'पासपोर्ट रोक्का गरेको भन्ने पनि सुनेँ तर किन, कति अवधिका लागि भनेर मलाई जानकारी छैन । त्यो पनि आगजनीमा नष्ट भएको छ ।'
काठमाडौँ — तत्कालीन गृहमन्त्री रमेश लेखकले आफूलाई स्थानहद गरिएको बारे कुनै जानकारी नआएको बताएका छन् ।
भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 'मलाई आयोगले स्थानहद गर्यो रे भन्ने सुनेँ तर मलाई थाहा छैन । कुनै जानकारी छैन,' उनले भने, 'मैले सञ्चारमन्त्रीबाट थाहा पाएँ ।'
'कुनै व्यक्तिका बारेमा स्थानहदको निर्णय गर्नुपर्दा कुन प्रयोजनका लागि, कति अवधि, के औचित्य भनेर सम्बन्धित व्यक्तिलाई सोध्नुपर्छ कि पर्दैन ?' उनले भने, 'पासपोर्ट रोक्का गरेको भन्ने पनि सुनेँ तर किन, कति अवधिका लागि भनेर मलाई जानकारी छैन । मसँग त पासपोर्ट पनि छैन । कुनै दस्ताबेज छैन ।' उनले सञ्चारकर्मीसँग आफ्नो पासपोर्ट पनि आगजनीमा नष्ट भएको बताएका छन् ।
