एसईई नतिजा सुधार्न हिमाली जिल्लामा आवासीय सुविधासहित अतिरिक्त कक्षा

लगातार खस्किएकाे एसईई नतिजा सुधार्न र ट्युसनका लागि टाढा धाउनुपर्ने बाध्यता हटाउन कर्णालीका केही सामुदायिक विद्यालयले विद्यार्थीबाट शूल्क लिएर विद्यालयमै बसाेबाससहित अतिरिक्त कक्षा संचालन गरिरहेका छन् ।

पुस ११, २०८२

तुलाराम पाण्डे, कृष्णप्रसाद गौतम

Additional classes with residential facilities in Himalayan districts to improve SEE results

What you should know

सुर्खेत र कालीकोट — मुगुको छायानाथरारा नगरपालिका–१३ लुमस्थित प्रकाश माध्यमिक विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई आवासीय सुविधासहित अतिरिक्त कक्षाको व्यवस्था गरेको छ ।

एसईई नतिजा र शैक्षिक गुणस्तर सुधारका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म अतिरिक्त कक्षाको व्यवस्था गरिएको हो । विद्यार्थीको बसोबासका लागि विद्यालयका दुई वटा हल प्रयोगमा ल्याइएको छ । ‘विद्यार्थीले खाना कहिले नजिकका आफन्तकहाँ खान्छन् त कहिले आफै मेस चलाउँछन्,’ विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्काले भने, ‘विद्यालयमै यो व्यवस्था गरिएपछि विद्यार्थीलाई महँगो ट्युसन शुल्क तिरेर सदरमुकाम गमगढी जानुपर्ने बाध्यता टरेको छ ।’ यसअघि विद्यार्थीहरु गमगढी गएर कोठा भाडामा लिएर ट्युसन पढ्न बाध्य थिए । 

विद्यालयका अनुसार कक्षा १० मा ५२ जना विद्यार्थी अध्ययनरत छन् । गत वर्ष एसईईमा सहभागी १० विद्यार्थीमध्ये ९ जना उत्तीर्ण भएका थिए भने एक जना ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए । विद्यालयमा अध्ययन गर्न लुमसहित थार्प, रुघा र १४ नम्बर वडाको बामका विद्यार्थी आउने गरेका छन् । विद्यार्थीहरु डेढ घण्टासम्म हिँडेर विद्यालय आउँदा उनीहरुको पठनपाठन प्रभावित भएपछि विद्यालयका दुई हलमध्ये एउटामा छात्र र अर्कोमा छात्रालाई बस्ने व्यवस्था मिलाइएको छ । ‘विद्यालयको आफ्नै छात्राबास भए सजिलो हुन्थ्यो, अरु विकल्प नभएपछि हललाई नै छात्राबास बनाएका हौं,’ प्रधानाध्यापक खड्काले भने, ‘पालिकाले सहयोग गरेन, अहिले आफ्नै पहलमा छात्राबाससहितको अतिरिक्त कक्षा चलाइरहेका छौं ।’

विद्यालयमा निम्न माध्यमिक र प्राथमिक विद्यालयमा ५ जना शिक्षकको अस्थायी दरबन्दी छ । तर माध्यमिक तहमा स्थायी शिक्षक नभएपछि दुई जनालाई निजी स्रोतबाट राखिएको छ झने दुई शिक्षक संघीय अनुदान र दुई जना करार सेवामा कार्यरत छन् । विद्यालयका शिक्षक विक्रम खड्काले अंग्रेजी, गणित र विज्ञान विषयको अतिरित्त कक्षा पढाइरहेको जानकारी दिए ।

उनका अनुसार शिक्षकको अतिरिक्त पारिश्रमिकका लागि प्रतिविद्यार्थी २ हजार ५ सय शुल्क लिने गरिएको छ । विद्यालयमै यो व्यवस्था भएपछि गमगढी र सुर्खेत पठाएर बालबालिकालाई ट्युसन पढाउनुपर्ने बाध्यता हटेको स्थानीय अभिभावक छत्रबहादुर खड्काले बताए । ‘गमगढीमा एउटै विषयको १ हजार रुपैयाँ ट्युसन शुल्क छ, कोठाभाडा र खाना गरी विद्यार्थीको कम्तीमा मासिक ७/८ हजार खर्च लाग्थ्यो,’ उनले भने,‘विद्यालयले न्यून शुल्क लिएर कक्षा दिएपछि ऋण कारेर बालबालिकालाई ट्युसन पढाउनुपर्ने बाध्यता टर्‍यो ।’ उनका कान्छा छोरा कुशल कक्षा १० मा अध्ययनरत छन् । 

