शुक्रबार रातिदेखि मौसम बदलीसँगै दुवै प्रदेशका उच्च क्षेत्रमा हिमपात भएको छ ।
What you should know
डोल्पा/बैतडी — कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पामा शुक्रबार रातिदेखि हिउँ पर्न थालेको हो । कर्णालीमा यस वर्षको पहिलो हिमपात हो ।
शुक्रबार रातिदेखि मौसम बदलीसँगै दुवै प्रदेशका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भए पनि लामो समयपछि हिउँ पर्दा किसान भने उत्साहित भएका छन् ।
डोल्पाका उपल्लो क्षेत्रका लेकहरु हिउँले ढपक्कै छोपिएका छन् । माघ दोस्रो साता लाग्नै लाग्दा परेको हिउँले हिउँदे बाली सप्रिने भएकाले किसान उत्साहित भएका छन् । वर्षासहितको हिँउले मंसिरमा छरेका गहुँ,जौ, उवा लगायतका अन्नबालीको लागि फाइदा हुने त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय कृषक दुर्गाप्रसाद देवकोटाले बताए ।
डोल्पा, हुम्लाका केही स्थान, मुगु र जुम्लामा हिउँ पर्ने क्रम अहिले पनि जारी छ । तर हुम्ला र डोल्पाका माथिल्लो क्षेत्रमा भने धेरै हिउँ जमेमा आगामी फागुन २१ को चुनाव केही प्रभावित हुनसक्ने चिन्ता थपिएको छ ।
यता सुदूरपश्चिमका डडेलधुरा, बझाङ, दार्चुला र बैतडीको खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सत्बाझ, देहीमाण्डौ, शिवनाथ लगायतका क्षेत्रमा हिमपात भएको छ । अन्य क्षेत्रमा पनि वर्षा भइरहेको छ ।
असोज महिनादेखि वर्षा नभएपछि खडेरीले बैतडीमा हिउँदेबाली सुक्न थालेको थियो । शुक्रबारको वर्षा र हिमपातले सुक्दै गएको किसानको बालिलाई राहात हुने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
