सारसले हुर्काएका बचेरा अब साता/१० दिनमा पहिलो उडानको तयारीमा हुँदा सारसबारे अध्ययन गर्न नेपालमा पहिलो पटक ‘जीपीएस ट्याग’ जडान गरिएको छ ।
What you should know
लुम्बिनी — बल्ल पखेटा तान्न सिकेका आकर्षक बचेरा माउको अघिपछि गर्दै आहारा टिप्न सिक्दैछन् । विश्वकै दुर्लभ पन्छी सारसका बचेरा हुर्किएर अहिले उड्न सक्ने भएका छन् ।
मिहनेत र संघर्ष गरेर सारसले हुर्काएका बचेरा अब साता/१० दिनमा पहिलो उडानको तयारीमा हुँदा सारसबारे अध्ययन गर्न नेपालमा पहिलो पटक ‘जीपीएस ट्याग’ जडान गरिएको छ । रुपन्देहीमा तीन र कपिलवस्तुका तीन वटा करिब एक सय दिनका सारसमा ‘जीपीएस ट्याग’ र ‘कलर रिङ’ लगाइएको हो ।
चीनको बेइजिङ फरेष्ट युनिभर्सिटीको प्राविधिक सहयोगमा भक्तपुर बहुमुखी क्याम्पसका प्राणीशास्त्री दिक्पालकृष्ण कर्माचार्य र ग्रिन युथ लुम्बिनीका अध्यक्ष तथा सारस संरक्षणकर्मी अर्जुन कुर्मीले ट्याग लगाएका हुन् ।
सारसको आनीबानी, बिचरण मार्ग, बसाइँसराई र प्रजनन्का विषयमा अध्ययन गर्न स्याटलाइटमा आधारित ‘जीपीएस ट्याग’ लगाइएको पन्छी संरक्षण संघ (बीसीएन) का कार्यकारी सदस्य समेत रहेका कर्माचार्यले बताए । यसबाट सारसको उडानमार्ग, विश्रामस्थल, मौसमी स्थान्तरणका नयाँ सूचना पनि थाहा पाइने उनले बताए । ‘यी नवीनतम सूचना अन्य माध्यमबाट बाहिर आउन सक्दैनन् । त्यसैले जीपीएस ट्याग लगाइएको हो । यसबाट आउने नतिजाले सारस संरक्षणका कुन क्षेत्रमा योजना बनाउन सहयोग पुग्ने छ,’ उनले भने ।
उड्न सक्ने अग्लो पन्छीमा सारसकाे नाम अग्रपंक्तिमा आउँछ । बयस्क उमेरकाेलाई समातेर ट्याग लगाउन गाह्रो हुने हुँदा अर्धबयस्कमा जीपीएस जडान गरिएको सारस संरक्षणकर्मी अर्जुन कुर्मीले बताए । धानबालीमा लुकेर बस्ने यो पन्छीका बचेरा समात्न पनि सहज हुँदैन । ‘धान र सारसका बचेराको रंग एउटै हुँदा समाउन सहज हुँदैन । दुई घण्टासम्म लगाएर बल्ल भेटिएपछि समातेर ट्याग लगायौं,’ कुर्मीले भने, ‘समात्न सजिलो हुने बयस्क हुँदै प्रजनन् गर्ने बेलासम्मका सूचना पाइने हुँदा बचेरामै ट्याग लगाइएको हो ।’
बचेराका दायाँ खुट्टामा जीपीएस ट्याग र बायाँ खुट्टामा कलर रिङ लगाइएको छ । जीपीएस ट्यागले सूचना दिन्छ भने कलर रिङ पहिचान गर्न सजिलो होस् भन्नका लागि नम्बरिङका लागि लगाइएको हो । ‘सुरक्षित रुपमा नियन्त्रणमा लिइ जीउ र पखेटा नचलाउने बनाउन कपडाले बाँधेर ट्याग र रिङ लगाउन ४ देखि ६ मिनेटमा समय लागेको थियो । त्यसपछि तौल गरेर सकुशल छाडिन्थ्यो,’ कुर्मीले भने । ट्याग जडान गरेका अर्धबयस्क सारस ७ देखि ८ किलोसम्म तौलका थिए ।
एउटा जीपीएस ट्यागको साढे तीन लाख रुपैयाँ लागत परेको प्राणीशास्त्री कर्माचार्यले बताए । सारसमा लगाइएको ट्याग ३ देखि ५ वर्षसम्म नियमित अनुगमन गरिने छ । ट्याग लगाउँदा चराको तौलको ३ प्रतिशतभन्दा कम तौल रहेको ट्याग लगाउनुपर्ने प्रावधान छ । यहाँ ट्याग लगाइएका सारसकाे ताैलकाे १ प्रतिशत पनि ट्यागकाे भार नभएकाे प्राणीशास्त्री कर्माचार्यले बताए । सारसमा जीपीएस ट्याग लगाउने नेपाल चौथो देश रहेको उनले जानकारी दिए । सन् १९९८ देखि २००२ सम्म कम्बोडिया र भियतनाममा ७ वटा, २०१५ देखि २०१७ सम्म १० गरी १७ वटा, २०२४ मा भारतमा एउटा बयस्क सारसमा सेटेलाइट ट्याग लगाएर अध्ययन गरिएको उनले बताए ।