जुम्लाको हिमा गाउँपालिकाले मंसिर १ गते सबै विद्यालयका प्रधानाध्यापकको भेलामार्फत निर्णय गरेर निःशुल्क कोचिङ पढाउने व्यवस्था मिलाएको छ । पालिकाभित्रका ६ माध्यमिक विद्यालयबाट झण्डै ९ सय विद्यार्थीले यस वर्ष एसईई दिन लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बमबहादुर शाहले बताए । ‘हिउँदे बिदाको सदुपयोग गरेर अहिले कोचिङ कक्षा सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘यो व्यवस्थाले विद्यार्थीको उत्तीर्णदर र सिकाइस्तर बढ्ने अपेक्षा छ ।’ उनका अनुसार मंसिर १५ देखि पुस १५ गतेसम्म पालिकाले जाडो बिदा दिएको छ । 

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले अतिरिक्त कक्षा पढाउने शिक्षकलाई पालिकाले पारिश्रमिक र विद्यार्थीलाई शैक्षिक सामग्रीको व्यवस्था गरेको बताए । ऊनका अनुसार मष्टामाडु माध्यमिक विद्यालयमा ३ र कालिका मावि बड्कीमा ३ विद्यालयको लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएको छ । ‘सबै विद्यालयमा अतिरित्त कक्षा पठाउँदा विद्यार्थी संख्या पनि कम र शिक्षकको व्यवस्थापन गर्न पनि गाह्रो भयो,’ उनले भने, ‘पालिकाको सहजीकरणले सुर्खेत र सदरमुकाम गएर ट्युसन पढ्नुपर्ने बाध्यता हट्यो, प्रति विद्यार्थी मासिक कम्तीमा १० हजार रुपैयाँ जोगिएको छ ।’ 

Additional classes with residential facilities in Himalayan districts to improve SEE results

कालीकोटको रास्कोट–५ विमल टोलकी सुष्मा तिरुवा गत महिनादेखि वडा ६ गोर्खाली गाउँस्थित कालाशिल्ला माविमा संचालन भएको आवासीय कक्षामा बसेर पढ्न थालेकी छन् । घरबाट विद्यालय पुग्न २० मिनेट समय लाग्ने भए पनि आवासीय सुविधामा बसेर एसइई तयारीको लागि विद्यालयमै बस्छिन् । घरमा बुवाआमा, भाइबहिनी गरी ५ जनाको परिवार छ । बुवा जय तिरुवा कामको खोजीमा गएको मंसिर ७ गते भारत गएका छन् । ‘घरमा पढाई हुँदैन, त्यसैले विद्यालयमै बस्छु,’ सुष्माले भनिन्, ‘बिहान, बेलुकी साथीहरु र शिक्षकसँग अंग्रेजी, गणित र विज्ञान विषयको थप कक्षा पढ्ने गरेकी छु ।’ उनले आवासीय कक्षामा बसेवापत मासिक ४ हजार ९ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्ने सुनाइन् । 

विद्यालयमा आवासीय सुविधा नहुँदा विद्यालयनजिकै डेरा खोजेर कालाशिल्ला माविमा पढ्दै आएका शारीरिक अपांगता भएका कक्षा १० का कृष्ण सहकारी पनि आवासीय सुविधामै बस्छन् । उनका बुवा पनि ज्यालामजदुरीका लागि भारतमै छन् । ‘मलाई त विद्यालय पुग्नै कठिन हुन्थ्यो । पहिले डेरा गरेर बस्थे, मंसिरदेखि आवासीय सुविधामा बसेको छु,’ उनले भने । उनले विद्यालयमा सामूहिकरुपमा बस्दा छलफल गरेर सिक्न र बसाइँ पनि रमाइलो भएको सुनाए । 

बडीमालिका माविमा पढ्ने रास्कोट–३ की शान्ति सार्कीको बसाइँ विद्यालयबाट १ घंण्टा टाढा बढदतोला छ । विद्यालय पुग्न टाढा भए पनि घरबाटै आउजाउ गर्दै आउने गरेकोमा दसैंपछि विद्यालयले आवासीय बसाइँको व्यवस्था गरेकाले हाल विद्यालयमै बस्छिन् ।

कालीकोटकै पचालझरना–६ तोलीभीडका सुवास सन्ज्याल पनि रास्कोटको आवासीय विद्यालयमा बसेर एसईईको तयारी कक्षा पढिरहेका छन् । ‘गाउँनजिकै मावि विद्यालय भए पनि पढाई राम्रो नभएकाले ४ घण्टा टाढा पर्ने रास्कोटमा बस्छु,’ उनले भने ।

