उम्मेदवारी फिर्तापछि फेसबुक लाइभमार्फत भट्टराईले निर्वाचनमा सहभागी भएर सांसद मात्र हुनु भन्दा सबैको चाहना बमोजिम अभिभावक बन्न उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
What you should know
गोरखा — आसन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उम्मेदवारी दर्ताको दुई दिनअघि माघ ४ मा गोरखा आइपुगे ।
गोरखा–१० छेवेटारमा अगुवा कार्यकर्ता भेलामा सहभागी बनेका भट्टराई उम्मेदवार बन्नैपर्ने दबावमा परे ।भेलामा सहभागीले भट्टराई उम्मेदवार नबने संगठनमा बस्न नसक्नेसम्मका चेतावनी सामुन्नेमै दिए। ‘उम्मेदवार बन्न उहाँ मानिरहनुभएको थिएन, हामी कार्यकर्ताबाट चर्को दबाव दिएका थियौं, केही साथीहरुले त उम्मेदवार नबन्ने भए संगठनमा बस्न सकिँदैनसम्म भन्नुभयो,’ बैठकमा सहभागी एक कार्यकर्ताले भने,‘चर्को दबाव पछि उहाँ उम्मेदवार बन्न राजी हुनुभयो ।’
माघ ५ मा पत्रकार सम्मेलन गरेर भट्टराईले आफु उम्मेदवार बन्ने घोषणा पनि गरे। ‘पार्टीका साथीहरुको कुरो मात्र होइन, अन्य पार्टी र मतदाताले पनि तपाई हुनुपर्यो भन्नुभयो, सबैको सल्लाह सुझाव अनुसार नै उम्मेदवारी दिादै छु,’ उनले पत्रकार सम्मेलनमा भनेका थिए ।
माघ ६ गते प्रलोपा कार्यकर्ताको घेरामा भट्टराई उम्मेदवारी दर्ताका लागि गोरखा–२ को निर्वाचन अधिकृतको कार्यलय पुगेका थिए। उम्मेदवारी दर्ताकै क्रममा भट्टराई र कांग्रेसबाट उम्मेदवारी दिन पुगेका प्रकाशचन्द्र दवाडीबीच जम्काभेट भएको थियो।
भट्टराईसँगको जम्काभेटमा कांग्रेस उम्मेदवार दवाडीले २०७४ सालमा कांगेसको तर्फबाट सहयोग भएको भन्दै यसपटक आफुलाई सहयोग गर्न ठ्ट्यौली पारामा आग्रह गरे। कांग्रेस नेता कार्यकर्ताले पनि यसपाली सहयोग गर्न ठ्ट्यौलीमा पारामै आग्रह गरे। भट्टराईले आफ्नो उम्मेदवार बन्ने जिद्धि छाडेनन्। उम्मेदवारी दर्ता लगतै नेता कार्यकर्ता र कतै मतदातालाई समेत उनले भेट गरे। गोरखा दरबारसम्म पुगेर आफु चुनावी अभियानमा रहेको सन्देश छरेर भट्टराई काठमाडौं हानिए।
२०६४ र २०७४ को निर्वाचनमा गोरखा–२ बाट विजयी बनेका भट्टराईलाई आसन्न प्रतिनिधिसभा निर्वाचन सहज थिएन । तत्कालीन नेकपा माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराई २०७४ मा कांग्रेससँगको गठवन्धनबाट निर्वाचित भएका थिए।
२०७० को संविधानसभा निर्वाचनमा भने भट्टराई गोरखा–१ बाट निर्वाचित भएका थिए । २०७९ मा तत्कालीन माओवादीका अध्यक्ष पुष्कमल दाहाललाई सघाएका भट्टराई यस वर्ष आफै निर्वाचन लड्न कस्सिएका थिए। तर निर्वाचन जित्ने गणितमा भट्टराई सशंकित पनि थिए।
२०६४ देखि २०७४ सम्म सघाउने अधिकांश कार्यकर्ता पनि भट्टराईसँग अहिले छैनन् । गोरखा–२ भित्र पर्ने पालुङटारका ३ वटा वडाका अध्यक्ष मात्र भट्टराईका पार्टीका छन् । चुनाव जित्ने अंकगणित हेरेर भट्टराईले अन्य पार्टीसँग गठबन्धनको प्रस्ताव पनि राखेको चर्चा भइरहेको थियो । जिल्लामा उम्मेदवारी दर्ता पछि भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासँग आफुलाई सघाउन आग्रह समेत गरेका थिए। दुवै पार्टीसँगको छुट्टाछुट्टै छलफलमा भट्टराईले ‘ग्रिन सिग्नल’ पाएनन् । अन्त्यत भट्टराई आफैले उम्मेदवारी फिर्ता लिए। भट्टराई २०६४ को निर्वाचनमा कुल खसेको मतको ८३ प्रतिशत मत ल्याएर तत्कालीन नेकपा माओवादीबाट विजयी बनेका थिए। आजै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पनि भट्टराईलाई उम्मेदवारी फिर्ता लिएर अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्न भन्दै सामाजिक सञ्जालबाट आग्रह गरेका थिए।
२०६४ को निर्वाचनमा भट्टराईले ४० हजार मतान्तरसहित ४६ हजार मत ल्याएका थिए । २०७४ मा भने गोरखा २ मा कांग्रेससागको गठबन्धनबाट भट्टराई ३१ हजार ८ सय ७ मत प्राप्त गरेर विजयी बनेका थिए ।
२०७४ मा भट्टराईका निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठले २८ हजार ९ सय ३३ मत ल्याएका थिए ।
२०७९ को निर्वाचनमा पूर्वसहकर्मी नेकपाका संयोजक पुष्पकमल दाहाललाई सघाएका भट्टराई यसपटकको निर्वाचनमा आफै उम्मेदवार बन्न चाहन्थे । तर २०६४ मा कुल खसेको ८३ प्रशित मतको रेकर्ड र पुरानो विरासतलाई समेत धक्का पुग्ने देखेपछि पनि उनी पछि हटेका छन्। भट्टराईसहित प्रलोपाबाट उम्मेदवारी दिएका गोरखा–१ का गोपालबावु श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।
उम्मेदवारी फिर्तापछि फेसबुक लाइभमार्फत भट्टराईले निर्वाचनमा सहभागी भएर सांसद मात्र हुनु भन्दा सबैको चाहना बमोजिम अभिभावक बन्न उम्मेदवारी फिर्ता लिएको बताएका छन् । भट्टराईले बाहिरै रहेर दलहरुलाई सघाउने बताए । ‘मुलक तीब्र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु जरुरुत छ, यस्तो अवस्थामा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्र हुनु भन्दा सबै साथीको चाहना बमोजिम बाहिर रहेर दलहरुलाई सघाउने, आवश्यक पर्दा देशको विभिन्न रुपको अभिभाव बन्नु उपयुत्त हुन्छ ठानेर उम्मेदवारी फिर्ता लिए,’ उनले भनेका छन् ।
आगामी दिनमा पनि राजनीतिक दल, अग्रगामी दलले चाहे अनुसार सहयोग गर्ने उनको भनाई छ । ‘अग्रगामी दलले चाहे अनुसार नै सहयोग गर्न लागिरहने प्रतिवद्धता जनाउँछु,’ उनले भने । भोली बन्ने सकारलाई विभन्न ढंगले सल्लाह सझाव दिएर भूमिका निर्वाह गर्दा पनि उपयुक्त हुने लागेर उम्मेदवारी फिर्ता लिएको पनि उनले बताए ।
