जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार, घटनामा संलग्न रहेको आरोपमा मृतक ४६ वर्षीया सुमित्रादेवी मण्डलकी बुहारी मनिता र धिरेन्द्र महतो धानुक नामक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौँ — बाराको परवानीपुर गाउँपालिका–१, रहरियाडीमा आमाछोराको हत्या भएको घटनामा बुहारीको विवाहेत्तर सम्बन्ध जोडिएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार, घटनामा संलग्न रहेको आरोपमा मृतक ४६ वर्षीया सुमित्रादेवी मण्डलकी बुहारी मनिता र धिरेन्द्र महतो धानुक नामक व्यक्ति पक्राउ परेका छन् । ‘प्रारम्भिक जाँचमा यसमा विवाहेत्तर सम्बन्ध जोडिएको जस्तो देखिन्छ,’ उनले कान्तिपुरसँग भने ।
बुधबार बिहान राति सुमित्रादेवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । घटनाबारे थाहा पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि दुबई गएर ११ माघमा फर्किएका धिरेन्द्रबारे थाहा पाएको थियो ।
उनीहरुबीचको सम्बन्धबारे परिवारमा थाहा भएपछि खटपट सुरु भएको प्रहरी बताउँछ । त्यसपछि नै आमाछोराको हत्या भएको जस्तो देखिएको प्रहरीको भनाइ छ । ‘त्यो सम्बन्धबारे सूचना पाउने बित्तिकै धिरेन्द्रको खोजी गरेका थियौं, त्यसक्रममा उनी भागेर गइसकेको पाइयो,’ एक अनुसन्धान अधिकृतले भने, ‘प्राविधिक जाँच गरेर खोजी गर्दा उनी भारत पुगिसकेको पाइएको थियो ।’
तर बारा प्रहरीले सीमा क्षेत्रबाट उनलाई पक्राउ गरेर ल्याउन सफल भएको छ । उनले प्रारम्भिक सोधपुछमा कसुर स्वीकारेको प्रहरी दाबी छ । प्रहरीले हत्यामा प्रयोग भएको छुराको खोजी गरिरहेको छ ।
