एसएसपी रविनराज कर्णजीतको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको छ ।
काठमाडौँ/सुनसरी — सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको गोली लागेर मृत्यु भएको विषयमा सशस्त्र प्रहरी बलले छानबिन थालेको छ ।
अटो रिक्सा चलाएर गुजारा चलाउँदै आएका साहको बुधबार मध्यराति सशस्त्र प्रहरीको टोलीले चलाएको गोलीले लागेर मृत्यु भएको थियो । त्यसपछि घटनाको निष्पक्ष न्यायको माग गर्दै स्थानीयले बिहीबार दिनभर प्रदर्शनसमेत गरेका थिए ।
त्यसपछि सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजीतको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको छ ।
‘समितिमा कोशी प्रदेश नं. १ बाहिनीको एसपी दिनेश बस्नेत र सशस्त्र प्रहरीको कानुन निर्देशनालयको डीएसपी भुवन भण्डारी हुनुहुन्छ,’ सशस्त्र प्रहरी बलका सहसप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने, ‘समितिलाई घटना कसरी भयो भन्ने विषय सत्यतथ्य छानबिन गरेर यथाशिघ्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।’
यसैबीच सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीले बीओपी लौकहीका प्रहरी निरीक्षक मनिषकुमार कटुवालसहितको युनिटलाई फिर्ता बोलाउने भएको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आएर अन्त्येष्टि गरिएपछि उक्त टोलीलाई फिर्ता बोलाइने बराह बाहिनी पकलीका डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।
उनले भने, 'लौकही बीओपीमा रहेको टोलीलाई आज साँझसम्म बाहिनी फिर्ता गरिन्छ र त्यो ठाउँमा अर्को इन्सपेक्टरको नेतृत्वमा युनिट खटाइन्छ ।'‘उहाँहरुलाई अहिलेलाई छानबिनका लागि १ नम्बर बाहिनी ल्याइएको मात्रै हो,’ डीएसपी थापाले कान्तिपुरसँग भने ।