एसईई तयारीका लागि सुस्मा, कृष्ण, शान्ति र सुवास मात्र होइनन्, रास्कोट नगरपालिकाका ४ वटै माविले यस वर्षदेखि ३ सय ९ जना विद्यार्थीलाई एसइई तयारीका लागि आवासीय व्यवस्थापन गरेर विद्यालयमै राखेर दिउँसो नियमित पढाईका अतिरिक्त बिहान बेलुकी थप तयारी कक्षा संचालन गरिरहेको छ । रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले एसईई नतिजा सुर्धाने उद्देश्यले चार वटै माविलाई आवासीय कक्षा चलाउन लगाइएको बताए ।  

Additional classes with residential facilities in Himalayan districts to improve SEE results

आर्थिक रुपमा विपन्न केही विद्यार्थीका लागि विद्यालयले शुल्क मिनाहा पनि गरेका छन् । उनका अनुसार मासिक ४ हजार शुल्क तिर्ने गरी बडीमालिका मावि रास्कोटले ५६ छात्र र ४८ छात्रा गरी १ सय ४, कालाशिल्ला माविले ४४ छात्र र ३७ छात्रा गरी ८१ जनालाई प्रतिविद्यार्थी मासिक ४ हजार ९ सय ५० शुल्क, जनजागृति मावि फुकोटले ३७ छात्र र ४४ छात्रा गरी ८१ जनालाई मासिक ४ हजार शूल्क तोकेको छ ।

नगद तिर्न नसक्ने विद्यार्थीले उक्त मूल्य बराबरको चामल, दाल, तरकारी, दाउरा पनि उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । मोतीराम मावि सिप्खानाले २० छात्रा र २३ छात्र गरी ४३ जनाबाट नगद ३ हजार रुपैयाँ र १५ केजी चामल र २ केजी दालका दरले उठाइरहेको छ ।  

आवासीय विद्यालयमा लागि नगरपालिकाले प्रतिविद्यालय २ लाख र द्रुत सिकाई अर्न्तगत प्लान इन्टरनेशनल र हुरेन्डेकको सहकार्यमा संचालित सशक्त बालिका परियोजनाले ५० हजार रुपैयाँका दरले शिक्षकको पारिश्रमिक र परीक्षण परीक्षाका लागि व्यर्होने छन् भने विद्यार्थीले आफ्नो खाना र अन्य खर्च आफै जुटाउने छन् । 

विद्यार्थीबाट उठाइने शुल्कबाट बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खानासहित प्रत्येक शनिबार मासु खुवाउने मेनु बनाइएको कालाशिल्ला माविका प्रधानाध्यापक देवराज चौलागाईले बताए । ‘शुल्क तिर्न नसक्ने ११ जना विपन्न परिवारका बालबालिकालाई निःशुल्क छ,’ उनले भने, ‘तिर्न सक्नेबाट पनि घरमा खाने खर्च मात्र दिनुपर्ने भनेका छौं ।’

उनले गत वर्ष आफ्नो विद्यालयको एसईई नतिजा कमजोर भएकाले यस वर्ष आवासीय सुविधासहित पढाउन थालिएको सुनाए । विद्यालयले छात्राहरुको सुरक्षाका लागि राति महिला शिक्षक विपना रोकायालाई छात्राहरुसँगै बस्ने ब्यवस्था मिलाएको छ । 

०७८ सम्म ५० प्रतिशतभन्दा कम विद्यार्थी पास हुने बडिमालिका माविले आवासीय सुविधासहित विद्यार्थीलाई पढाउन थालेपछि ०७९ देखि एसइई नतिजा क्रमश सुधार हुँदै आएको प्रधानाध्यापक पुष्पराज बरालले बताए । उनका अनुसार आवासीय सुविधामा शिक्षक र विद्यार्थी राखेपछि ०७९ मा ६३ मा ४३, ०८० मा ४० मा ३९ र ०८१ मा ५९ मा ४८ जना पास भएका थिए । उनले ३० प्रतिशतमा रहेको सक्षमता दर यसवर्ष बृद्धि गरेर ५० प्रतिशत पुर्याउने विद्यालयले लक्ष्य राखेको जानकारी दिए । 

जिल्लाका अन्य स्थानीय तहका विद्यार्थी ट्यूसनको खोजीमा जिल्ला सदरमुकाम मान्म, सुर्खेतलगायतका ठाउँमा भौतारिन बाध्य भए पनि रास्कोट नगरपालिकाले सबै विद्यार्थीलाई आवासीय सुविधासहित मंसिर १ देखि विद्यालयमा राखेर पठनपाठनको व्यवस्था गरेको नगरप्रमुख धर्मराज शाहीले बताए । नगरको बडिमालिका माविले मात्र विगतमा आवासीयरुपमा विद्यार्थी राखेर थप कक्षा संचालन गर्दा नतिजामा सुधार आएकाले यस वर्षदेखि ४ वटै माविले आवासीयरुपमा विद्यार्थी राखेको नगर उपप्रमुख मनिराज बरालले सुनाए । 

रास्कोट नगरपालिकामा आवासीय विद्यालय, विज्ञान प्रयोगशाला, हरित विद्यालय, नमूना कक्षाकोठा, महिनावारी स्वच्छता कक्ष, लैगिंक मैत्री शौचालय निकै प्रभावकारी रहेको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए । याे पालिकामा शैक्षिक सुधारका लागि जनप्रतिनिधि, शिक्षक, अभिझावक संघसंस्था सबैको सहकार्य देखिएकाे उनले बताए । गत साता अनुगमनमा रास्कोट पुगेका प्रजिअ सुयलले शिक्षामा सुधार गर्न विद्यालयकाे पढाईसँगै अभिभावकको पनि चासो हुनुपर्ने बताए । 

एसईई तयारीका लागि गाउँ छाडेर जानुपर्ने बाध्यता हटाउन कालीकोटका सबै विद्यालयले आवासीय रुपमा पठनपाठन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्षप्रसाद चौलागाईले बताए । उनले यहाँको तिलागुफाका अधिकांश विद्यार्थी ट्युसन पढ्न घरबाट बाहिर जाँदा अभिभावकलाई प्रतिव्यक्ति कम्तीमा पनि ५० हजार ऋण लाग्ने अवस्था रहेको सुनाउँदै गाउँमै राख्न सरकारले पनि दुर्गमका विद्यालयलाई विशेष अनुदान दिनुपर्ने बताए । उनका अनुसार कालीकोटमा यस वर्ष ४ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदैछन् ।   

कर्णालीका हिमाली जिल्लामा विषयगत शिक्षकको अभाव र समयमै ‘कोर्ष’ पूरा नहुँदा विद्यार्थीहरु ट्युसनको भरमा एसईई दिन बाध्य छन् । जसका कारण बर्सेनि नतिजा कमजोर हुने गरेको छ । गत वर्ष कर्णालीबाट एसईईमा ३५ हजार ६१ परीक्षार्थी सहभागी भएकोमा २० हजार ३ सय ८४ जना अनुत्तीर्ण भए । प्रदेशभरि ७ सय ३० सामुदायिक तथा जिजी विद्यालयबाट परीक्षार्थी सहभागी भएकोमा ४६ विद्यालयबाट एक जना विद्यार्थी पनि उत्तीर्ण हुन नसकेको शिक्षा विकास निर्देशनालयको तथ्यांक छ ।

कर्णाली प्रदेशमा कक्षा १ देखि १० सम्मका ४ हजार ९ सय ९३ शिक्षक रिक्त छन् । जसमध्ये माध्यमिक तहमा १ हजार ७ सय ४९ शिक्षकको दरबन्दी पूर्ति हुन नसकेको सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाले जनाएको छ । ‘अंग्रेजी, गणित र विज्ञान शिक्षकको चरम अभाव छ,’ महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले भने, ‘शिक्षक अभावले सबैजसो विद्यालयमा कुनै न कुनै कोर्ष अपुरै हुन्छन्, जसको प्रत्यक्ष असर बर्सेनि एसईई नतिजा कमजोर बनिरहेको छ ।’ 

अहिले हिमाली जिल्लाबाट ट्युसन पढ्न आएका विद्यार्थीका कारण प्रदेश राजधानी वीरेन्द्रनगरका झण्डै तीन दर्जन ट्युसन सेन्टर खचाखच भरिएका छन् । ट्युसन सेन्टरहरुले प्रतिविद्यार्थी ३ हजार ५ सय प्रतिविषय शूल्क लिएर  पढाइरहेका छन् ।

शिक्षा विकास निर्देशनालयले गत वर्ष १ सय १० विद्यालयमा गरेको अध्ययनअनुसार शैक्षिक सत्रको अन्त्यसम्ममा मुस्किलले ६० प्रतिशत कोर्ष पूरा हुने गरेको निष्कर्ष निकालेको थियो । हिमाली जिल्लामा जाडो र वर्षे बिदा, दसैंतिहार, खेतीपातीको समय, विद्यार्थीहरु अभिभावकसँगै जडीबुटी टिप्न जानेलगायत कारण कोर्ष सक्न मुस्किल हुने गरेको कालीकोटको निगासैनी मावि दशालाकी प्रधानाध्यापक देवकला आचार्यले बताइन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully