जहाज कोलकातामा सुरक्षित अवतरण
What you should know
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको उडान नम्बर टीके ७२७(एयरबस ए३३०) मा टेकअफ गर्ने क्रममा दायाँ (राइट) इन्जिनमा आगलागी भएको संकेत देखिएपछि विमान भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बुधबार स्थानीय समयअनुसार दिउँसो १:२६ बजे उडान भर्ने क्रममा विमानले टेकअफ लगत्तै दाया ईन्जिनमा आगो (राइट इन्जिन अन फायर) भएको रिपोर्ट काठमाडौं एप्रोच कन्ट्रोललाई गराएको थियो।
रिपोर्टपछि विमानले केही समय धादिङको धार्के क्षेत्रमा होल्ड गर्दै प्राविधिक अवस्था जाँच गरेको थियो।त्यसपछि चालकदलले भारतको कोलकाता तर्फ डाइभर्ट गर्ने निर्णय गरेको हो।
प्राधिकरणका अनुसार विमान कोलकातामा नेपाली समयअनुसार ३ बजेर ३ मिनेटमा सुरक्षित रूपमा अवतरण गरेको छ। उक्त विमानमा २२५ जना यात्रु र चालकदलका ११ सदस्य गरी जम्मा २३६ जना सवार थिए। सबै यात्रु तथा चालकदल सुरक्षित रहेको प्राधिकरणले जनाएको छ।
यस घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय अन्य दुई उडानलाई होल्डमा राखिएको थियो भने चीनबाट काठमाडौं आइरहेको एयर चाइनाको एक उडान पनि डाइभर्ट भएको क्यानले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार घटनाबारे थप प्राविधिक अनुसन्धान भइरहेको छ ।
