उम्मेदवारी फिर्तापछि बाबुराम : 'विचारसहितको प्रगतिशील लोकतन्त्रमा प्रतिबद्ध व्यक्ति र शक्तिलाई सघाउँछु'

मुख्यगरी तीन कारणले आफूले उम्मेदवारी दिएको र पछि अन्य दल र शुभेच्छुकको सल्लाहबमोजिम नै फिर्ता लिएको उनले बताए ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Baburam after withdrawing candidacy: 'I will support individuals and forces committed to progressive democracy with ideas'

What you should know

काठमाडौँ — गोर्खा-२ बाट उम्मेदवारी फिर्ता लिएका बाबुराम भट्टराईले अहिले नै कसैलाई सघाउने प्रतिबद्धता जनाइनसकेको प्रस्ट पारेका छन् । 

कान्तिपुरसँग कुरा गर्दै उनले मुख्यगरी तीन कारणले आफूले उम्मेदवारी दिएको र पछि अन्य दल शुभेच्छुकको सल्लाहबमोजिम नै फिर्ता लिएको बताए । 'पहिलेदेखि नै चुनावी राजनीतिभन्दा बाहिरबाटै सहयोग गर्छु भन्ने थियो । पछिल्लो समय देशको राजनीतिक स्थिति तरलतामा रह्यो । खासगरी राष्ट्रिय स्वाधीनता र भूराजनीतिक सन्तुलन सम्बन्धि नीति नियम बनाउने थलो संसद् हुन्छ भन्ने लाग्यो । अर्को, १० वर्ष भएपछि संविधान संशोधन पुनरावलोकन गर्ने कुरा पनि थियो । संविधान सुधारका लागि संसद् नै थलो हो भन्ने लागेको हो,' उनले भने, 'बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगका काम अनि जेन-जी आन्दोलनको सम्झौता कार्यान्वयन पनि संसद्बाटै जानु महत्वपूर्ण हुन्छ भन्ने लागेर संसदीय निर्वाचनमा भाग लिने सोच बनाएको थिएँ ।'

मनोनयनपछि सबै पक्षबाट एक दलबाट उठ्नुभन्दा साझा व्यक्तिकै रुपमा बस्दा राम्रो हुन्छ भन्ने सुझाव आएको उनले बताए । 'जेन-जीले उठाएका प्रश्नले आम सहमतिको माग गर्छ, साझा अभिभावको रुपमा बस्दा त्यो हल गर्न सकिन्छ भन्ने कुरा पनि आयो,' उनले भने। 

उम्मेदवारी फिर्तापछि अहिले नै  कसैलाई सहयोग गर्ने प्रतिबद्धता भने नगरेको उनले बताए । तर, विचारसहितको प्रगतिशील लोकतन्त्रमा प्रतिबद्ध व्यक्ति र शक्तिलाई सघाउँछु आफू तयार रहेको उनको भनाइ छ । 

'प्रगतिशील लोकतान्त्रिक पार्टीले पहिलेदेखि नै अभिभावक स्वीकार्नुभएको छ । नयाँ वैकल्पिक शक्तिले पनि मलाई अभिभावकै रुपमा हेर्नु भएको छ,' उनले भने ।

यसअघि काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा-५ का उम्मेदवार बालेन्द्र शाहलाई भेटेको प्रसंगमा कान्तिपुरको जिज्ञासामा भट्टराईले ठोस कुरा आएछ भने सल्लाह सुझावका लागि आफू खुला नै रहेको प्रतिक्रिया दिए ।

भट्टराईले गोरखा-२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी दिएका थिए। यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो । गोरखा २ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, रास्वपाबाट पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, एमालेका मिलन गुरुङ (मिलन चक्रे) लगायत प्रतिस्पर्धामा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully