जाँचका क्रममा दुवै इन्जिनमा सुरक्षित रूपमा लामो दूरीको उडान गर्न नसकिने निष्कर्षमा पुगेपछि चालकदलले इस्तानबुलको उडानलाई निरन्तरता नदिई भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेको हो।
काठमाडौँ — काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको वाइडबडी विमानमा टेकअफ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएपछि विमान भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान नम्बर टीएचवाई–७२७ ले उडान भर्ने क्रममा एउटा इन्जिन बिग्रिएको जानकारी चालकदलले काठमाडौं टावरलाई गराएका थिए।
चालकदलले सिंगल इन्जिनमा उडिरहेको रिपोर्ट गरेपछि विमान काठमाडौंको आकाश क्षेत्र छाडेर धादिङ जिल्लाको धार्के क्षेत्रमाथि केही समय एउटा इन्जिनको भरमा फन्को लगाउँदै (होल्ड ) इन्जिनको अवस्था जाँच गरेको थियो।
जाँचका क्रममा दुवै इन्जिनमा सुरक्षित रूपमा लामो दूरीको उडान गर्न नसकिने निष्कर्षमा पुगेपछि चालकदलले इस्तानबुलको उडानलाई निरन्तरता नदिई भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेको हो। वाइडबडी विमान भएकाले काठमाडौंमै फर्किन वा भैरहवा अवतरण गर्न सक्ने विकल्प भए पनि चालकदलले जोखिम नलिई कोलकाता डाइभर्ट गर्ने निर्णय गरेको बताइएको छ ।
यसैबीच, उक्त विमानमा समस्या आएपछि काठमाडौं विमानस्थलले अन्य दुईवटा जहाजलाई केही समय होल्डमा राखेको थियो। साथै चीनबाट काठमाडौं आइरहेको एयर चाइनाको एक उडानलाई पनि डाइभर्ट गरिएको क्यानले जनाएको छ। उक्त उडानमा कति यात्रु सवार थिए भन्ने विवरण भने खुलेको छैन।
