नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत करिब डेढ लाख ४० दिनको अवधि तोकेर ‘निर्वाचन प्रहरी’का रूपमा छनोट गरी परिचालन गर्दै छ ।
What you should know
काठमाडौँ — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्दै छ । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तथा ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख ‘निर्वाचन प्रहरी’ (साबिकमा म्यादी प्रहरी) खटाउने सरकारको तयारी छ ।
केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित निर्णयअनुसार निर्वाचन सुरक्षामा आ–आफ्ना जिम्मेवारी र अधिकारक्षेत्र तोकेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १ लाख ८८ हजार ३ सय ६३ जनशक्ति परिचालन गर्ने गरी सुरक्षा व्यवस्थापन खाका बनेको छ ।
नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जनशक्तिलाई ४० दिनको अवधि तोकेर ‘निर्वाचन प्रहरी’का रूपमा छनोट गरी परिचालन गर्दै छ । सोही तयारीअन्तर्गत बिहीबार नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी भर्नाको आवेदन खुलाएको छ भने सशस्त्रले पनि केही दिनमै आवेदन माग्ने तयारी गरेको छ ।
निर्वाचन सुरक्षाका लागि प्रहरी र सशस्त्रले अब कुन कुन प्रक्रियाबाट निर्वाचन प्रहरी भर्ना गर्छन् ? छनोटको मापदण्ड के हो ? उनीहरूलाई कसरी परिचालन गरिन्छ ? कस्तो सुविधा पाउँछन् भन्ने विषयमा पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरिएको छ ।
निर्वाचन प्रहरी भर्ना किन आवश्यक छ ?
२१ फागुन २०८२ का लागि २ सय ७५ जना प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ । जसमा समानुपातिक तर्फ १ सय १० र प्रत्यक्षतर्फ १ सय ६५ जना प्रतिनिधि सभा सदस्य चुनिने छन् । निर्वाचन आयोग एकै चरणमा निर्वाचन गर्ने तयारीमा छ । जसका लागि निर्वाचन सुरक्षा व्यवस्थापन पनि चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन जरुरी छ ।
निर्वाचन गराउन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरेको छ । मतदान स्थललाई पनि त्यस ठाउँको सुरक्षा जोखिम, चुनौती र विगतमा भएका गतिविधिका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य अवस्था गरी तीन समूहमा वर्गीकरण गरेको छ । विगतमा मतदान स्थलको सुरक्षा व्यवस्थापन प्रहरी र म्यादी प्रहरी तथा बाहिरी सुरक्षा प्रवन्ध सेना र सशस्त्र प्रहरीले गर्ने गरेका थिए ।
यस पटक पनि सुरक्षा परिचालनको ढाँचा यही अनुसार भएपनि भूमिका र जिम्मेवारी तथा जनशक्तिको संख्या भने बढाउने तयारीमा सरकार छ । सामान्य सुरक्षा चुनौती भएका मतदान स्थलमा सामान्य रूपमै नियमित सुरक्षा व्यवस्थापन गरे पुग्छ । तर, संवेदनशील र अतिसंवेदनशील मानिएका मतदान स्थलमा सुरक्षा निकायहरूको उपस्थिति र तैनाथी बढाउनुपर्ने हुन्छ । अहिलेको मौजुदा दरबन्दीअनुसार सेनामा करिब १ लाख, प्रहरीमा करिब ८० हजार, सशस्त्रमा करिब ३७ हजार जनशक्तिको दरबन्दी छ ।
नियमित रूपमा गरिने सुरक्षा व्यवस्थापन बाहेक निर्वाचनकै लागि ‘प्रतिवद्ध जनशक्ति’का रूपमा सेनाले ७९ हजार ७ सय २७, प्रहरीले ७१ हजार ६ सय २० र सशस्त्रले ३५ हजार १ सय १६ संख्यामा खटाउने गरी सुरक्षा व्यवस्थापन खाका बनाएका छन् । यसरी नियमित सुरक्षाकर्मीका रूपमा १ लाख ८८ हजार बढी जनशक्ति निर्वाचनमा खटाउन लागिएको छ ।
निर्वाचनमा नियमित गस्ती, कार्यालय सुरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धानलगायतमा एकातिर नियमित रूपमा खटिनुपर्छ भने निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनअन्तर्गत उम्मेदवारका सुरक्षादेखि प्रचारप्रसार, आमसभा लगायतमा पनि सुरक्षा दिनुपर्ने हुन्छ । तर, निर्वाचन सुरक्षा व्यवस्थापनमा यो जनशक्तिले मात्र अपुग हुन्छ । सोहीकारण नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘सहयोगी सुरक्षा फौज’का रूपमा परिचालन गर्ने गरी डेढ लाख निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । यसरी भर्ना हुनेमध्ये प्रहरीमार्फत खटिने जनशक्ति प्रहरीकै चेन अफ कमाण्ड र सशस्त्र अन्तर्गत खटिनेले सशस्त्रले चेन अफ कामाण्डमा रहनु पर्ने छ ।
आवेदन कहाँबाट ? कुन उमेर समूहले दिन पाउने ?
