एमाले–प्रलोपा सहमतिः रुकुम पूर्वमा अस्वीकार, पश्चिममा अनुमोदन

एमालेका तर्फबाट रुकुम पूर्वमा उम्मेदवार बनेका लिलामणि गौतमले सामाजिक सञ्जालमार्फत उक्त सहमति नमान्ने संकेत गरेका छन् भने पश्चिममा सचिवालय बैठकबाट सहमति अनुमोदन गरेको छ।

माघ १३, २०८२

महेश केसी

UML-Pralopa agreement: Rukum rejected in East, approved in West

What you should know

रुकुम पश्चिम — एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्यको सहमति एमाले रुकुम पूर्वले अस्वीकार गरेको छ भने रुकुम पश्चिमले अनुमोदन गरेको छ।

एमालेका तर्फबाट रुकुम पूर्वमा उम्मेदवार बनेका लिलामणि गौतमले सामाजिक सञ्जालमार्फत उक्त सहमति नमान्ने संकेत गरेका छन् भने पश्चिममा सचिवालय बैठकबाट सहमति अनुमोदन गरेको छ। 

रुकुम पूर्वका एमाले उम्मेदवार गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘जिल्ला जाने र चुनाव जितेर आउने’ भनेर शुभकामना दिएको छोटो भिडियो समाजिक सञ्जालमा राख्दै लेखेका छन् ‘केही दिनयता रुकुम पूर्वको निर्वाचनका विषयमा आएका हल्ला र प्रचारका विषयमा आजदेखि स्पष्ट भएको छ । रुकुम पूर्वमा ढुक्कसँग सूर्य चिन्हमा मतदान गर्न पाइन्छ आजैदेखि प्रचार र तयारीमा उत्साहित भएर जुटौं ।’ यस विषयमा थप प्रतिक्रिया दिँदै गौतमले प्रलोपाका उम्मेदवारले पनि आफुलाई समर्थन गर्ने गरी सहमतिको प्रयास भइरहेको बताए।

यता रुकुम पश्चिममा भने मुसिकोटस्थित एमाले पार्टी कार्यालयमा मंगलबार बसेको जिल्ला कमिटि सचिवालय बैठकले प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सघाउन गरिएको सहमति अनुसार अघि बढ्ने निर्णय गरेको छ।  

गत आइतबार रुकुम पूर्व र पश्चिममा एमालेका उम्मेदवारले प्रलोपाका उम्मेदवारलाई सघाउने एवम् कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्ला तथा साविक राप्ती अञ्चलका जिल्लामा एमाले उम्मेदवारको पक्षमा प्रलोपाले सघाउने केन्द्रीय सहमति भएको थियो। 

यो सहमतिको पक्ष र विपक्षमा एमाले नेता–कार्यकर्ताले विभिन्न धारणा सार्वजनिक गरिरहेका छन् । सहमति भएको दुई दिनपछि दुवै जिल्लामा एमालेको फरक फरक धारणा आएको हो । यस विषयमा प्रलोपाका केन्द्रीय सदस्य गोरखबहादुर केसीले एमाले रुकुम पश्चिमको निर्णय स्वावगतयोग्य भएको प्रतिक्रिया दिएका छन् भने पूर्वको विषयमा थप छलफल र संवाद जरुरी रहेको बताएका छन् । ‘हामी पनि चुनावी प्रचारका क्रममा गाउँमा छौं । हामी जिल्ला फर्किएर आज साँझ वा भोली दुवै जिल्लाका एमाले नेताहरुसँग बसेर संवाद गरी अघि बढिनेछ,’ उनले भने ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully