तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र काटिँदै, प्रश्नपत्र तयार  

ओलीलाई करिब एक साताको अवधि दिएर बयानमा बोलाउने योजना छ । उनका लागि प्रश्नपत्र पनि तयार भइसकेको आयोगले जनाएको छ ।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

Letter being cut for then Prime Minister Oli's statement, question paper prepared

What you should know

काठमाडौँ — २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानकारी दिएका हुन् । 

'ओलीजीलाई बोलाउने क्रममा छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । उहाँलाई हामी चिठी काट्दैछौँ,' अध्यक्ष कार्कीले भने । 

त्यस्तै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको पनि उनले जानकारी दिए । अध्यक्ष कार्कीले आयोगको कार्यावधि एक महिना थप भएको र एक महिनाभित्र काम सकेर सरकारलाई प्रतिवेदन बुझाउने पनि बताए ।  

आयोगले लेखकसँग सोमबार र बुधबार गरी बयान लिएको हो । अब तत्कालीन प्रधानमन्त्री ओलीको मात्र बयान बाँकी रहेको छ । ओलीलाई करिब एक साताको अवधि दिएर बयानमा बोलाउने योजना छ । उनका लागि प्रश्नपत्र पनि तयार भइसकेको आयोगले जनाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित आयोगले विवरण संकलन गरिसकेपछि २३ र २४ भदौमा फिल्डमा खटिएका सुरक्षाकर्मीबाट बयान लिन थालेको थियो ।

यस क्रममा तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान लिएको थियो ।

सुरक्षा निकाय र प्रशासनिक निकायका जिम्मेवार अधिकारी बयान सकिएपछि आयोग राजनीतिक नेतृत्वतर्फ लागेको हो ।

कान्तिपुर

Link copied successfully