विद्यालयमा सांस्कृतिक कार्यक्रममा बालबालिकालाई विवाहको अभिनय गराइएपछि बाल अधिकार उल्लंघन र मानसिक असरबारे बहस चर्किएको छ ।
What you should know
काठमाडौं/भैरहवा — वरिपरि विद्यार्थी र अभिभावकको भीड । विद्यालय भवनको बरन्डा र झ्यालबाट हेरिरहेका विद्यार्थी । त्यहीँ भिडमाझ मण्डपमा रितपूर्वक 'विवाह' भइरहेको दृश्य ।
माइकबाट पुरोहितले मन्त्र पढिरहेका छन् । मण्डपमा 'दुलाहा-दुलही' ले हिन्दु परम्पराअनुसार रित पूरा गरिरहेका छन् । लोकन्तीले सघाइरहेको देखिन्छ । शोफामा बसाएर गोडा धुने परम्परा पूरा गरिन्छ । सम्धि–सम्धिनी लगाउने परम्परा पनि पूरा गरिन्छ । त्यसपछि दुलहीको बिदाइ गरिन्छ । बिदाइमा छोरी र आमा–बुवा रोएको दृश्य देखिन्छ । माइकबाट पुरोहितले अह्राएबमोजिम सबै कार्य गरिन्छ ।
यो दृश्य कुनै वैवाहिक समारोहजस्तो देखिए पनि विद्यालयभित्रको नाटकीय अभिनय हो ।
गत मंसिर २५ गते बुटवलस्थित एभरेस्ट इङ्लिस बोर्डिङ स्कुलको विद्यालयमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएको नाटकको दृश्य हो । यो दृश्य पछिल्लो समय सामाजिक सञ्जालमा बहसको विषय भनेको छ ।
विद्यालयका अनुसार त्यस दिन २४ वटा विभिन्न संस्कृतिसित सरोकार राख्ने प्रस्तुति गरिएको थियो । त्यसमध्ये दुई बालकबीच विवाह परम्परा निभाइएको भिडियो मंगलबार भाइरल भएको हो । उक्त भिडियोमा 'बोर्डिङले गर्दिन थाल्यो विवाह' उल्लेख गरिएको छ । कार्यक्रम आयोजना गरिएको दुई सातापछि भिडियोबारे सोधिखोजी हुन थालेको हो । यस प्रस्तुतिलाई लिएर आलोचना हुन थालेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया सार्वजनिक हुन थालेका छन् ।
बुटवलको कालिका माविका शिक्षक युवराज कँडेलले सामाजिक सञ्जाल फेसबुकमा लामो प्रतिक्रिया उल्लेख गरेका छन् । 'बुटवलको एक स्कुलले बालबालिकाको विवाह गरिदियो, यो काम गलत भन्दै फेसबुकमा रोइलो गरेको देखियो,' कँडेलले लेखेका छन्, 'विवाह नेपाली समाजको महत्वपूर्ण संस्कृति र अभिन्न पाटो हो ।' यसको वास्तविक जानकारी दिनु परिवार र विद्यालयको कर्तव्य हो ।'
नाटककै लागि भए पनि बालबालिकालाई उमेर नपुगी वयस्क भूमिकामा प्रस्तुत गर्दा उनीहरूको स्वाभाविक विकासमा बाधा पुग्छ - अनिल रघुवंशी, अध्यक्ष, चाइल्ड सेफ नेटजनचेतना जगाउने उद्देश्यले गरिएको कार्यक्रमबारे गलत प्रचार गरिएको उनको भनाइ छ । विद्यालय सामाजिक पाटो देखाउन खोजेका कारण यसलाई नकारात्मक ठान्न नहुने उनले बताए । 'अब सडक नाटक देखाउन पनि भएन,' उनले भने, 'पाठ्यपुस्तकबाट यौन शिक्षाको पाटो पनि हटाउनुपर्यो ।'
त्यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ता 'कँडेल आयुशा'ले लेखेकी छन्, 'यो अत्यन्त गलत अभ्यास हो । परम्परा सिकाउने नाममा बालबालिकालाई बिहेको सम्पूर्ण विधि गर्न लगाउने विद्यालयको हर्कत अपत्तिजनक छ । यो बालअधिकारको खिलाफ हो । भोलिदेखि विद्यालयमा ती दुई बालबालिकालाई फलानोको दुलही र दुलाहा भनेर गरिने बुलिङको असरबारे विद्यालय प्रशासन कति सचेत छ ?'
त्यस्तै नपाल प्रहरीलाई मेन्सन गर्दै सञ्चारकर्मी सविता आचार्यले फेसबुकमा लेखेकी छन्, 'यो स्कुललाई कारबाही गरियोस् ।विवाह संस्कार सिकाउन अनेक उपाय छन् । यस्ता साना नानीहरू को विवाह (नाटकीय शैली नै किन नहोस्?) गराएर संस्कार सिकाउन जरुरी छैन ।'
बालबालिकालाई पर्न सक्छ मानसिक असर
चर्चित बनेको उक्त भिडियोमा आलोचनात्मक प्रतिक्रिया पनि दिएका छन् । 'मनसाय असल हुन सक्छ तर यसमा अलि बढी नै भयो,' एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, 'सचेतनाका नाममा यति बढी पनि गर्न मिल्दैन उहाँहरूलाई बालबालिकासम्बन्धी ऐनको बारेमा जानकारी दिनुपर्ने जरुरी देखियो ।'
त्यस्तै भिडियो फैलिएपछि सरोकारवाला संस्थाहरुले यो बालबालिकाको अधिकारविपरीत रहेको जनाएका छन् । यो भिडियो बालबालिकाको अधिकारविपरीत रहेको 'बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान' (सिजोप) का अध्यक्ष तिल्लोत्तम पौडेलले बताए । 'बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार यो बाल अधिकारको गम्भीर उल्लंघन हो,' पौडेलले भने, 'सचेतनाका लागि सामान्य नाटकहरू गर्नु एउटा कुरा हो, तर यो त नाटक भन्दा पनि एउटा सम्पन्न परिवारले बिहे गरेकै जस्तो छ, जुन कानुनी र बाल अधिकारको दृष्टिकोणबाट गलत छ ।'
पौडेलका अनुसार विद्यालयको यो सानो गल्तीका कारण बालबालिकाले भोलिका दिनमा मानसिक समस्या भोग्नुपर्ने बताए । 'कुनै पनि पाठ्यक्रमले सम्पदा र संस्कृति जोगाउने नाममा यस्तो गर भनेर भन्दैन, २० वर्षभन्दा कम उमेरमा गरिने विवाह सामाजिक र कानुनी रूपमा अपराध हो र यो क्षम्य हुँदैन,' उनले भने, 'यस्ता दृश्यले गर्दा भोलि बालबालिकामा मानसिक स्वास्थ्य समस्या, डिप्रेसन र बुलिङ हुने सम्भावना बढ्छ; यसको जिम्मेवारी कसले लिने ?'
चौतर्फी आलोचना भएपछि विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपानेले प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको बताएका छन् । कार्यक्रममा तहगत रुपमा ४ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी हुने गरेको उनले बताए । 'सबै कक्षाले आ-आफ्नो परम्पराअनुसार एक्ट प्रस्तुत गर्छन्,’ उनले भने, ‘मंसिर २५ गते पनि २४ वटा एक्ट प्रस्तुत गरिएको थियो ।' कार्यक्रमको उद्घाटन सत्र सकेर आफू बाहिरिएकाले 'विवाह परम्परा' वाला एक्ट आफूले हेर्न नपाएको उनले बताए ।
'अविभावकको सहमतिमा विवाहको एक्ट भएको हो,' उनले दाबी गरे, 'कार्यक्रम हेर्ने बेलासम्म सबैले प्रशंसा गरेकै थिए । अहिले आएर भाइरल बनाइयो ।' उक्त प्रस्तुतिमा सहभागी विद्यार्थी ६/७ कक्षाको भएको उनले बताए ।
चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीले पनि यस्ता गतिविधिले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न सक्ने बताए । 'नाटककै लागि भए पनि बालबालिकालाई उमेर नपुगी वयस्क भूमिकामा प्रस्तुत गर्दा उनीहरूको स्वाभाविक विकासमा बाधा पुग्छ र उनीहरूको मानसपटलमा गलत संस्कारको छाप बस्न सक्छ,' उनले भने ।
यस्तो विभेदपूर्ण सन्देश जान्छ भन्ने अपेक्षा गरेका थिएनौं, हामी त्यो भिडियो अब डिलिट गर्छौं - अजय शाह, विद्यालय सञ्चालकबाल मनोचिकित्सक गंगा पाठकका अनुसार विद्यालयले ती बालबालिकामाथि बाल दुरुपयोग गरेका हुन् । 'यसलाई बाल दुरुपयोग भन्न सकिन्छ । यस्ता घटनाले बालबालिकामा मानसिक आघात 'ट्रमा' पुर्याउँछ, जुन उनीहरूको जीवनभर रहन सक्छ,' पाठकले भनिन् ।
तर बुटवलको विद्यालयमा भएको यो घटना पहिलो भने होइन । विभिन्न विद्यालयहरुले बालबालिकाको तस्बिर र भिडियो प्रयोग गर्दै आउने गरेका छन् । त्यस्तै एउटा उदाहरण रौतहटको चन्द्रपुर-६ झनझनटोलस्थित राइजिङ नेपाल एकेडेमी विद्यालयको पनि छ ।
विद्यालयको टिकटक अकाउन्टमा गत जुन १९ मा एउटा भिडियो पोस्ट भएको जसमा केही छात्राले कपडा धुँदै गरेको देखाइन्छ । ३४ सेकेन्डको उक्त भिडियोमा ती छात्राले कपडा धोइरहेका छन् । छात्रहरु हेरिरहेका छन् । यसले ती बालबालिकाहरुमा छात्राहरुले कपडा धुने काम गर्छन् भन्ने सन्देश जान सक्ने बाल मनोचिकित्सकहरु बताउँछन् । 'डेमो (प्रदर्शन) गर्ने क्रममा स्कुलले आफ्नो सीमा नाघेको छ,' बालमनोचिकित्सक पाठकले भनिन्, 'शिक्षकहरूले बाल अधिकार र बाल मनोविज्ञानलाई अलिकति पनि ध्यानमा राख्दैनन् ।'
विभेदलाई प्रश्रय पुग्ने भिडियो
त्यस्तै भिडियोमा देखाइएका कारण बालबालिकामाथि पछि गएर बुलिङ हुन सक्ने चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीले बताए । उनले भने, 'भिडियोमा देखाइने व्यवहारले गर्दा बालबालिका पछि गएर 'बुलिङ'वा अन्य व्यक्तिको नराम्रो व्यवहारको सिकार हुन सक्छन्, जसले उनीहरूको आत्मविश्वासमा गहिरो चोट पुऱ्याउँछ ।'
बालबालिकालाई प्रयोग गरेर यस्तो विभेदपूर्ण भिडियो पोस्ट भएपछि हामीले सोही विद्यालयका प्रधानध्यापक उदय सिंहलाई सम्पर्क गर्यौं । तर उनले आफूहरुको टिकटक अकाउन्ट नभएको बताए । हामीले उनलाई भिडियो नै पठाएर सोध्दा उनले फोन उठाएनन् ।
त्यसपछि हामीले विद्यालयका सञ्चालक अजय शाहलाई सम्पर्क गर्यौ । उनले पनि यसबारे केही थाहा नभएको भन्दै विद्यालयका स्टाफ नवीन शाहलाई सम्पर्क गर्न भने । हामीले उनलाई पनि सम्पर्क गर्यौं । उनले आफूहरुले भिडियो पोस्ट गरेको बताए । 'छात्रहरु पनि अर्कोतिर काम गरिरहेका थिए हामीले त्यो भिडियो हालेनौं । तर यस्तो विभेदपूर्ण सन्देश जान्छ भन्ने अपेक्षा गरेका थिएनौ,' उनले भने, 'हामी त्यो भिडियो अब डिलिट गर्छौँ ।'
यस्तै विभेद झल्किने खालका तस्बिर तथा भिडियोहरु विभिन्न विद्यालयले पोस्ट गर्दै आएका छन् । छात्र 'पाइलट' र छात्रा 'एयरहोस्टेज', छात्र 'डाक्टर' र छात्रा 'नर्स' बनाएर अभिनय गर्न लगाउने कुराले बालबालिकहरुमा लैंगिक र सांस्कृतिक भूमिकाका बारेमा भ्रमपूर्ण बुझाइ हुन सक्ने बाल मनोचिकित्सक हर्सना श्रेष्ठ बताउँछिन् । 'उमेर नपुग्दै यस्ता गतिविधिहरु गराउँदा उनीहरूमा लैंगिक र सांस्कृतिक भूमिकाका बारेमा गलत वा भ्रमपूर्ण बुझाइ विकास हुन सक्छ,' उनी भन्छिन् ।
पछिल्लो समय धेरै विद्यालय (विशेषगरी मन्टेश्वरी) ले गतिविधि अपडेट गराउने नाममा स-साना बालबालिकाहरुको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विद्यायलले मात्रै नभई शिक्षकहरुले पनि आफ्नै व्यक्तिगत अकाउन्टबाट बालबालिको तस्बिर तथा भिडियो पोस्ट गर्ने गर्छन् ।
विशेषत: चाडपर्वअनुसार विद्यालयहरुले बालबालिकाको पोसाक अनिवार्य गराउने र सामाजिक सञ्जालमा फोटो पोस्ट्याउने गरेका छन् । उदाहरणका लागि कृष्ण जन्मष्टमीको दिनमा कृष्ण बनाएर तस्बिर तथा भिडियो पोस्ट गर्ने गरिन्छ ।
चल्तीको 'ट्रेन्ड' अनुसारका गीतमा बालबालिकालाई नाच्न लगाउने काम त विद्यालयका लागि सामान्यजस्तै बनिसकेको छ । विद्यालयसँगै विद्यालयका शिक्षकहरुले आफ्नो व्यक्तिगत खाताबाट पनि बालबालिकाको तस्बिर तथा भिडियो पोस्ट गर्छन् ।
विद्यालय र अविभावक उत्तिकै जिम्मेवार
बालबालिकाको तस्बिर तथा भिडियो पोस्ट गर्नमा विद्यालयसँगै अभिभावक पनि पनि उत्तिकै जिम्मेवार छन् । यसो त अभिभावकहरु नै आफ्ना बच्चाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट्याउँछन् ।
बालबालिकाहरुको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा अपलोड गर्नु बालअधिकारको हनन हुने बालमनोचिकित्सकहरु बताउँछन् ।बाल मनोचिकित्सक डा. सुशील कँडेलका अनुसार यो संस्कार हाम्रो समाजमा गलत भाष्य बनिसकेको छ । 'स्कुलमा कुनै ग्ल्यामरस काम वा अभिनय गराउनुपर्यो भने छोरी मान्छेलाई नै अगाडि सारिन्छ,' उनले भने, 'हाम्रो समाजमा यो एक प्रकारको अनुत्तरित ट्याबु बनेको छ, जसमा हामी सबै कुनै न कुनै तरिकाले संलग्न छौं ।'
