पछिल्लो समय उनले न्यायाधीशहरुका तस्बिरहरु सामाजिक सञ्जालमा राखेर विभिन्न किसिमका आरोप लगाउँदै आएका थिए ।
काठमाडौँ — भदौ २४ गतेको प्रदर्शनका बेला सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका राजकुमार तिमिल्सिना पोखराबाट पक्राउ परेका छन् ।
बुधबार साँझ उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले पोखराबाट पक्राउ गरेको हो ।उनलाई पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइँदै गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले जानकारी दिए ।
पछिल्लो समय उनले न्यायाधीशहरुका तस्बिरहरु सामाजिक सञ्जालमा राखेर विभिन्न किसिमका आरोप लगाउँदै आएका थिए ।
डार्क फाइल प्रकरणमा दोषी ठहर भई उनी कारागारमा कैद सजाय भोगिरहेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरणमा तिमिल्सिनालाई सर्वोच्च अदालतले गत असोज १३ गते ६ महिनाको कैद सजायको फैसला गरेको थियो ।
‘सिधाकुरा डटकम’ ले ‘डार्क फाइल’का नाममा प्रसारण गरेको अडियो सामग्री ‘फेक’ भएको सर्वोच्च अदालतले ठहर गरेको थियो । सर्वोच्चको ९ सदस्यीय विस्तारित पूर्ण इजलासले अदालतको अवहेलना भएको ठहर गर्दै उत्पादक तथा प्रसारकहरूलाई कैद सजाय सुनाएको थियो ।
प्रयोगशाला परीक्षणबाट पनि ‘फेक’ प्रमाणित भएको अडियो बनाउने तिमिल्सिनालाई ६ महिना कैद, र त्यो प्रसारण गर्ने ‘सिधाकुरा डटकम’ का युवराज कँडेल र नवीन ढुंगानालाई ३/३ महिनाको कैद सजाय सुनाइएको थियो । त्यसैगरी, ‘सिधाकुरा’ अनलाइनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।
तिमिल्सिनालाई गत ५ मा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको थियो ।
