गर्धनमा सिरिन्ज प्रहार भएको प्रहरीले जनाएको छ ।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

One person dies in 'syringe attack' in Jhapa

झापा — झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा ‘सिरिन्ज आक्रमण’ बाट एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार सिरिन्ज आक्रमणबाट स्थानीय खेम ढकालको मृत्यु भएको छ । बिहीबार साँझ ढकाललाई घर नजिकै सिरिन्ज आक्रमण भएको थियो । आक्रमणमा संलग्न विष्णुपुर-१ सिरहाका २६ वर्षीय दीपेन्द्रकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका विद्यार्थी सिंह केही दिनयता झापामा थिए । चन्द्रगढी विमानस्थल नजिकैको एक होटलमा बसेर ढकालको घर रेकी गरिरहेको स्थानीयको भनाइ छ । ढकालको घर पत्ता लागेपछि पछ्याएर उनको गर्धनमा सिरिन्ज प्रहार भएको प्रहरीले जनाएको छ । ढकालको उपचारका क्रममा मृत्यु भएको थियो । ढकालकी छोरी पनि धरानमै एमबीबीएस अध्यनरत छिन् । 

प्रहरीले घटनाको प्रकृति गम्भीर रहेकाले थप प्रमाण संकलन, पोस्टमार्टम रिपोर्ट र फरेन्सिक परीक्षणका आधारमा अनुसन्धान अगाडि बढाइने जनाएको छ । 

कान्तिपुर

Link copied successfully