विद्यालय र अभिभावकले यस्ता क्रियाकलापलाई प्रश्रय दिन थाल्यो भने समाजमा बालबालिकाको प्रयोग व्यापारिक वा मनोरञ्जनका लागि मात्र हो भन्ने गलत सन्देश जान सक्ने चाइल्ड सेफनेटका अध्यक्ष रघुवंशीले बताए ।
'विद्यालयहरूले बालबालिकालाई मन्टेश्वरी वा टिकटकमा प्रमोसनका लागि प्रयोग गर्नु र अनुपयुक्त गीतहरूमा नचाउनुले समाजमा विद्यालयको चेतना र शिक्षाको स्तरमाथि नै प्रश्न उठाउँछ,' उनले भने, 'बालबालिकालाई आइटम गीत वा हिंसात्मक प्रवृत्ति झल्किने अभिनयमा उतार्नु डिजिटल प्लेटफर्मको कम्युनिटी गाइडलाइन र बाल सुरक्षाको सिद्धान्तविपरीत कार्य हो ।'
यसरी बालबालिकाहरुको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा अपलोड गर्नु बालअधिकारको हनन हुने बालमनोचिकित्सकहरु बताउँछन् ।
'बालबालिका सहमति दिन सक्ने उमेरमा नहुने भएकाले उनीहरूको तस्बिर वा भिडियो सार्वजनिक गर्नु अधिकारको हनन हो,' बाल मनोचिकित्सक हर्सना श्रेष्ठले भनिन्, 'यस्तो जानकारी वा डाटा इन्टरनेटमा सधैंका लागि रहने भएकाले भविष्यमा यसको दुरुपयोग भई एब्युज वा अन्य नराम्रा घटनाहरू घट्ने जोखिम रहन्छ ।'
विद्यालयका यस्ता गतिविधिले बालबालिकाहरुको गोपनीयता सार्वजनिक गरिदिने उनी बताउँछन् । 'ठूलो भएपछि उनीहरूले के सोच्छन् ? जब बालबालिका १५-१६ वर्षको उमेरमा पुग्छन् र आफ्ना बाल्यकालका भिडियो संसारभरि फैलिएको देख्छन्, उनीहरूलाई असहज महसुस हुन सक्छ,' उनले भनिन्, 'मानिसहरूले गरेका पुराना कमेन्टहरूले उनीहरूको सेल्फ-इमेज वा आफ्नो बारेमा सोच्ने दृष्टिकोणमा नकारात्मक प्रभाव पार्न सक्छ । उनीहरूले आफूलाई प्रयोग गरिएको महसुस गर्न सक्छन् ।'
यस्तै, बालमनोचिकित्सक गंगाले पनि विद्यालयका यस्ता गतिवधिले बालबालिकाको गोपनीयता र भविष्यमा गम्भीर असर पार्ने बताइन् । 'यस्ता भिडियोका कारण भोलि विद्यालयमा साथीभाइले जिस्काउने हुँदा बच्चा एङ्जाइटी (चिन्ता) र डिप्रेसनमा जान सक्छ,' गंगाले भनिन्, 'यदि बच्चा संवेदनशील प्रकृतिको छ भने उसको व्यक्तित्व नै बर्बाद हुन सक्छ । प्रयोगात्मक सिकाइको नाममा दिमागमा गलत र गहिरो छाप पारिएको छ ।'
बालबालिकासँग अनुमति नै लिए पनि यसलाई कानुनी रुपमा नमानिने बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप) का अध्यक्ष तिल्लोत्तमले बताए । 'बालबालिकाले रमाइलोका लागि सहमति दिए पनि त्यसलाई कानुनी रूपमा मञ्जुरी मानिँदैन,' उनले भने, 'बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु साइबर र प्रविधिको हिसाबले पनि गलत हो ।'
