सारसको आनीबानी, विचरण मार्ग, बसाइँ–सराई र प्रजननकाे अध्ययनका लागि डेढ महिनाअघि करिब एक सय दिनका ६ वटा अर्धबयस्क सारसमा जीपीएस लगाइएको थियो।
What you should know
लुम्बिनी — जीपिएस लगाइएका विश्वकै दुर्लभ पन्छी सारसका बचेरा स्वस्थ्य र तन्दुरुस्त रहेको पाइएको छ।
डेढ महिनाअघि करिब एक सय दिनका ६ वटा अर्धबयस्क सारसमा जीपीएस लगाइएको थियो। पहिचान सहज बनाउन ती सारसका खुट्टामा रंगीन नम्बरिङ रिङ पनि राखिएको थियो। जीपीएस लगाइएका सबै सारस जोडी माउसँगै घुलमिल भएर बसेको पाइएको छ। नेपालमा पहिलो पटक सारसमा जीपीएस लगाइएको हो।
जीपीएस लगाइएको क्षेत्र आसपास नै सारसको बासस्थान रहेको छ। दैनिक २ देखि २.५ किलोमिटर दूरीमा हिँडडुल गर्ने गरेको देखिएको छ। भक्तपुर बहुमुखी क्याम्पसका प्राणीशास्त्री दिक्पालकृष्ण कर्माचार्यका अनुसार सारस बसोबास गर्ने क्षेत्रबाट बिहान आहारका लागि अन्य स्थान जाने र साँझ फर्केर पहिलेकै स्थानमा फर्किने गरेका छन्। ‘कतिपय स्थानमा हिँड्दा जोखिम देखिए उड्छन्। अहिले मज्जाले उड्न सक्ने अवस्था छ। प्रजनन् योग्य भएपछि डेढ–दुई वर्षमा माउबाट अलग्गै बस्न थाल्छन्,’ उनले बताए।
बेइजिङ फरेष्ट युनिभर्सिटी, चीनको प्राविधिक सहयोगमा भक्तपुर बहुमुखी क्याम्पसका प्राणीशास्त्री कर्माचार्य र ग्रिन युथ लुम्बिनीका अध्यक्ष तथा सारस संरक्षणकर्मी अर्जुन कुर्मीले सारसमा जीपीएस लगाएका हुन्। एक जोडी सारसका बचेरामध्ये ३ वटा र अर्को जोडीका ३ वटा बचेरामा जीपीएस लगाइएको हो। गत कात्तिक तेस्रो साता रुपन्देही र कपिलवस्तुका तीन–तीन वटा सारसमा ट्याग लगाइएको थियो।
सारसको आनीबानी, विचरण मार्ग, बसाइँ–सराई र प्रजननकाे अध्ययनका लागि जीपीएस प्रयोग गरिएको अर्जुन कुर्मीले बताए। ‘उडान मार्ग, विश्राम स्थल, कुन समयमा कुन क्षेत्र प्रयोग गर्छन् र मौसमी स्थानान्तरणका नयाँ सूचना यसबाट थाहा पाउँछौं। यी जानकारी अन्य माध्यमबाट बाहिर आउँदैनन्,’ उनले भने।
जीपीएस लगाइएका सारसलाई प्राविधिकहरूले स्थलगत रूपमा बेलाबेला अनुगमन गरिरहेका छन्। जीपीएसकाे सम्पर्कमार्फत कम्प्यूटर सफ्टवेयरले नियमित डेटा संकलन गरी अद्यावधिक विवरण उपलब्ध गराइरहेको प्राणीशास्त्री कर्माचार्यले बताए। यो अध्ययन आगामी ३ देखि ५ वर्षसम्म अनुगमन गरिनेछ।
नेपाल सारसमा जीपीएस लगाउने चौथो देश भएको प्राणीशास्त्री कर्माचार्यले बताए। २०८० काे अध्ययन अनुसार नेपालमा सारसकाे संख्या करिब ६९० छ। तीमध्ये रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा ८० प्रतिशत बढी छन्।
विश्वमा पाइने १५ प्रजातिमध्ये नेपालमा चार प्रजातिका सारस पाइन्छन् । यहाँ सारस, कर्याङकुरुङ, लक्ष्मण र कालीकण्ठ सारस पाइने गरेका छन् । कर्याङकुरुङ, लक्ष्मण र कालीकण्ठ सारस हिउँदे आगन्तुक हुन्। हिउँदमा उत्तरी ध्रुवबाट दक्षिणी क्षेत्रतर्फ बसाइँसराइ गर्छन् भने केही सारस यही स्थायी रूपमा बस्ने गर्छन्।
सारस दुर्लभ पन्छी भएकाले वन्यजन्तु संरक्षण ऐन ०२९ अनुसार संरक्षित ९ वटा पन्छी प्रजातिमध्ये एक हो। कम देखिन थालेपछि सन् २००० मा विश्वमै दुर्लभ पन्छीको रूपमा सूचीबद्ध गरिएको थियो।