सेटेलाइट सम्पर्कबाट यसको तथ्यांक घरमै बसेर लिन सकिनेछ । ट्याग लगाइएका सारसलाई डिभिजन वन कार्यालयका अधिकारीको उपस्थितीमा सुरक्षित रुपमा छाडिएको हो । ट्याग लगाएको सारस आफ्नो परिवारमा सकुशल घुलमिल भएको अनुगमन हुने गरेको छ । ‘ट्याग लगाएको ठाउँमा पुगेर आफ्नो परिवारमा छ कि छैन् । भौतिक रुपमा कुन अवस्थामा छन् हेरिरहेका छौं । यो क्रम दुई सातासम्म हुने छ,’ कर्माचार्यले भने, ‘कुन ठाउँमा कसरी बसेको ? प्रति घण्टा कति किमीका दरले उडिरहेको छ त्यो पनि जानकारी दिन्छ । सेटेलाइट ट्यागमा रहेको ब्याट्रीले काम गरे नगरेको र चार्ज रहे–नरहेको पनि जानकारी दिन्छ ।’ घामबाट सेटेलाइट ट्यागको ब्याट्री आफै चार्ज हुने र कम्प्युटरमा सूचना पाउन सकिने भएकाले आफुले नियमित अनुमगन गरेर अध्यावधिक राख्ने प्राणीशास्त्री कर्माचार्यले बताए ।
नेपालमा बाघ, हात्ती, गैंडा, हिउचितुवा, खरमजुर र गिद्धमा जीपीएस ट्याग लगाएर अध्ययन अनुसन्धान गरिएकामा सारसमा भने पहिलो पटक यसको प्रयोग गरिएको हो । वन तथा भूसंरक्षण विभागबाट अनुमति लिएर आहाराका लागि सारस कति परसम्म पुग्छ ? कस्तो ठाउँमा प्रजनन् गर्छ ? बसाईसराईको प्रकृति कस्तो छ ? भन्ने थाहा पाउन ट्याग लगाइएको डिभिजन वन कार्यालयका सिनियर वन अधिकृत ईश्वरीप्रसाद पौडेलले बताए । ‘कस्तो ठाउँमा पुग्छ र कस्ता चुनौती आइपर्छन् भन्ने थाहा पाउन पनि सेटेलाइट ट्याग लगाइएको हो,’ उनले थपे ।

बालीनालीलाई नोक्सानी पुर्याउने शंखे किरालगायत कीरा फ्टयांग्रालाई आहार बनाउने सारस कृषकको साथी पनि भनिन्छ । सारसले सर्पलाई आहारा बनाउने भएकाले यो बस्ने ठाउँ वरीपरी सर्पको डर हुँदैन । सारसले ओथारो बसेको ३१ देखि ३४ दिनमा बच्चा कोरल्छ । १० देखि १२ किलोसम्म तौल हुने यो करिब साढे ५ देखि ६ फिट अग्लो हुन्छ । यो ४०/५० फिट उचाइसम्म उड्छ । यो पन्छीको सांस्कृतिक र धार्मिक महत्व पनि उत्तिकै छ । सारसलाई बौद्ध धर्मावलम्बीले आस्थाका रुपमा हेर्छन् । त्यस्तै हिन्दु धार्मिकग्रन्थ रामायणको आरम्भ पनि प्रणयरत सारस जोडीको वर्णनबाट सुरु भएको छ ।
यो पन्छीका भाले–पोथी दुवै पालैपालो अण्डाको स्याहार र आहारा खोज्न जाने गर्छन् । केही अप्ठ्यारो आए यिनीहरुले चिच्चाएर आवाज दिन्छन् । नजिकै चितुवा, बाघभालुलगायत जन्तु आउन लागे कराएर जानकारी दिन्छन् । कपिलवस्तुको लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगर पन्छी पनि बनाएको छ । सारस भारतको उत्तर प्रदेशले पनि राज्यको पन्छी घोषणा गरेको छ ।
२०८० सालमा गरेको एक अध्ययनले नेपालमा ६ सय ९० को संख्यामा सारस रहेको तथ्यांक छ । जसमध्ये रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा ८० प्रतिशत बढी छन् । विश्वमा पाइने १५ प्रजातिमध्ये नेपालमा चार प्रजातिका सारस पाइन्छन् । जसमा सारस, कर्याङकुरुङ सारस, लक्ष्मण सारस र कालीकण्ठ सारस छन् । कर्याङकुरुङ, लक्ष्मण र कालीकण्ठ सारस हिउँदे आगन्तुक हुन् ।
सारस हिउँदमा उत्तरी ध्रुवबाट बसाइँसराइ गरेर नेपाल हुँदै दक्षिणीतिर लाग्छन् भने केही यही बसेको पाइन्छ । ‘सारस जोडी जीवनभर साथसाथै रहने गर्छन् । अर्कोलाई पनि जीवनसाथी बनाउँदैनन् । अन्य जोडीसँग पनि झैगडा नगर्ने भएकाले सारसलाई शान्ति र प्रेमको प्रतिकको रुपमा लिइन्छ,’ कुर्मीले भने । सारस दुर्लभ चरा भएकाले नै वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ वटा पन्छी प्रजाति मध्ये एक हो । सारस कम देखिन थालेपछि सन् २००० मा विश्वमै दुर्लभ पन्छीमा सूचिकृत भएको थियो ।
