निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखले दिए आवेदन

२१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनाका लागि आवेदन खुलाएका थिए । माघ १ गतेसम्म आवेदन दिने अवधि तोकिएको छ ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

100,000 people applied to join the Election Police in 5 days

What you should know

काठमाडौँ — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि खुलाइएको निर्वाचन प्रहरीमा ५ दिनमा करिब १ लाख जनाले आवेदन दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले ७७ वटै जिल्लास्थित आ–आफ्ना कार्यालयमार्फत २५ पुसबाट आवेदन खुलाएकामा मंगलबारसम्म करिब १ लाखको दरखास्त परेको हो ।

२१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनाका लागि आवेदन खुलाएका थिए । १ माघसम्म आवेदन दिने अवधि तोकिएको छ ।

नेपाल प्रहरीका एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार सोमबारसम्म प्रहरी र सशस्त्रतर्फ भर्ना हुन दरखास्त दिनेको संख्या ८८ हजार ७ सय ६३ रहेकामा मंगलबार साँझसम्म यो संख्या १ लाख हाराहारी पुगेको बताए । मंगलबार दरखास्त दिनेको एकमुष्ट विवरण आउने क्रममा रहेको उनको भनाइ छ ।

एसएसपी भट्टराईले विगतको तुलनामा यो पटक आवेदन दिनेको संख्यामा केही कमी आएको बताए । ‘यो पटक प्रहरी र सशस्त्र दुवै सुरक्षा निकायका लागि करिब डेढ लाख संख्यामा आवेदन माग गरिएकामा ५ दिनमा दरखास्त दिनेको संख्या १ लाख पुगेको छ, अब आवेदन दिने समय २ दिन मात्रै बाँकी छ ।’

प्रहरी प्रधान कार्यालयका अनुसार बुधबारसम्म नेपाल प्रहरी मातहत खटिने गरी ८२ हजार ८ सय ८४ र सशस्त्र प्रहरी अन्तर्गत खटिन ५ हजार ८ सय ७९ जनाले आवेदन दिएकामा प्रहरी अन्तर्गत २२ हजार २३ र सशस्त्र अन्तर्गत १ हजार ७३ महिला तथा बाँकी पुरुष आवेदक छन् ।

मंगलबार आवेदन दिएकाको विस्तृत विवरण आउन बाँकी छ । एसएसपी भट्टराईले तोकिएको संख्यामा दरखास्त नपरेमा केही दिन थप गर्न सकिने पनि बताए । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ ।

त्यसमध्ये नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ८८ हजार परिचालन गरिँदै छ । यसका अलवा ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख ‘निर्वाचन प्रहरी’ (साबिकमा म्यादी प्रहरी) खटाउने गरी भर्ना आवेदन खुलाइएको थियो । त्यसकै लागि बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्लास्थित आ–आफ्ना कार्यालयबाट तोकिएको संख्याका लागि भर्ना खुलाएका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार विगतका निर्वाचनमा म्यादी प्रहरी भर्ना हुन आवेदन दिनेहरू तीन गुणसम्म हुने गरेपनि यो पटक आवेदन दिनेहरूमा कमी आएको छ । निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवान सरहको रासन भत्ता पाउने छन् । 

‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार एक जना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट निर्धारण समितिले तोके अनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रति व्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ता अनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइने उल्लेख छ । यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइने भनिएको छ ।

निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भएमा घाइते स्वयं र मृत्यु भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइने छ । निर्वाचन अगावै तोकिएको स्थानमा नगई गैरहाजिर हुने, जिम्मेवारी पूरा नगरी भाग्नेलाई तोकिएका कुनैपनि सुविधा नदिइने पनि गृह मन्त्रालयबाट स्वीकृत मापदण्डमा उल्लेख छ । यस्तै कथम् निर्वाचन रद्द भएमा वा स्थगित भएमा तालिममा रहेको भएपनि नियुक्ति स्वतः रद्द/बदर हुने पनि निर्वाचन प्रहरीसम्बन्धी कार्यविधिमा उल्लेख छ ।

निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरेको छ । मतदान स्थललाई पनि त्यस ठाउँको सुरक्षा जोखिम, चुनौती र विगतमा भएका गतिविधिका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य अवस्था गरी तीन समूहमा वर्गीकरण गरेको छ । विगतमा मतदानस्थलको सुरक्षा व्यवस्थापन प्रहरी र म्यादी प्रहरी तथा बाहिरी सुरक्षा प्रबन्ध सेना र सशस्त्र प्रहरीले गर्ने गरेका थिए । यो पटक पनि सुरक्षा परिचालनको स्वरूप यही अनुसार हुने भएपनि भूमिका र जिम्मेवारी अनि जनशक्तिको संख्या बढाउने सरकारको तयारी छ । त्यसकै लागि अवधि तोकेर भर्ना गरिने निर्वाचन प्रहरी संख्या पनि बढाइएको छ ।

निर्वाचन प्रहरी भर्ना छनोटका लागि सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति बनाइएको छ । भर्ना हुन दरखास्त गर्न पाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको हुनुपर्ने । जसअनुसार अधिकतम २०२८ माघमा जन्मिएका र न्यूनतम २०६४ माघ (आवेदन दिने अन्तिम मितिअनुसार १८ पूरा भई ५४ वर्ष ननाघेको) मा जन्मिएको हुनुपर्ने छ ।

गृह मन्त्रालयले स्वीकृत गरेको मापदण्डअनुसार नेपाली नागरिक भएको हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसिक रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छातीको चौडा ३१ देखि ३३ इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ केजी तौल र गर्भवती नभएको/नरहेको हुनुपर्ने योग्यता तय गरिएको छ निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट अवकाश र उपदानमा निस्किएका, पूर्व वन रक्षक, सेना/प्रहरीमा भर्नाका लागि २०८१ माघदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णको हकमा प्रवेश पत्र पेस गर्ने, विगतमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भई सन्तोषजनक काम गरेका (म्यादी प्रहरी प्रमाणपत्रअनुसार), विदेशी मुलुकका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नेपाली नागरिकको हकमा भर्नामा प्राथमिकता दिइने उल्लेख  छ ।  उनीहरूलाई १० दिन तालिम र ३० दिन फिल्डमा खटाउने गरी भर्ना गर्न लागिएको छ ।

कान्तिपुर

Link copied successfully