‘अनरेकर्डेड’ खिमबहादुर

फाल्गुन ३, २०७९

अनिश भट्टराई

गण्डकी — पोखरा–१६ बाटुलेचौर पछाडिको पाखो तल काली खोला बगिरहेको छ । खोलाको दाहिनेपट्टि खिमबहादुर गन्धर्व (८८) को बह बग्छ । माथि उत्तिस घारी छ । सालका रूखका झोंकामा उनी आफ्ना स्वर मिसाउँछन् । आफैंले लेखेको तर रेकर्ड नभएको गीत सुनाउँछन्– ‘गन्धर्व दाइ दुःखको भारीमा, जीवन बित्यो उत्तिसै घारीमा...।’ 

उत्तिस घारीकै पाखाबाट उकालो लागेको उनको कलाकर्म अहिले त्यही घारीको खोंचमा रोकिएको छ । कलाकर्ममा ६ दशक लगाएर एक पाखो उक्लेका उनी पाखो झरेर सुस्ताउँदा गुमनामप्रायः छन् । यही ठाउँका उनका ‘दामली’ स्वर्गीय झलकमान गन्धर्व भने नेपाली लोकसंगीत क्षेत्रमा सुपरिचित छन् । एकै बेला, उस्तै–उस्तै गीत गाएर गाउँगाउँ पुगेका झलकमान र खिमबहादुरको प्रतिभा उस्तै भए पनि साहित्य जगत्मा एकै ठाउँ छैनन् । ‘झलकमानले रेडियोमा जागिर पाएर गीत गाए, चिनिए । मैले गीत रेकर्ड नै गराउन सकिनँ, लेखेका गीत भने छन्,’ खिमबहादुर भन्छन् । 

झलकमान र खिमबहादुर जेठान–ज्वाइँ हुन् । झलकमानझैं आफूले गीत रेकर्ड गराउन नसक्दा उनलाई दुखेसो छ । दुखेसो भन्दा झलकमानले पाएको ख्यातिमा उनी बढी खुसी छन् । ‘झलकमानले गीत रेकर्ड गराए, मैले गराइनँ । गराउनै सकिनँ । गायो छाडिदियो, कता गयो थाहै नहुने । रेकर्ड गरेर राखेको भए हुनेरहेछ,’ उनको पछुतो छ । खिमबहादुरले सारंगीका तारबाट आफैंले धुन बनाए । तिनै धुनमा आफ्ना शब्द मिसाए । आफ्नै शब्द, स्वर र धुनमा उनी गुञ्जिन सुरु गरे । गाउँदै हिँड्दा उनको कवि धर्मराज थापासँग चिनजान भयो । दुवै कलाका पारखी भएपछि घनिष्ठ बन्न धेरै समय लागेन । थापाले नै खिमबहादुरलाई राजा महेन्द्रको राज्याभिषेकमा काठमाडौं जाने मौका जुराइदिए । कलाकार खोज्न पोखरा आएका सेनाका एक जर्नेलसामु थापाले खिमबहादुरको प्रशंसा गरिदिएका थिए । ‘सारंगी राम्रो बजाउँछ भनेर थापाले भनेछन्, अनि जर्नेलले मलाई काठमाडौं लगे,’ खिमबहादुर सम्झन्छन् । ‘अहिले पो स्वर छैन, त्यतिबेला त सारंगी बजाएर च्याट पारेर गाइदिएँ ।’ 

खिमबहादुर अचेल गीत गाउँदैनन् । घरमै आराम गरी बस्छन् । घरका भित्तामा सजाइएका आफ्ना प्रशंसापत्र, मायाको चिनो हेर्छन् । झुन्ड्याइएका फोटो हेर्छन् । कोठाकै एक कुनामा उनको सारंगी छ । उच्च रक्तचापबाट थलिएपछि उनको देब्रे हात चल्दैन । उच्च रक्तचापका कारण उनको हातमात्र थलिएको होइन । उनको कला, साधना, चेतना, प्रतिभा पनि थलिएका छन् । सारंगी नबजाएकै दशक हुन लागिसक्यो । अहिले खिमबहादुर र सारंगीको सम्बन्धमात्र छुटेको छैन, कलासाहित्यका साथ छुटेका छन् । दशकौंको कलाकर्म पनि पछाडि नै छुटेको छ । जीवनमा केही गर्छु भन्ने हुटहुटी पनि छुटिसकेको छ । साथमा छ त केवल स्वर । स्वर पनि फाटेको छ । ‘अहिले पुराना कुरा त्यति याद छैन, गीत गाउन पनि स्वर पहिलाको जस्तो छैन,’ उनी भन्छन् । अहिले खिमबहादुरलाई एउटा डरले पिरोल्छ । त्यो हो– आफूसँगै मंगल, कर्ध जस्ता गीत हराउने । गन्धर्व जातिको एक इतिहास नामेट हुनेछ । ‘ती गीत गाउने माथि गइसके,’ उनी ठट्टा गर्छन्, ‘बाँचेको ममात्रै हुँ, मेरो दिन कहिले आउँछ, थाहा छैन ।’

अनिश

Link copied successfully