अमेरिकामा २९ हजार ३८५, अस्ट्रेलियामा १२ हजार ९२४, यूएईमा ४ हजार ४७४, डेनमार्कमा १ हजार ४११, बेलायतमा १ हजार २८२, क्यानडामा ९७८ नेपाली नर्स
What you should know
काठमाडौँ — पोखराकी ममता बराल ३ वर्षदेखि अस्ट्रेलियामा छिन् । पीसीएल नर्सिङपछि उनले पोखराका दुई अस्पतालमा ४ वर्ष काम गरेकी थिइन् । तलब १८ हजार थियो । भन्छिन्, ‘घर खर्च त परकै कुरो, चाहिएको सामान किन्न पनि दसपल्ट सोच्नुपर्थ्यो ।’
अस्ट्रेलियामा उनी अहिले ‘यज्ड कियर’ को काम गर्दै आइरहेकी छन् । ‘देशमै काम गर्ने सपना हरेकको हुन्छ, मेरो पनि थियो, तर धेरै लगानी गरेर पढे पनि सोचेअनुरूप तलब नभएकाले विदेशिएको हो,’ ममताले सुनाइन्, ‘अहिले कम्तीमा आफ्नो र परिवारका लागि केही किन्ने सोच बनाउँदा पैसाले अड्किनुपरेको छैन ।’ नेपालमा थोरै तलब र पेसागत सुरक्षा नभएकाले नर्सहरू विदेसिन बाध्य भएको उनी बताउँछिन् ।
चितवनकी कृति नापित अमेरिकाको एक ट्रमा सेन्टरमा आईसीयू नर्सका रूपमा कार्यरत छिन् । नर्सिङ करिअर खोज्दै उनी अमेरिका पुगेको ३ महिना मात्र भएको छ । नेपालमा १० वर्ष आर्जन गरेको अनुभव, सीप र अनुशासनलाई उनले अन्तर्राष्ट्रियस्तरमा सफलतापूर्वक प्रयोग गरिरहेकी छन् । अत्याधुनिक प्रविधि, व्यवस्थित स्वास्थ्य प्रणाली र पेसागत सम्मानले भरिएको वातावरणमा काम गर्न पाउँदा आत्मविश्वास बढेको उनले बताइन् ।
नापितले सन् २०१५ मा त्रिवि शिक्षण अस्पतालमा स्टाफ नर्सका रूपमा करार सेवाबाट काम सुरु गरिन् । दुई वर्षको निरन्तर मिहिनेतपछि त्रिवि सेवा आयोगको परीक्षा उत्तीर्ण गर्दै स्थायी जागिर प्राप्त गरिन्, एक दशकसम्म शिक्षण अस्पतालमै सेवा दिइन् । नेपालमा रहँदा उनको तलब ६० हजार थियो । अन्य निजी अस्पतालभन्दा सरकारी स्थायी नर्सको तलब राम्रै रहेको उनी बताउँछिन् ।
‘नर्सले जुन देशमा जाने हो त्यो देशका लागि नर्सिङ लाइसेन्स लिनुपर्ने हुन्छ, यो नेपालमा सम्भव छैन,’ उनले सुनाइन्, ‘मैले भारतमा पुगेर एनक्लेक्स परीक्षा उत्तीर्ण गरेको हो ।’ नर्सको माग धेरै हुने, आम्दानी र ‘करिअर’ दुवै राम्रो हुने भएकाले नेपाली नर्स विदेसिने क्रम बढेको उनको भनाइ छ ।
नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार २०५९ देखि हालसम्म ५२ हजार २ सय ५५ नर्सले देश छाडेका छन् । हालसम्म सबैभन्दा धेरै अमेरिकामा २९ हजार ३ सय ८५ नेपाली नर्स छन् । २०७८/७९ मा ४ हजार नर्स अमेरिका पुगेका थिए अर्को वर्ष २०८०/८१ मा बढेर यो संख्या ६ हजार पुग्यो ।
अमेरिकापछि नेपाली नर्स बढी रहेका देश अस्ट्रेलिया, यूएई, डेनमार्क, बेलायत, क्यानडालगायत हुन् । अस्ट्रेलियामा १२ हजार ९ सय २४, यूएईमा ४ हजार ४ सय ७४, डेनमार्कमा १ हजार ४ सय ११, बेलायतमा १ हजार २ सय ८२, क्यानडामा ९ सय ७८ नेपाली नर्स रहेको तथ्यांक छ । यी लगायत १७ मुलुकमा नेपाली नर्स गएको काउन्सिलको रेकर्डमा छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी विश्व बजारमा नर्सको माग बढ्दो रहेकाले यो पेसा अरू भन्दा आकर्षक बनेको बताउँछन् । ‘सहज रूपमा विदेश जान सकिने, राम्रो आम्दानी र सुरक्षित भविष्य भएकाले नर्सहरू विदेसिने क्रम बढेको हो,’ उनले भने ।
नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेल अस्थिर सरकार, न्यून अवसर र श्रमको मूल्य थोरै हुने गरेकाले हरेक पेसाका व्यक्ति विदेसिने क्रम बढेको बताउँछिन् । ‘८/१० लाख खर्चेर पढ्यो, अत्यमा १५–१८ हजार तलब हुन्छ, अनि को बस्न चाहन्छ देशमा ?,’ उनले भनिन्, ‘पेसागत सुरक्षा नै छैन ।’
