महेन्द्रको राज्याभिषेक, बेइजिङमा माओ र दिल्लीमा इन्दिरा गान्धीलाई सारंगी सुनाएका खिमबहादुर सारंगीका तारबाट आफैं धुन बनाउँथे। ती धुनमा आफ्ना शब्द मिसाउँथे। आफ्नै शब्द, स्वर र धुनमा उनी गुञ्जिन्थे।
What you should know
पोखरा — माओ त्से तुङ र इन्दिरा गान्धीलाई आफ्नो सारंगीको धुनमा गीत सुनाएका खिमबहादुर गन्धर्वले बुधबार पोखराको बाटुलेचौरमा अन्तिम सास लिए । सारंगीवादक तथा कर्खा गायक गन्धर्वको ९१ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो ।
राजा महेन्द्रको राज्याभिषेकदेखि चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओ त्से तुङ र भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीसम्मलाई आफ्नो सारंगीको धुनमा गीत सुनाउने सौभाग्य प्राप्त गर्ने खिमबहादुर गन्धर्वको जीवन नेपाली लोककलाको जीवन्त इतिहास थियो । तर उनको विशाल प्रतिभा र ऐतिहासिक योगदान गुमनामीकै अन्धकारमा बित्यो ।
२०१३ मा राजा महेन्द्रको राज्याभिषेकको अवसरमा उनलाई दरबारमा सारंगी बजाउन बोलाइएको थियो । राजाबाट सम्मान र केही दाम पाएर पोखरा फर्किएका उनलाई केही समयपछि तुरुन्त काठमाडौं आउन भन्ने पत्र आयो । तर हातमा पैसा थिएन । श्रीमतीको ढुंग्री बन्धकी राखेर आमाले जुराइदिएको साठी रुपैयाँले जहाजको टिकट काटेर उनी काठमाडौं पुगे ।
राजा महेन्द्रको अनुरोधमा चीन सरकारले नेपाली सांस्कृतिक टोलीलाई निम्तो पठाएको थियो । जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा चुनिएका पाँच सदस्यीय टोलीमा खिमबहादुर पनि परे । २०१३ मै उनी चीन भ्रमणमा पुगे र महेन्द्रलाई सुनाएको सारंगीको धुनमा माओ त्से तुङका अगाडि पनि गीत सुनाउने दुर्लभ अवसर पाए ।
त्यसपछि डाँफे कला मन्दिरको टोलीका साथ दिल्ली पुग्दा उनले तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई पनि सांरगी बजाएर गीत सुनाए । इन्दिरा गान्धीको निवासमा समेत बोलाइएका खिमबहादुरले उनीसँग खिचिएको सामूहिक तस्बिर आफ्नो घरको भित्तामा झुन्ड्याएका थिए ।
पोखरा–१६ बाटुलेचौरमा गन्धर्वको बाक्लो बस्ती छ । धर्मराज थापा र झलकमान गन्धर्व बाटुलेचौरकै हुन् । इतिहासमा कास्कीका राजाले हिउँदे दरबार बाटुलेचौरमा बनाएपछि मनोरञ्जनका लागि तनहुँबाट गन्धर्वहरूलाई ल्याइको अध्येता सुनील उलक बताउँछन् । तर खिमबहादुरका पुर्खा भने हेम्जाबाट बाटुलेचौर झरेका थिए ।
तल कालीखोला बगिरहेको र माथिल्लो पाखोमा रहेको उनको घर नजिकै नेपाली लोकसंगीत क्षेत्रमा सुपरिचित झलकमान गन्धर्वको पनि घर थियो । खिमबहादुर र झलकमान जेठान–ज्वाइँ थिए । एकै बेला, उस्तै–उस्तै गीत गाएर गाउँगाउँ पुगेका दुवैको प्रतिभा उस्तै भए पनि संगीत जगतमा एकै ठाउँ पाएनन् । झलकमानले रेडियोमा जागिर पाएर गीत गाए, चिनिए । तर खिमबहादुरले गीत रेकर्ड गराउन सकेनन् ।
खिमबहादुरले सारंगीका तारबाट आफैंले धुन बनाउँथे । ती धुनमा आफ्ना शब्द मिसाउँथे । आफ्नै शब्द, स्वर र धुनमा उनी गुञ्जिन थालेका थिए । उनको कवि धर्मराज थापासँग घनिष्ठता भयो र थापाले नै उनलाई राजा महेन्द्रको राज्याभिषेकमा काठमाडौं जाने मौका जुराइदिएका थिए ।
तर कलाकर्ममा दशकौं बिताएका खिमबहादुरको जीवन गुमनामप्रायः बित्यो । ‘झलकमानले गीत रेकर्ड गराए, मैले गराइनँ, गराउनै सकिनँ । गायो छाडिदियो, कता गयो थाहै नहुने । रेकर्ड गरेर राखेको भए हुनेरहेछ,’ उनले तीन वर्षअघि कान्तिपुरसँग पछुतो पोखेका थिए । केही वर्ष अगाडि जापानको मिनपाकु संग्रहालयले गन्धर्वसम्बन्धी वृत्तचित्र बनाएको थियो, जसमा खिमबहादुरको पनि कथा समेटिएको छ । उनले झन्डै एक दशक पोखरा महानगरमातहतको विन्ध्यवासिनी संगीत प्रशिक्षण केन्द्रमा सारंगी प्रशिक्षक भएर पनि काम गरे ।
एक दशकयता उच्च रक्तचापका कारण उनको देब्रे हात चल्न छाडेको थियो । हातसँगै उनको कला, साधना, चेतना, प्रतिभा पनि थलिएका थिए । सारंगी नबजाएकै दशक हुन लागेको थियो । घरको भित्तामा विभिन्न समय पाएका सम्मानपत्रका फ्रेम सीसाविहीन झुन्डिरहन्थे । उनलाई एउटा डरले पिरोल्थ्यो– आफूसँगै मंगल, कर्खा जस्ता गीत हराउने । गन्धर्व जातिको एक इतिहास नामेट हुने ।
‘ती गीत गाउने माथि गइसके,’ उनी ठट्टा गर्थे, ‘बाँचेको ममात्रै हुँ, मेरो दिन कहिले आउँछ, थाहा छैन ।’ आफैंले लेखेको तर रेकर्ड नभएको गीतले उनको पीडा प्रतिबिम्बित गर्थ्यो– ‘गन्धर्व दाइ दुःखको भारीमा, जीवन बित्यो उत्तिसै घारीमा...।’
श्रीमती, दुई छोरा र तीन छोरी रहेका उनको बिहीबार पोखरामा अन्त्येष्टि गरिएको झलकमान संगीत पाठशालाका अध्यक्ष दीलिप गायकले बताए ।
सम्बन्धित समाचार