प्रहरीका लागि १ लाख ३३ हजार ९ सय ८० र सशस्त्रका लागि १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गरिदै छ । त्यसकै लागि नेपाल प्रहरीले बिहीबार ३० दिन कार्यअवधि र १० दिन तालीम गरी कूल ४० दिनका निर्वाचन प्रहरी भर्नाको आवेदन खुलाएको छ । सशस्त्रले केहीदिन भित्रै आवेदन खुलाउने तयारी गरेको छ ।
नेपाल प्रहरीले शुक्रबार (२५ पुस) देखि १ माघसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाउने व्यवस्था गरेको छ भने सशस्त्र प्रहरीले ७७ वटै जिल्लास्थित गण/गुल्म र तोकिएका स्थानबाट आवेदन दिन पाउने व्यवस्था गर्दै छ ।
निर्वाचन प्रहरी भर्ना छनोटका लागि सम्वन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति बनाइएको छ । भर्ना हुन दरखास्त गर्न पाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको हुनुपर्ने । जसअनुसार अधिकतम २०२८ माघमा जन्मिएका र न्युनतम २०६४ माघ (आवेदन दिने अन्तिम मितिअनुसार १८ पूरा भई ५४ वर्ष ननाघेको) मा जन्मिएको हुनुपर्ने छ ।
आवेदन दिन कस्ता छन् योग्यताका आधार ? भर्नामा कसलाई प्राथमिकता ?
गृह मन्त्रालयबाट स्वीकृत मापदण्डअनुसार नेपाली नागरिक भएको हुनुपर्ने छ । साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारिरीक र मानसकि रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, पुरुषको हकमा कम्तीमा ५ फिट उचाई, छातीको चौडा ३१ देखि ३३ इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाई, ४२ केजी तौल र गर्भवती नभएको/नरहेको हुनुपर्ने योग्यता तय गरिएको छ । यो योग्यता प्रहरी र सशस्त्रका जवानको भर्नामा निर्धारण गरिएका प्रावधान हुन् ।
निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट अवकाश र उपदानमा निस्किएका, पूर्व बन रक्षक, सेना/प्रहरीमा भर्नाका लागि २०८१ माघदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा आवेदन दिई शारिरीक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णको हकमा प्रवेश पत्र पेश गर्ने, बिगतमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भई सन्तोषजनक काम गरेका (म्यादी प्रहरी प्रमाणपत्रअनुसार), विदेशी मुलुकका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नपाली नागरिकको हकमा भर्नामा प्राथमिकता दिइने छ । यी जनशक्तिलाई सुरक्षा व्यवस्थापनमा आधारभूत ज्ञान र तोकिएका तालीम गरिसकेको अनुभवी जनशक्ति भएर निर्वाचन प्रहरीमा भर्नामा प्राथमिकतामा राखिएको छ ।
कति दिन खटिनुपर्छ ?
बिगतमा झै यस पटक पनि सरकारले १० दिन तालीम र ३० दिन फिल्डमा खटिने कार्यअवधि तोकेर निर्वाचन प्रहरी जनशक्ति व्यवस्थापन गर्न लागेको छ । यसबाहेक ‘नेपाल सरकारले तोकेबमोजिम’ हुने उल्लेख छ । कहिलेकाही तय भएको मितिमा निर्वाचन हुन नसकेमा, तोकिएको कार्यअवधिभन्दा बढीखटाउनुपर्ने भएमा वा अरु नै कारण देखिएमा कार्यअवधि थपघट हुन सक्छ । अहिलेको अनुमाति अवधि हेर्दा २१ मंसिरदेखि अघिको १ महिनासम्म फिल्ड र त्यसबाहेक १० दिन तालिम अवधि रहने गरी व्यवस्थापन गर्न लागिएको छ ।
निर्वाचन प्रहरीले के–कस्तो सुविधा पाउँछन् ?
कार्यअवधि तोकेर भर्ना गरिने निर्वाचन प्रहरीलाई प्रहरी/सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलवमान र लत्ताकपडा तथा जवान सरहको रासनभत्ता दिइने व्यवस्था ‘निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ मा उल्लेख छ ।
जसअनुसार जवान सरहको आधारभूत तलवमान अनुसार हुन आउने रकमअनुसार एकजना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलव, जिल्ला दररेट निर्धारण समितिले तोके अनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउमा जान र फर्किनलाई एक पटकका लागि प्रति व्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एक मुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोशाक भत्ता अनुसार एकसरो कपडाको खर्च उपलव्ध गराइने छ ।
यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ । निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भएमा घाइते स्वयं र मृत्य भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइने छ ।
निर्वाचनअगावै तोकिएको स्थानमा नगई गैरहाजिर हुने, जिम्मेवारी पूरा नगरी भाग्नेलाई तोकिएका कुनै पनि सुविधा नदिइने पनि गृह मन्त्रालयबाट स्वीकृत मापदण्डमा उल्लेख छ । यस्तै कथम् निर्वाचन रद्द भएमा वा स्थगित भएमा तालिममा रहेको भए पनि नियुक्ति स्वतः रद्द/बदर हुनेछ ।
