आजदेखि देशैभर जलपन्छी गणना सुरु

वेटल्याण्ड ईन्टरनेशनलको संयोजनमा नेपाल पन्छीविद् संघले समन्वय गरेर गणना गरिरहेको हो । यसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पन्छी संरक्षण संघ (बिसिएन)ले सहयोग गरेका छन् ।

पुस १९, २०८२

मनोज पौडेल

Waterfowl census begins across the country today

What you should know

लुम्बिनी — शनिबारबाट देशैभरका ताल तलैया, नदी, सिमसार क्षेत्रमा जलपन्छी गणना सुरु भएको छ । हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारदेखि गणना गरिन्छ । चौतर्फी संकटले पानी र सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन मध्य हिउँदमा गणना थालिएको हो ।

जलपन्छीको वितरण, उनीहरुको संख्या अद्यावधिक गर्दै संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराई जनचेतना अभिवृद्धिका लागि हरेक वर्ष जलपन्छीको अनुगमन र गणना गरिएको हो । यसवर्ष पुस १९ देखि माघ ४ (जनवरी ३ देखि १८) गतेसम्म गणना चल्नेछ । 

वेटल्याण्ड ईन्टरनेशनलको संयोजनमा नेपाल पन्छीविद् संघले समन्वय गरेर गणना गरिरहेको हो । यसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पन्छी संरक्षण संघ (बिसिएन)ले सहयोग गरेका छन् । चराका बारेमा ज्ञान र पहिचान गर्न सक्न सीप, क्षमता र विशेषज्ञता भएका मुलुकभर ४ सय बढी चराविद्, नेचरगाईड, वाईल्डलाईफ फोटोग्राफर र स्वयंसेवक सहभागी छन् ।

पूर्वको कोशीदेखि पश्चिममा शुक्लाफाटासम्म गणना हुन्छ । तराईको लोल्याण्ड जगदीशपुर पन्छी आरक्षदेखि उत्तरमा हिमाली क्षेत्र रारा तालसम्म गणना हुन्छ । देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ८० बढी साना ठाउँमा गणना गरिने वेटल्याण्ड ईन्टरनेशनलका पानी चरा गणना राष्ट्रिय संयोजक लक्ष्मण पौड्यालले बताए । हरेक ठाउँमा चरा गणनाका लागि संयोजक तोकिएका छन् । उनीहरुले आफ्नो अनुकूल समय मिलाएर गणना गर्ने बताइएको छ ।

चितवनलाई पूर्वी, पश्चिमी र मध्य तीनभागमा विभाजन गरि चरा गणना गरिनेछ । त्यहाँका तीन वटै भागमा पुस २४ र २५ गते गरिने कार्यक्रम बनाइएको मध्य चितवनका संयोजक मनिष लिम्बूले बताए । पोखरामा मात्रै ११ स्थानमा चरा गणना गरिने छ । त्यस्तै कोशी टप्पु, धनुषाधाम, हेटौंडा र नवलपुर सिमासार क्षेत्रका चरालाई पनि गणनामा ल्याइनेछ ।

त्यस्तै काठमाडौं उपत्यकाका मनोहरा र बागमती खोला तथा टौदह पोखरीमागणना गरिनेछ । काठमाडौंको चोभरदेखि टौदहमा सिमसार र नदी किनारमा शनिबार बिहानबाटै चरा गणना सुरु भएको बिसिएनका संयोजक जयनाथ भण्डारीले बताए । काठमाडौंको मनोहरा खोलामा पुस २४ र २५ गणना गरिने गणनाका संयोजक सञ्जय था श्रेष्ठले बताए । त्यस्तै पोखरामा पुस २३ गते कमल पोखरी र विजयपुर खोलामा गणना सुरु गरेर २५ गते सक्ने संयोजक झलक चौधरीले बताए ।

‘शनिबारदेखि गणना सुरु भयो’, वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘स्थानीय साथीले अनुकूलता मिलाएर सबै क्षेत्रमा गणना हुन्छ ।’ पानी चरा पाइने क्षेत्र छुट्याएर पन्छी संरक्षणमा क्रियाशील संस्थालाई गणनाका लागि जिम्मेवारी दिइएको छ । विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर, बिसहजारी र घोडाघोडी तालमा गणना गरिनेछ । लुम्बिनी क्षेत्र र दाङको राप्ती नदीमा गणना गरिनेछ । रुपन्देहीको गैडहवा र दानापुर लगायतका ठाउँमा पनि गणना हुनेछ भने बाँके, बर्दिया र महाकाली नदीमा पनि गणना गरिनेछ । 

Waterfowl census begins across the country today

वेटल्याण्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपन्छी गणना हुने भएकाले विश्वभरकै जलपन्छीको संख्या थाहा हुन सहयोग हुने उनले बताए । यस गणनामा चरा राम्ररी पहिचान गर्न सक्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा पहिचान गरिनेछ । कुनै समय हजारौंको संख्यामा साइबेरियाबाट आउने पाहुना जलपन्छी अहिले काठमाडौंको टौदहमा नदेखिने चराविद् कृष्णप्रसाद भूषालले बताए ।

अहिले विश्वबाटै लोप भइसकेको अनुमान गरिएको गुलाफी टाउके हाँस कुनै समय टौदह क्षेत्रमा अभिलेखीकरण भएको थियो उनले भने त्यति मात्रै होइन, विश्वमै दुर्लभ कैलो टाउके, सुइरोपुच्छ्रे, मालक, नादुन र खोयाहास लगायत कयौं पाहुना चरा यस क्षेत्रबाट विस्थापित भइसके । अहिले कस्तो अवस्था र चराबारे स्थानीय सचेतानका लागि पनि गणना आवश्यक भएको चराविद् भुषालले बताए । 

पानी चरा किन गणना ?

सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो ४० औं राष्ट्रिय गणना हो । जलपन्छीका प्रजाति, तिनको संख्या र वासस्थानमा देखिएका समस्या जस्ता जानकारीको अभिलेख गर्न गणना गरिन्छ । पानी, ताल तलैया, सिमसार र आसपासको क्षेत्रमा आहारविहार गर्ने, प्रजनन गर्ने र आफ्नो अधिकांश समय व्यतित गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ ।

Waterfowl census begins across the country today

गणनाका क्रममा विद्यमान समस्या, वासस्थानको अवस्था र आम समुदायको धारणा पनि अभिलेख गरिने हुँदा यसले चरा र वासस्थान संरक्षणका लागि आवश्यक नीतिनिर्माण र कार्यान्वयनमा पनि टेवा पुर्‍याउने बताइएको छ । गणनाले दिने नतिजाले चरा संरक्षणका कार्यक्रम र नीति बनाउन सहयोग पुर्‍याउने चराविद् डिबी चौधरीले बताए । 

‘कमजोर र सबल पक्ष थाहा हुन्छ,’ उनले भने, ‘जलवायु परिवर्तनको प्रभाव परीक्षण गर्न सहयोग पुग्छ । यसले चराका बारेमा नीति, योजना र कार्यक्रम बनाउन स्थानीयदेखि संघीय सरकारलाई काम गर्न सहयोग पुर्‍याउछ’, उनले भने । अहिलेको गणनाको रिपोर्ट बैशाखमा मनाइने वन्यजन्तु सप्ताहका बेला सार्वजनिक गरिनेछ । २०२५ मा मुलुकका १८ स्थानका ७८ क्षेत्रमा गरिएको चरा गणनामा ९६ प्रजातिका ९६ हजार ५ सय ६५ चरा गणना गरिएको थियो । 

उत्तरी ध्रुवमा हिमपातको सुरुवात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । बढी चिसोले उता आहारविहार र खानपानमा समस्या हुदा हिउँद यामको बढ्दो जाडो छल्न यता आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा बसाइँ सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काई फर्कने गर्छन् ।

Waterfowl census begins across the country today 

रुस, काजकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मंगोलियाका साथै यूरोप, कोरिया तथा तिब्बती क्षेत्रहरूबाट नेपाल आउने पाहुना चरा यहाँका सिमसारमा अनुकूल मौसम, सुरक्षित वासस्थान र चरन क्षेत्रमा हिउँद बिताउँछन् । सिमसार क्षेत्र संकुचित र नाशिँदै जाँदा सिमसार क्षेत्रमा आश्रित हिउँदे जलपन्छी पछिल्ला वर्षमा घट्दै गएको चराविद् अंकितविलास जोशीले बताए । 

उडान मार्गमा हुने अवरोध र बढ्दो विषादीको प्रयोगले जलपन्छी जोखिममा पर्दै गएको उनले बताए । ‘खेतमा विषादीको प्रयोग र जलवायु परिवर्तन समस्या बनेको छ,’ उनले भने, ‘असुरक्षित बिजुलीका तार र अवैध चोरी शिकारीले पनि समस्या थपेकोछ ।’ बसाइँ–सराई गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिम बढेको छ । हरेक वर्षको गणनाले पानी चराको अवस्था खतरा उन्मुख देखाएको छ । 

नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् ।  नेपालमा ९०३ प्रजातिका चरा पाईएको अभिलेख छ । त्यसमध्ये १५० बढी हिउदमा र ६० बढी गृष्मआगन्तुक चरा छन् । हिउदमा आउने चरामा मुख्यतथा हास, जलेवा, चखेवा, डुबुल्कीचरा र गंङ्गाचिल लगायतका प्रजातिका छन् । 

Waterfowl census begins across the country today

चरा कसरी गणना गरिन्छ ?

पानीचरा मुख्य रूपमा कुन क्षेत्रमा बस्छन् भन्ने जानकारी भएपछि निश्चित दूरीबाट गणना गरिन्छ । अगाडि देखिने चराको संख्या र प्रजाति टिपोट गर्दै जान्छन् । कुनै चराले गणकलाई पछाडिबाट नाघेर अगाडि गए्, संख्या नदोहोरियोस् भनेर उनीहरु त्यसलाई घटाउँछन् । चराको रङ, बनोट र आवाजका बारेमा जानकारी भएका चराविज्ञ नेचर गाईड दुरबिन र वाईनाकुलर लिएर गणनामा खट्छन् । 

गन्तव्यसम्म पुग्न चराले दिशा र बाटो पहिचानका लागि सूर्य तथा ताराको सहारा लिदै आउँने चराविद् राजेन्द्र गुरुङले बताए । त्यस्तै नदी, भौगोलिक श्रृंखला, चुम्बकीय दिशा आदि हेर्छन् । यसरी चराले बसाइँसराईको बेला प्रयोग गर्ने बाटोलाई फ्लाई वे भनिन्छ । विश्वमा ८ वटा यस्ता बाटा छन् । तीमध्ये नेपाल मध्य एसियाको बाटोमा पर्छ ।

मनोज पौडेल

Link copied successfully